MAAITGHAR


एक दिन बिहानै सानीलाई अगिअगि लाएर रत्ना सुबेदारनीका घर पुगी। सुबेदारनी बाहिर दलानमा उभिरहेकी रहिछन्, रत्नालाई देखेर सोधिन् -- ओहो, आज कसो गर्दा आमाछोरी सँगै आइछौ
रत्नाले सरासर आएर सुबेदारनीलाई ढोगिदिई अनि सानीतिर फर्केर भनी -- बढ़ीलाई ढोगिदिन्स सानू?
सुबेदारनीले मुसुमुसु हाँस्तै भनिन् -- ढोगसोग पर्दैन -- के त हाम्रो सानू कहिले यहाँ नआउने भापो अनि फेरि सानीतिर निहुरेर कसो भन्छेस् सानू? भनेर सनेर सोद्धा सानीले किच्च दाँत देखाई।
अनि सुबेदारनीले सानीको हात समातेर घरभित्र लगिन्। रत्ना पछिपछि गई। भान्साकोठासा पसेर अरूअरू कुरा भयो। हरि सुबेदारको काखमा घुस्रिएर अझै सुतिरहेको थियो अनि सुबेदार अझै प्रगाढ निद्रामा थिए। केही बेरपछि सुबेदारनी र रत्ना कुरा गरिरहेको बेलामा सुबेदार सुत्ने कोठा देखि हरि र सानी कहिले चिच्चाएको, कहिले खितितिती खितितिती हाँसेको, कहिले दौड़ेर घरभित्र र बाहिर गरेकी आवाज आइरह्यो।
कुरैकुरामा सुबेदारनीले आज कस्तो काममा आयौ त बहिनी? भनेर सोद्धा रत्नाले भनी, दिदी, हामी ता बिदा माग्न पो आएका
कस्तो बिदा? सुबेदारनीले सोधिन्।
आज हामी इलाम हिंड्ने।
सुबेदारनीले नबुझेर फेरि सोधिन्, इलाम हिंड्ने?
हो, इलाम हिंड्ने। बसाइँ सरेर इलाम जानुपर्छ भनी सानूको बाले सप्पै कुरा छिनिसकेको छ दिदी
सुबेदारनीले रत्नाको अनुहारमा एकचोटि जिज्ञासु दृष्टिले पुलुक्कै हेरिन् -- आजै जाने त?
आजै जाने दीदी आमाछोरी तपाईँलाई भेट्न मात्तै आएकीs: भेटै नगरी जाऊँ भन के भन्नुहोलाजस्तो लाग्यो। उसमाथि सानी ता झन् इलाम जान्नँ, म ता बढीसितै बस्छु भन्छे। दिदी, तपाईँले ता हाम्री सानीलाई कस्तो मोहिनी लाउनुभयो नि? खाँदा पनिs: बस्दा पनि, सुत्दा पनि बढीकै कुरा ৷৷. बढीकै कुरा ৷৷.
सुबेदारनीको हृदय शून्य भयो। अनि एक छिनपछि त्यो शून्य हृदयका दुई पहाड़ बीचबाट रुमलिंदै कुइरीमण्डलजस्तो सानीको सम्झना र माया आउन थाल्यो। मातृत्वले चुली भएको नारीको ममतापूर्ण हृदयआकाश त्यो सानीको मायाको बादलले एकछिन डम्म ढाक्यो -- केही नदेखिने भयो, तैपनि बादल वर्षा भएर एक्कासि झर्न सकेन। आँखामा बसिसकेको सानीको छाया कुसुलेको गुड़ियाजस्तो भएर आँखाको सामुन्ने एकछिन नाचिरह्यो। केही बेरपछि सपनामा बोलेजस्तो गरेर एक्कासि झस्केर सोधिन् -- सानूलाई पनि लाने त?
सुबेदारनीको त्यो झिनो स्वर तल पर्वतकन्दराबाट आएको स्वरजस्तो क्षीण सुनियो। तर त्यसै बेला सानी र हरि खल्याङ र बल्याङ गर्दै भान्साकोठाभित्र पसे, अनि त्यसैले कोठाको गंभीर शान्ति पनि भंग भयो।
सुबेदारनीले पुलुक्कै सानीको मुखमा हेरिन्। त्यो चपला चञ्चला बालिकाको अनुहार आज तिनलाई भर्खर उदाएको पूर्णिमाको जूनजस्तै लाग्यो। त्यस सानी केटीको माया आफ्नो अन्तरमा बिस्तारबिस्तार कति गहिरिएको रहेछ सो आजै तिनले अनुभव गरिन्। आफूलाई रातोदिन माया लाग्ने त्यो चञ्चले बालिकासित आजै यसरी एक्कासि छुट्टिनुपर्छ भन्दा तिनको हृदयमा ठूलो निर्मम धक्का लागेजस्तो लाग्यो। असाध्यै नरमाइलो लागेर आयो। मनमा अशान्तिको हुरी चल्यो -- रुँजस्तो पनि लाग्यो। विच्छेदको तातो हावाले कण्ठ सुक्यो अनि भरेभरे घुट्ट थूक निलेर सानीको हात तानेर भनिन् -- सानू तँ आमासित इलाम जान्छेस् कि मसित यहीं बस्छेस्? मेरो माया लाग्दैन?
सानीले -- म त बढ़ीसितै बस्छु, इलाम ता जान्नँ। भनेर जवाफ दिई।
ल, उसो भए मसितै बस्ने है त? भनेर सोद्दा सानीले फेरि आफ्नी आमाको मुखतिर पनि पुलुक्कै हेरि।
बिदाको समय आयो। जाने बेलामा सुबेदारनीलाई के दिऊँके दिऊँजस्तो लागिरह्यो। छट्पट्छट्पट् गरिरहिन्। आमाछोरी उठेर हिंड्ने बेलामा सुबेदारनीले आफ्नो बाकस उघारी त्यहाँबाट एउटा हाइल्याण्डर शाल झिकिन् अनि सानीलाई नयाँ दुलहीजस्तै पारेर घुम्टो हालिदिइन् -- त्यसपछि सानीको दुवै गाला र निधारमासमेत च्वाक्कै म्वाइँ खाएर भनिन् -- ल, जा है सानू पछि तँ ठूली भएर बढ़ीलाई सम्झनू -- सम्झेर एक दिन फेरि आउनू है?
रत्ना छक्कै परेर यो के गर्नुभएकी विदी? भनेर सोद्धा सूबेदारनीले नबोलेर सानीलाई छातीमा टाँसिन् र बर्र आँसु खसालिन्।
अनि सूबेदार यही बेला सुत्ने कोठाबाट आए। एकछिन अरूअरू कुराकानो भयो, त्यसपछि सुबेदारनीलाई ढोगिदिएर आमाछोरी दुवै ओह्रालो लागे।