पर्सिपल्ट आधारातमा त्यो मुसलधारे पानी थामियो अनि बिहान हुनुभन्दा अघि भुकभुक उज्यालो हुन लागेको बेला रत्नाले पनि प्राण त्याग गरी। सानी छाती पिटीपिटी रोई -- सुबेदारनी पनि डाँको छोड़ीछोड़ी रोइन् -- हरि पनि रोयो अनि छिमेकका स्वास्नीमानिसहरू पनि आएर रोए। अनि सब शेष भयो। अनि सानीले शून्य दुःखद रातमा जस्तो धरै सपनाहरू देखी -- धेरै मानिसहरू आएर घरभरि थुप्रेका, आमाको शवमाथि बाकस फूलैफूलले ढाकेको अनि छिमेकीहरूले बोकेर घरबाट लगेका -- अनि आफू पनि कताकता रोएकीसूबेदारनी पनि रोएकी अनि अरूअरू पनि रोएका ৷৷. । सपना हो कि विपना? विपनामा देखेको कि सपनामा? सानीले त्यो पनि विचार गर्न सकिन। अनि त्यसपछि सानीको जिन्दगीका दिनहरू फेरि सपना जस्तै बित्दै गए। शरद् लाग्यो। भदौरे झरी थामिएर दिन प्रायः उघ्रँदै गयो। आकाश सफा हुँदै गयो। वन रमाइलो देखियो। पहाड़हरू पनि देखिने हुँदै गए। दशैंको आगमनले सबैका मनमा स्फूर्ति र आनन्दमय वातावरण सृजना गरिदियो। राजवाड़ीका अग्लाअग्ला रूखमा शरद्को सूर्यले कोमल स्पर्श गर्न थाल्यो। सानी दशैंसम्म बस्ने भई। एक दिन हरि अफिसबाट घर फर्कन लागेको थियो। पश्चिम पहाड़का माझमा शरद्को घाम डुबिसकेको भए तापनि फिका अबीर रङ्ग हिमालयको टाकुराटाकुरामा खेलिरहेकै थियो। बेलुकाको पहाड़ खेल्दै बग्ने बरसातले पनि बाटामा हिंड्ने बटुवालाई समेत स्पर्श गरेर दिवास्वप्नबाट ब्यूँझाउँथ्यो। हरिको मनप्राण विगत स्मृतिका संसारमा खेलिरहे। दूर प्रान्तमा वन, पहाड़, पर्वत देख्ता अनि तलसम्म देखिने उपत्यका हेर्दा अनि वारिपारि गाउँ हेर्दा, खोला हेर्दा हरिको मनमा बालककालका धमिला स्मृतिहरू आइरहे। आफूलाई संझना भयो, केटाकेटी हुँदा आफू कस्तो चञ्चले अनि उपद्रे थियो, दिनभरि डुली हिंड्नु, घरमा एकछिन नबस्नु, अनि केटाकेटी बटुलेर ऐंसेलु खोजी, खानु, पोथ्रोमा चराचुरुङ्गीको गुँड़ खोजी हिंड्नु। अनि त्यो बाल्यजीवनको संझना धेरै बेरसम्म स्वर्ग भएर हरिको मनमा उड़िरह्यो। अनि त्यसपछि छात्रजीवनको संझना भयो -- आफू हाई स्कूल भर्ना भएपछि बिहानबेलुका यही बाटो हिंड़ेको घाममा पनि, पानी झरीमा पनि, हिउँदमा पनि, वर्षामा पनि अनि त्यसले यो सड़कको एकएक पत्थर र माटो अनि अरू रूखपातसमेतले आफूलाई राम्ररी चिनिसकेको छ जस्तो लाग्यो। हरिको मधुर स्मृतिमा सुखद स्वप्नका अनेक किरणहरू छिरेर झलमल्ल भइरह्यो। अनि, त्यसपछि सानीको सम्झना भयो। फेरि हृदय म्लान हुँदै गयो, गंभीर हुँदै गयो। अनि एउटै प्रश्न मनमा आइरह्यो -- त्यो आश्रयहीन नारीले कतै आश्रय नपाउने त? अनि फेरि सम्झना भयो -- आफ्नो गोड़ामा एक दिन दुई थोपा अश्रुजल खसाएर जीवनको सबैभन्दा पवित्र दान त्यसले चढ़ाएकी थिई ৷৷. अनि हरिको प्राण शून्य भयो अनि त्यो शून्यतामा केवल सानीको स्मरण बादल भएर उड़िरह्यो। हृदयको त्यो स्नेहको सानो धागो चिरदिन अन्तरमा गोपनीय बसिरह्यो भने, चिरदिन अदृश्य र अव्यक्त भइरह्यो भने त्यो पवित्र बन्धन कति चिरस्थायी हुँदो रहेछ जिन्दगीको बाटोमा जीवनको त्यो पवित्र स्मृति पराग भएर उड़िरहँदो रहेछ, अनि त्यो पवित्र स्नेह, यो पवित्र प्रीति हृदयको सात पत्रभित्र पनि लुकेर निरन्तर बसिरहँदो रहेछ। हरि भिक्टोरिया फाल्सनेर आइपुगेको थियो। त्यसै बेला एउटा घाँसीले बाटामनि तल कताकता गीत गाइरहेको सुन्यो। दुई पहाड़का माझमा तल खोलाबाट क्षीण स्वर प्रतिध्वनित भएर आइरहेको थियो -- नारीको जन्म हारेको कर्म ৷৷. अर्कैको सुसारे ৷৷. अनि हरि हिंड्दै उभियो -- उही गीत पहाड़को फेदबाट फेरि रुमलिएर आयो। ओहो त्यो घाँसीले गाएको गीतमा कति ठूलो रहस्य छ हरिको अन्तरमा जुन कुरा हावा र बादल भएर उड़िरहेको थियो त्यो यो घाँसीको गीतले सजीव भएर उसको हृदयमा ठूलो खलबली मचाइदियो। हरि घर आइपुग्दा अन्धकारको पातलो जालोले पृथिवी छोपिसकेको थियो। राति आमाछोराको एकान्तमा धेरै कुरा भइरह्यो। सानीलाई पोइको घर पठाइदिनुपर्छ भन्ने कुरा आमाचाहिंले गरिन्, छोराले अँध्यारो मुख लाएर नबोलेर त्यो कुरा सुनिरह्यो। छोराको मुखाकृति देखेर सुबेदारनी छक्क परिन्। राति धेरै बेरसम्म सुबेदारनीलाई निद्रा परेन। सानीलाई के सधैं यहीं राख्ने त? सुबेदारनीले आफ्नै मनसित धेरैपल्ट सोधिरहिन्।