MAAITGHAR


तेह्र वर्ष बितेपछि एक श्रावण महीनाको झरी परिरहेको दिनमा एउटी तरुणी र अर्को केही उमेर ढल्किसकेको प्रौढ़ा स्त्री आएर त्यो घरमा पाइलो हाले।
बाहिर अविराम गतिले एकोहोरो झरी परिरहेथ्यो। घरभित्र केही चालचुल नसुनिएकोले त्यो घर प्राणहीन र ज्यादै नीरवजस्तो लाग्थ्यो। दार्जीलिङ्ग शहर वर्षा र कुइरोभित्र डम्म छोपिएको थियो। यो झरी बादलका दिनमा राजवाड़ीको एकान्त गाउँ आज झन् म्लान र उदासलाग्दो देखिन्थ्यो। गाउँ घर निर्जन र शून्य लाग्थ्यो। माथि फुस्रो र कालो मेघाच्छन्न आकाशदेखि निरन्तर खसेको वर्षाले राजवाड़ीको घर र डाँड़ाकाँढ़ा लहरै उम्रेका धूपीका अग्लाअग्ला रूखलाई रुझाइरहेथ्यो। वरिपरि देखिने गाउँहरू पनि वर्षाले छोपेर स्पष्ट देखिंदैनथे। वर्षाको म्लान प्रकाशले हो कि वा चारैतिर पृथ्वीमा शून्य धमिलो वातावरण छाएकोले हो, राजवा़ड़ीको बाटोघाटो, गाउँघर सबै आज उदासलाग्दा थिए।
केही बेरसम्म ती दुई जना बाहिर दलानमा उभिरहे। पानीले दुवैको जीउ निथ्रुक्क भिजिसकेको थियो यो झरीले। यो दृश्यले आगन्तुकका मनमा अतीतका धमिला स्मृतिहरूको सम्झना गराइरहेथ्यो। त्यो तरुणीले चारैतिर एकचोटि चञ्चल दृष्टिले हेरेर अस्फुट स्वरमा प्रौढ़ा स्त्रीलाई सोधी -- आमा त्यहाँ ता उहिले नै ठूलो एउटा परेवाको खोर थियो होइन?
त्यसै बेला ढोका उघ्रियो अनि घरभित्रबाट एउटा नचिन्हेको पुड्को मानिस आएर आगन्तुकलाई सोध्यो --
कहाँबाट आउनुभएको आमै?
भित्र कोको छन्? बूढ़ीले सोधी।
होइन, कहाँबाट आउनुभएको? भनेर फेरि सोद्धा दिक्क मानेजस्तो गरेर भनी -- इलामबाट। सुबेदारसुबेदारनी घरै हुनुहुन्छ।
सुबेदारनी हुनुहुन्छ।
सुबेदार नि ता?
ओहो, परारको सालै परलोक हुनुभयो। बाहिर कति उभिरहनुहुन्छ, आमा, म भित्र खबरदिउँ है? -- त्यति भनेर जवाफ नपर्खी त्यो मानिस खुर्र दगुरेर घरभित्र पस्यो।
एक छिनपछि घरभित्रबाट सुबेदारनी निस्किन्।
दलानमा ती दुई स्वास्नीमानिसलाई देख्ता पहिले एकछिन् ता अलमल्ल परिन्, तर कसो गर्दा ठिम्याएजस्तो गरे पनि एक्कासि बोलाउन नसकेर केही बेर हेरिरहिन्। सांसारिक दुःख र व्यथाले खुम्च्याएर ती प्रौढा स्त्रीको निधारमा धेरै रेखाहरू देखिन लागेका थिए।
सुबेदारनीले बल्ल ठम्याइन् र आश्चर्यमा परेर भनिन् -- ओहो बहिनी पो आज -- यतिका वर्षपछि आइपुग्यौ, कस्तो हो, मलाई ता कसो सपनाजस्तो पो लाग्यो ৷৷.
