Basai


नराम्रो खबर पुर्याउन तार वा रेडियोको आवश्यकता हुँदैन। एउटा कुनाबाट निस्किसकेपछि यसले हावाको रूप
धारण गर्छ, अनि उडेर सबैको कानकानमा पुग्छ। बिहानको भात खाने समयमा तीनवटी युवतीहरू छहरे धारामा कुरा
गरिरहेका छन्। गोमाले कान्छी घर्तिनीलाई सोधी --
होइन हाउ कान्छी, झुमा त हिंडि रे नि हो?
कान्छी घर्तिनी -- खोइ के जान्नु हाउ अर्काको घरको कुरो, छैन रे भन्छन्
गोमा -- होइन मलाई त क्या नि, अगिबाटै शङ्का लागेको थियो हाउ। त्यसको चालडालले कता त सुइँकुच्चा
ठोक्ने हो, त्यस्तो त लागेको थियो मलाई।
घर्तिनी -- अहिले त्यसो भन्न हुँदैन। कतै गएकी छ भने भरे फर्कन पनि सक्छे, के बेर र?
गोमा -- अँ, फर्की तिमीलाई भनेर, काँ पुगिसकी।
ठूली यतिखेरसम्म चुप लागेकी थिई। यिनीहरूको कुरा सुनेर भनी, म एक थोक भन्छु, तिमीहरूले अन्त
कसैलाई नभन्नू है त?
गोमा -- के कुरा छ हाउ त्यस्तो, लुलु भनि हेर त।
ठूली -- नाइँ पैला अन्त भन्दुम्न भनेर किरिया हाल तिमीहरू दोटीले अनि बल्ल भनुम्ला।
घर्तिनी -- आबुई, कति नपत्याएको यो ठूलीले? भनिहाल्न क्या हो? तेरो कुरा कहिले गाउँमा गएर
गरेका छुम् हामीले र अहिले गर्छौं
ठूली -- भन्ने कुरा त होइन, तिमीहरू दोटीलाई मात्र भन्छु। तिमीहरूले मनैमा राख्नू। झुमा त नि
क्या, भारी जीउकी छ। त्यै रिकुटे मोराको हो रे
गोमा -- हो के होइन त्यो त मैले पनि शङ्का काटेकी थिएँ, अन्त अहिले उसैसँग हिंडिछ त?
ठूली -- ऊ त भा पो? फागुनमै मुगलान फर्क्यो रे आज त खोइ कुन्िन काँ गई, हिजो
भाउज्यूचाहिंले बेसरी हप्काइदेकी थिन्। आज हिंडिछ बरा
घर्तिनी -- ईः नि बरा त्यस्तो जीउसित काँ गई? त्यो रिकुटे भनाउँदो बजियाले ढाँट्नसम्म
ढाँटेछ नि के
कुरा गर्दै तीनै जना गाग्री लिएर घरतिर लागे। गाग्रीबाट पानी सार्न आरम्भ हुँदा गोमा र कान्छी
घर्तिनीले पनि आफ्नो पेटबाट कुरा एकदुई जनालाई नभन्नू है भन्दे सार्दै गरिसकेका थिए।
उनीहरूबाट सुनेका एकदुई जनाले अरू एकदुईलाई नभन्नू है भनेर सुनाइदिए। त्यसरी स्त्रीसमाजबाट
झुमाको चर्चा पुरुषसमाजमा आइपुग्यो। एकछिनपछि सारा गाउँमा हल्का गुनगुनाहट चल्न थाल्यो।
कति धनेको पानी बन्द गर्नुपर्छ, कसको हो, के हो, कहिलेदेखिको लसपस हो नजानीकन कसरी खानु

पानी? भन्ने भए। कति भन्न थाले, अचेल पानीको कुरो चलाउनु हुँदैन एs: अब ऐनले पनि
फुकाइसकेको छ। उत्तरमा, अगि पितापुर्खाबाट चलिआएको रीति नमानेर कहिले हुन्छ र? भन्ने तर्क
पनि निस्कियो।
झुमा हिंडेको विषयमा पनि गाउँकाले अनेकौं धारणा लगाए। कतिको विचारमा झुमाले टाढा कहीं गाएर
आत्महत्या नै गरी भन्ने भयो। कतिले रिकुटेसित अगिदेखिको सल्लाह थियो र उसैसँग गई भन्ने विचार
गरे। गाउँमा यस्तै अनेकौं चर्चा दिनभरि चलिरह्यो।
मैनाको आँखामा दिनभरि आँसु अडिएन। हिजो आफूले गरेको गालीमाथि उसलाई पश्चात्ताप भयो। तर धने
भित्रभित्रै जलेको थियो। बाहिर चेहरा हेरेर उसको मनको भाव स्पष्ट झल्कन्नथ्यो। सारा दिन उसले घरै
बसेर बितायो, बाहिर कतै निस्केन।