अहिले रातको प्रथम प्रहर मात्र व्यतीत भएको थियो होला, तर गाउँघरमा चारैतिर सुनसान भइसकेको थियो। वर्षाकाल, खेतमा निर्भर गर्नेहरूको काम गर्ने ऋतु। तसर्थ दिनभरि सबै खूब व्यस्त रहन्छन् आफ्नोआफ्नो मेलामा। चार प्रहर रात नै उनीहरूको विश्राम लिने समय हो। दिनभरिको थकाइले साँझैमा खाईपिई उनीहरू पल्टन्छन् र निद्रादेवीको स्वर्गीय लोकमा भ्रमण गर्न पुग्दछन्। गाउँमा सारा प्राणी प्रकृतिले दिने आनन्दसित अङ्कमाल गरिरहेछन्, तर मानवसमाजको एउटी फूलका आँखामा यस बेला पनि नीद छैन। विवेकले दिने चेतावनी र पश्चात्तापसित उसको आत्मा छटपटाइरहेछ। हाय विवेक, हो मानवसमाजको तँ गौरव होस्। तँलाई लिएर नै मानवसमाजको स्तर श्रेष्ठ छ। गोठालो भएर तैंले मानवलाई डोर्याउँछस्, तर तेरो डोर्याइमा साँचो आनन्द छैन, या भनौं सन्तोष र शान्तिको निम्ति तेरो प्रयोग हुँदैन। अतीतलाई गिज्याएर तँ पश्चात्तापको आगोमा धुजाधुजा पारेर पिल्स्याउँछस्। भविष्यलाई औँल्याएर तँ बारम्बार झस्काउँछस्। फेरि तैं वर्तमानका त्रुटिहरू कोट्ट्याएर व्यस्त पारिराख्छस्। आकाङ्क्षा र खुलदुलीको पखेटा लाएर तँ नै क्षितिजझैं पर सर्दै जाने आनन्दको खोजीमा उजाउँछस्, तर खोइ शान्ति र आनन्द भेट्न को पुग्यो? अँधेरी रात, त्यसमा पनि आकाशमा ट्याम्म बादल लागेकाले ताराहरू ढाकिएर अन्धकारको मात्रा अझ बढेको छ। सारा प्रकृतिले एउटा कालो चादर ओढेको छ। अन्धकार र निस्तब्धता मिलेर आजको रातलाई भयानक रूप दिएका छन्। यस्तैमा एउटा सानो घरको मूल दैलो उघ्र्यो, अनि बिस्तारै बन्द भयो। एउटा सेतो छद्म आँगनमा आयो, अनि सरासर मूलबाटोतिर सुलुलु बगेझैं देखियो। बागे डाँडाबाट दोटा बाटा फाटेका थिए। एउटा तल्लो बाटो पारिको गाउँमा जान्थ्यो, अनि माथिल्लो बाटो वनतिर लाग्थ्यो। त्यो छद्म दोबाटोमा आएर टक्क अडियो, अनि एकपल्ट पछि फर्केर हेर्यो, अनि तल्लो बोटो छाडी वनतिर जाने बाटोमा ऊ द्रुतगतिले अगि बढ्यो। हुन्डरी मच्चाउँदै आएको हावाको प्रबल वेगले बादलको पर्दा केही फाट्यो र एकदुईवटा ताराहरू देखिए। पाटीमा सेतो धर्का कोरेझैं जङ्गलको माझबाट चिरिएर गएको बाटामा केहीबेर हिंड्नको पश्चात् छद्म बाटोलाई छाडी छेउको खेततिर लाग्यो। आलीको सहारा लिएर खेत पार गरी रागेभीरको छेउमा आइपुगेर ऊ टक्क अडियो। रागेभीर को नामले कहलाइएको, ढुङ्गैढुङ्गाको एउटा पहरो जसको उचाइ हजारौं फिट होला -- माथिबाट तल हेर्दा रिंगटा लाग्छ। कैयौं गाई, गोरु, मान्छे यसै भीरबाट लडेर संसारबाट मुक्त भएका छन्। यसको फेदीमा जीवनको बन्धनबाट मुक्त भएर धेरैको आत्माले विश्राम लिएको छ। बूढापुरानाहरूको भनाइ छ, वनकी बुढेनी यसै भीरमा बास गर्छिन्। कहिलेकाहीं औंसीपूर्णेमा श्वेत वस्त्र धारण गरेर मध्यरातमा पाखा निस्की बुढेनी बज्यै घुँगरु बजाएर नाच्छिन् रे। तर मध्यरातमा त्यहाँ पुग्नेहरूमध्ये कसैले केही देख्यौं भन्ने अहिलेसम्म निस्केका छैनन्। एकपल्ट गाउँका कतिपय तरुण धामी ठिटाहरूले औँसीको रातमा बुढेनीको नाच हेर्न रातभरि कुरे तर केही हात लागेन। उल्टो तीमध्ये कति जना रातभरिको अनिंदो र शीतले भनौं वा संयोग भनौं बिरामी भए। अनि गाउँमा नाच हेर्न गएका धामीहरूलाई बुढेनीले भेट्टाएछ भन्ने हल्ला फिंजियो। त्यसैले दिउँसो गोठालाहरू बुढेनीको डरले त्यतापट्टि बडै जाँदैनन्। भीरको छेउबाट छद्मले एकपल्ट तलतिर हेर्यो। अनि हृदयमा विचार आयो, उहिले ऊ जन्मिनुभन्दा अगि एउटा रागे भन्ने गोरु लडेर यसै भीरको फेदीमा विश्राम लिएको थियो रे त्यसैले सबै यसलाई रागेभीर भन्दछन्। आज छद्म पनि थकित छ, यसै भीरको फेदीमा निदाउन चाहन्छ, कहिल्यै नबिउँझने गरी।
उसलाई लामो विश्रामको आवश्यकता छ। समाजको थप्पड सहने शक्ति अब उसमा शेष रहेको छैन। कुटेर रोएको तमासा हेर्ने समाजसित जुध्न ऊ अब सक्तैन। विचारधारालाई माझैमा भङ्ग पारेर ऊ उठ्यो, अनि भीरको छेउमा आएर ठिङ्ग उभियो। एकपल्ट आकाशतिर हेरेर मनमनै कोनि के भन्यो। अनि आँखा चिम्म गरी फाल कुद्न खोज्दा, दुईवटा बलिष्ठ हातले छद्मलाई दरो गरी समाते।