रत्नाले सुबेदारनीलाई ढोगिदिई। जस्तो अघि गर्थी। तरुणीले पनि आएर सुबेदारनीलाई ढोगिदिई। सुबेदारनी अली असमञ्जसमा परिन्।
बढ़ी, मलाई चिन्नुभएन? -- तरुणीले सोधी।
सुबेदारनीले बल्ल चिन्हिन्। अहिलेसम्म मनमा दगुरिरहेका शंकाहरू हराए। ठूलो आश्चर्यमा परेर भनिन् -- ओहो सानू मैले ता चिन्नै सकिनँ हेर, सानोमा जामा लाएर यही आँगन र दलानमा फित्रिकफित्रिक नाची हिंड्ने केटी लौ यत्री भइसकिछस् आमैं नि सानू ৷৷. हिजो अस्तिजस्तो लाग्छ ৷৷.
तेह्र वर्षअघिका कुरा सुबेदारनीलाई हिजै भएको सपना जस्तो लाग्यो तर कालको लामो अवधिमा कति परिवर्तन पृथिवीमा भयो। समय भविष्यको अज्ञात गर्भमा निरन्तर बगिरह्यो अनि पृथिवीमा कति नयाँ कुरा आए कति पुराना गए -- अनि कति परिवर्तन भयो।
सुबेदारनीको हृदयमा अतीतका मधुर स्मृतिहरू जागृत भए। हृदयमा वात्सल्य प्रेम फेरि उम्लेर आयो, अनि एकैछिन शून्य दृष्टिले यताउता हेरिन् र त्यसपछि सानीलाई ममताले हातमा समातेर घरभित्र लगिन्। रत्ना पछिपछि गई।
अनि त्यसपछि रत्ना र सुबेदारनी कुरा गर्दै धेरै बेरसम्म कोठामा रोइरहे।
ती दुवै नारीलाई एउटै विपत्ले, एउटै वेदनाले तथा एउटै सन्तापले छोपेको रहेछ। दुवैको जीवनआकाशमा एउटै कालो मेघ आएर जिन्दगीको सुख र आशा उजाड़ पारेको रहेछ र त्यसैले दुवैका आँखादेखि एउटै दुःखको बादलबाट अश्रुवर्षा झर्दथ्यो। तर सुबेदारनीलाई एउटा कुरा देख्ता भने अचम्मै लाग्यो -- कुइरीमण्डल लागेर छोपेका पहाड़, बस्ती, वरपर गाउँघर, रूखपात सबै उज्यालो भएर त्यहाँ चहकिलो घाम लागेजस्तो लाग्यो। अनि आफूले माझेर राखेको घरका भाँडाहरू पनि सबै उज्यालो भएर कताकता टल्केजस्तो लाग्यो।
कुरैकुरामा दिन बित्यो। रत्ना र सुबेदारनी भान्साकोठामा कुरा गरिरहे। सानी उठेर घरको एकएक कुना चहारी। हरि सुत्ने कोठामा पनि पसी। ओहो, त्यहाँ त अहिले कस्तो सजाएको रहेछ -- कुर्सी, पलङ्ग, आलमारी अनि टेबुलभरि पुस्तक, फूलदानी, कलम, मसी अनि भित्तामा एउटा ऐना, मास्तिर एउटा केलेण्डर, परतिर रवीन्द्रनाथको तस्वीरसमेत, अनि कुनापट्टि सूर्यास्तको दृष्य भएको एउटा चित्र। सानीले नियालीनियाली हेरि अनि टेबुलको अगिल्तिर राखेको एउटा फोटोमाथि सानोको दृष्टि पुग्यो र धेरै बेरसम्म त्यसको आँखा त्यहाँ अल्झिरह्यो। त्यो फोटो कसको रहेछ? जति हेरे पनि आफ्ना चञ्चले आँखालाई तृप्ति नहुने, त्यो गालामा कोठीसमेत भएको, टोपी नलाएको, कपालको केश घुम्रेको, गम्भीर अनुहार भएको मोहनीजस्तो आँखा भएको सुन्दर युवक को होला भन्ने शंका सानीको मनमा धेरै बसेन -- त्यो कसको फोटो थियो त्यसको अन्तरको आँखाले चिह्निहाल्यो।
अनि सानी दगुरेर भान्साकोठामा पुगी। लाजले, आशंकाले, संकोचले त्यसको मुटु ढुकढुक भइरहेको थियो। कहिले छिटोछिटो चलेर बन्द पनि हुन खोज्थ्यो। सानीको हृदय केही बेर लाज र संकोचको तरंगमा पौडी खेलिरह्यो।
