Basai


कसैलाई दुःख होस् वा सुख, तर समय बित्तै नै जान्छ। आउने अगाडिको घडीमा लाखौंको जीवन सकिन्छ भने पनि
त्यो घडी रोकिंदैन। असारसाउनको महिना, कहिले सिमसिमे झरी, कहिले टन्टलापुर घाम, कहिले मकैको पीठो,
कहिले कोदाको खोले, अनि कहिले सिस्नोको साग र पानी मात्रै, एवं प्रकारले दिन बित्तै गएर धनेको
रुपियाँ बुझाउने समय पनि निकट आयो।
मोटे कार्कीले सबै कुरा खोलेर पत्र लेखिदिएको हुनाले एक प्रकार झुमापट्टिबाट निश्चिन्त थियो
तापनि गाउँघरमा बेलामौकामा उसलाई ताना सुनाइन्थ्यो। कति उसको घरमा पानी नपिउने स्वाङ पनि रथ्चे। तर
धनेले यी सब कुराको वास्तै राखेन, सहेरै हिंडिरह्यो।
भाका जतिजति नजिक आउँथ्यो, त्यतित्यति रुपियाँको चिन्तामा ऊ व्याकुल हुँदै जान्थ्यो। धेरैसँग ऋण
खोज्यो, साहूहरूसित हात जोड्यो, तर सगरबाट तारो खस्ने आशामा नानीले हात थापेजत्तिकै भयो। निदान उसले
घरबारी नछाडे उपाय छैन भन्ने निश्चय गर्यो।
भाका पुगेर साहूले खायल जफत गरी उसको घरबाट मालमत्ता फ्यांकिदिनुभन्दा सात दिनअघि नै धने नन्देकहाँ
गयो। नन्दे बाहिर सिकुवाको खाटमा बसी तमाखु तानिरहेको थियो। भन्यो --
के, रुपियाँ आजै बुझाउन आइस् कि क्या हो? साता दिन अरू बाँकी नै छ।
हो, सात दिनअघि नै बुझाऊँ भनेर आको। लु सुब्बा, मुखियालाई बोलाएर मेरो खायलको मोल गर्न
लाइदिनोस्। खायल बुझ्नुहोस्। दुईचार पैसा पाउने रछु भने पनि पाउँछु।
तँ के बसाइँ हिंड्ने परिस्?
नहिंडी सुखले, तपाईँहरूले बासै मेटिहाल्नुभो।
होइन, तँ बजियाको बास त हामीले मेटेको त होइन नि। झन् गरेर खा भनेर गोरु किनिदिएँ, खेत दिएँ, तँ त
मात्तिएर मेरै भैंसी मारिस्, अनि के भन्छस्? खायल बेचिस् भने पनि बाटोखर्च अलिकति पाइहाल्छस्।
मधेसतिर पसिस् भने यसो भात खाने मेलो भइहाल्छ नि कि मुगलानीतिर लाग्छस्?
हिंडेपछि कता हुन्छ नाइँ अब, ईश्वरले जहाँ पुर्याउलान्।
नन्दे त यही नै चाहन्थ्यो कि धने बसाइँ सरोस्। अनि त्यो खायल उसको हात लागोस्। उसको एउटा भानिजलाई
राख्न एउटा खायलको आवश्यकता उसलाई भइ नै रहेको थियो। भन्यो --
खायलको मोल गर्ने हो भने भोलि आइन। भोलि म सबैलाई भेला गर्छु। अनि भोलि नै लेखापढी गरी तिरेर
उब्रेको पैसा पाउँछस्। अड्डाबाट नाम दर्ता गर्न त तँ नभए पनि म गरिहाल्छु नि
भोलिपल्ट नन्देको आँगनमा गाउँका ठूलाठालुहरू भेला भई धनेको भाग्यनिर्णय गरिरहेका थिए। धने
नियाँस्रो मुख लगाएर एउटा कुनामा बसिरहेको थियो। ऊ व्याकुल थियो एउटै कुरालाई लिएर खायलको मोल कति
हुने हो? साहूहरूको तिरतार गरेर दुईचार पैसा बाटाखर्चलाई उब्रने हो वा त्यो पनि हराउने हो
छिनछिनपछि यही नै उसको मस्तिष्कमा आउँथ्यो। खायल तथा सम्पूर्ण खेतबारी, हाँडोभाँडो, बस्तुभाउको

मोल भयो। कागजपत्र गरियो। साहूको कटाएर धनेले पाउने 751 रुपियाँ निस्कियो तर सधैंलाई यो गाउँ
छाड्ने व्यक्तिमाथि दया देखाएर नन्देले दुई महिनाको ब्याज लिएन र 851 रुपियाँ धनेको हातमा
हालिदियो।