धने उकालो लाग्दा घाम पश्चिमतिर डाँडामा पुगेका थिए, बाटामा तेर्से लामिछानेको घर पर्थ्यो। तेर्सेको 5 रुपियाँ तिर्नुपर्ने हुनाले धने उसकोमा निस्कियो। तेर्से बाहिर पिँढीमा बसिरहेको थियो। धनेले पटुकाको छेउबाट 51 रु. झिकी दिंदै भन्यो -- लौ दाइ, यो अस्ति मैले चलाएको, अलिकति पोर मासु खाको पैसा पनि तिरेको थिएन। के गर्नु, मेरो त घरबारी सबै टाकटुक उठ्यो, भोलि कि पर्सि हिंड्छु होला। तेर्सेले सबै कुरा बुझेर सोध्यो -- सबै केटाकेटी लिएर हिंड्नैपर्यो कि क्या हो? लिएरै त जानपर्ला नि अब, काँ छाड्नु र यो ठाउँको बसाइ यत्तिकै रछ। फेरि तपाईँहरूलाई भेट्न पाउँछु वा पाउँदिनँ के ठेगान छ र धनेले आँसु पुछ्यो। तेर्सेका आँखाबाट पनि आँसु आए, उसले धनेको हातबाट पैसा लिएन, भन्यो -- त्यो केटाकेटीलाई बाटामा खाजा किनिदिनू हाउ भाइ, मलाई पर्दैन। हाम्रो पनि त्यही दशा त हो नि, जिलो उठ्न कतिबेर लाग्छ र? दुईचार सय रुपियाँले सगाउन सकेको भए आज तिमीले बाउबराज्यूको थलो छाड्नुपर्ने थिएन नि, तर केलाग्दो रछ र धनेले ढिपी गर्दा पनि तेर्सेले पैसा लिएन र पटुकामा बाँधी ऊ तेर्सेसित बिदा भयो। धने घर पुग्दा झमक्क साँझ पर्यो। मैना बाहिर आँगनमा उभिएर उसको बाटो हेरिरहेकी थिई, धने भित्र पसेर अँगेनाको डिलमा गएर बस्यो। मैना उसको छेउमा बसी। धेरैबेरपछि धनेले सबै कुरा मैनालाई सम्झाउँदै भन्यो -- कुम्लोकुटुरो अहिले कसिराख्। भोलि रिमरिम उज्यालो हुँदै हिंड्नुपर्छ। यस पापी ठाउँमा अब कत्ति बस्न मन छैन मलाई युगयुगबाट बसेको थात छाड्नुपर्छ। मेरा ससुराहरूको पसिनाले भिजेको यो घरबारी अझ ओबाइसकेको छैन। यो आजै छाड्ने? हत्केलाले मुख छोपेर मैना रुन थाली। धनेले उसको कपाल मुसार्दै भन्यो -- के लाग्छ, कपालमा विधिले यस्तै लेखेपछि, रोएर के हुन्छ? ऊ मैनालाई सम्झाउँदै जाँदै थियो। एक हातले उसको आँसु पुछिदिंदै थियो। तर उसको आँसु मैनाको कपालमाथि चुहिरहेको थियो। त्यो कसले पुछिदिने? मैनालाई सान्त्वना दिन त धने थियो। ऊ छउन्जेल मैनामाथि केही दायित्व थिएन। तर धनेलाई कसको सहारा थियो? एक मात्र उसले आशा गर्ने विधाता थिए। तर विधाताधरि यस बेला कहीं पर बसी उसमाथि