एकाबिहानै मैना टाँडबाट तल झर्दा उसका आँखाबाट पनि आँसु बरबर झरिरहेका थिए। ऊ आत्तिएर सुँक्कसुँक्क गर्दै धनेको छेउमा आई। धने बिउँझिसकेको भए तापनि दाहिने हातको कुहिनो भुसको सिरानीमा अड्याई त्यसैमा टाउको धानेर पल्टिरहेको थियो। उसले केही आश्चर्य मानी सोध्यो -- ए हैन के भो, किन रुन्छेस् एकाबिहानै? नानी, ओछ्यानमा छैनन्। बाहिरहुँदो पनि कतै देखिन्नन्। आवेशले अर्द्धरोदनको मुद्रामा मैनाले भनी। अन्त त्यत्तिमै रोइहाल्नुपर्छ त बित्थामा? कहाँ गइहोली र? बाहिरहुँदो कतै गएकी होली, आउली नि तपाईँलाई थाहा छैन। तिनको कत्ति निको चाल छैन, तिनी पक्कै पनि टाढै हिंडिन्। के कुरा गर्छे यो? के भो र हिंड्थी बित्थामा टाढा? खोइ, के भन्नु, म त राम्रै डरले मरेकी छु। किन, तैंले के थाहा पाकी छस् भन् न? मैनाले डराईडराई संक्षेपमा झुमाको विषयमा सबै कुरा भनी। उसले हिजो आफूले गाली गरेको कुरा पनि जनाइदी। मैनाबाट सबै कुरा सुन्नका पश्चात् झुमा हराएकोमा धनेलाई उस्तो आश्चर्य केही लागेन, न त उसले दुःख नै प्रकट गर्यो। दैवको लाठी सहँदासहँदा ऊ एक प्रकार कठोर भइसकेको थियो। कुलमा कलङ्कको एउटा धब्बा लाग्यो, दुनियाँ हाँस्नेछन्। यस कुराले उसलाई हल्का चोट अवश्य लाग्यो तर सबैभन्दा बढ्ता दुःख उसलाई लाग्यो, आफ्नै घरमा भएकी आफ्नै बहिनीको विषयमा ऊ अनभिज्ञ रहेकोले। मैनाले भन्नुभन्दा अगि ऊ यस विषयमा अलिकति पनि जान्दैनथ्यो। मनमा एउटा प्रश्न उठ्यो, यो दोष कसको? झुमाको हो? उसैको त हो तर उसको क्षुद्र बुद्धिले त्यो कुरा स्वीकार गर्न मानेन। एकछिनपछि विचार आयो -- होइन, दोष मेरो बेलामा बिहा गरिदिन नसक्दा, यो सब भो। आज बिहा गरिदिन धन भएको भए वा बिहा गरिदिंदा धन नचाहिने भए, यी सारा गाउँकाहरूको भुँडी भरिदिन नपर्ने भए यो दिन देख्न पर्ने थिएन। दोष मेरो, मेरो गरिबीको दोष, मेरो लाचारीको दोष मेरो गरिब बनाइदिने भाग्यको दोष, अनि दोष मेरो फुटेको भाग्य लेख्ने विधाताको विधाता के भाग्य विधाताले लेख्छन्? आज उसको सानो मगजले नजाने किन क्रान्तिपूर्ण गूढ तथ्यले भरिएको तर्क गरिरहेको थियो। होला, भाग्य विधाताले लेख्ता हुनन्। तर समदर्शी विधाताले लेख्ने भाग्य ৷৷. यति पक्षपाती किन? पसिनामा हाड घोट्ने परिश्रमजीवी पीठोको निम्ति आँसु बहाउँछन्, तिनै जीवको घोटिएको हाड एकत्र पारेर चाट्नेहरू
अर्कोतिर ऐस गर्छन्। के भाग्य त्यही हो न? होइन, विधाता त्यति अन्यायी छैनन्, भाग्य मानिसको व्यवस्थाबाट बन्छ। भाग्य निर्भर गर्छ समाजको सुव्यवस्थामा, समाजको सहयोगमा, समाजमा पाइने सुयोग र सुविधामा। के आज उसले अलिकति पनि उठ्ने मौका पाएको भए, उसको पीडा समाजले बुझिदिएको भए, उसको परिश्रम साकार हुने थिएन र? के आज झुमाको सानो दोषमाथि समाजले ठूलो अट्टहास नगर्ने भए ऊ त्यसरी हताश भएर घरबाट निस्कन्थी? के दोष उसको मात्र हो? एउटी सरल अबलाबाट लाभ उठाएर वासनाको तिर्खा मेटाउने रिकुटेको होइन? तर त्यसको दण्ड समाजले दिन्छ, निःसहाय, अबलालाई उसको परिवारलाई। धनेको विवेकले गर्ने तर्कहरूको सारांश यही नै थियो। आज उसको हृदय विद्रोह गरिरहेको थियो। मैनाले बारबार रुँदै झुमालाई खोज्ने विषयमा धनेसित निवेदन गरी, तर धनेले केही वास्ता गरेन। छोटो उत्तर दिएर चुप लाग्यो -- मरिछ भन्ने थाहा पाइहालिन्छ, खोज्ने खाँचो छैन।