भान्साकोठामा सुबेदारनो भन्दै थिइन् -- अँ त, बहिनी, हामीलाई पनि हुरुक्क पारिराखेर जानुभयो ৷৷. बोल्दाबोल्दै पो त त्यसै हेर्दाहेर्दै प्राण गयो ৷৷. छि ৷৷. कुरा गर्दा पनि म ता आँसु थाम्न सक्तिनँ ৷৷. तर त्यो कुरा सम्झँदा सपनाजस्तो लाग्छ ৷৷. ।
रत्नाले भनी -- हो त, त्यो कुरा सुनेर मलाई पनि कस्तो कस्तो लागिरहेको छ। तै दिदी, धर्मात्मा रहेछ र दुःख नपाई गयो, तपाईँलाई धेरै दिन दुःख पीर खप्नुपरेन। हाम्रो त दुःख के भनुँ दिदी आफे पनि वर्ष दिन गल्यो -- आफूले पनि दुःख भोग्नुसम्म भोग्यो अनि बस्नेलाई पनि आधापिल्चो बनाएर गयो ৷৷. ।
हो त, जानेलाई के छ त। हो कि मरेपछि डूमै राजा। तर बस्नेलाई त ठूलो पीर छ -- पृथिवीको यो ठूलो भार खप्नुपर्छ।
दिदी, के त, तपाईँको ता छोरामा छोरा छ, घर द्वार छ, अलिकति कमाइराखेको पनि होला ৷৷. मेरो ता के छ? अभागिनी त म पो ৷৷.
अर्काले हेर्दा पो त्यस्तो देख्छ। आफ्नो दुःख सबै आफैंसित छ। तर बाबुचाहिं बाँचेको भए मेरो हरिले पढ्न पाउने थियो। ऊः योसितै हाईस्कूल पढ्ने साथीहरू कलकत्ता गएर पढ्दै छन्। आमा, मैले मात्रै पढ्न पाइनँ भनी हरिले सधैं कुरा गरिरहन्छ -- के गर्छस् बाबै, भाग्यमा नभएपछि भनेर सम्झाउँछु। तै ऐले त आपिसमा काम गर्दछ र एक पेट खोले फाँडोलाई चिन्ता गर्नुपर्दैन।
हरि कति बेला आइपुग्ला नि दिदी? सानैमा छोड़ेर गएको -- अब ता कस्तो भइसकेको होला -- चिन्न पनि सक्छ के? हामीलाई बिर्सि पनि सकेको होला। सानामा हरि यो गाउँभरिका केटाकेटीहरूको राजा थियो। यी दुई जना कस्ता उपद्रे थिए नि दिदी सानी रुन नजान्ने -- हरि जिस्काउन नजान्ने।
हो, मेरो छोरा गाउँघरका केटाकेटीको राजा थियो।
कुरा गर्दागर्दै बाहिर दलानमा जुत्ता बजेको, छाता मारेको अनि हरि कोठामा पसेको आवाज आयो। सुबेदारनी मुसुक्क हाँसिन्, उ, कुरा गर्दागर्दै आइपुग्यो, मेरो छोराको आयु लामो रहेछ।
सन्ध्या भइरहेको थियो। बाहिरको झरी र कुइरीमण्डलले घरभित्र म्लान अन्धकार छाएको थियो। बाहिर निरन्तर परिरहेको वर्षाले पृथिवी डम्म ढाकेर अँध्यारो भइसकेको थियो।
केही बेरपछि हरिको कोठाबाट सिलपट बजेको आवाज भान्साघरतिर आयो अनि हरि भान्साकोठाको ढोकामा आएर उभियो। रत्नाले भनी -- मलाई चिन्छौ के बाबू?
ओहो, कान्छी आमा पो आइपुग्नुभएछ। किन नचिन्नु? देख्नेबित्तिकै ठम्याइहालें नि
हरिको आँखा सानीमाथि पुगिसकेको थियो। तरुणी युवतीलाई देखेर कौतुक र जिज्ञासाले हरिका आँखा चञ्चल भइउठे।
जीउमा साधारण चौबन्दी चोलो र छींटको फरिया लाएकी गोरी वर्णकी, हातभरि तारा बाईँ लाएकी, शहरिया होइन तर पहाड़ बस्तीबाट भर्खर आएकी जस्ती थिई। हरिले सानीलाई ठम्याउन नसकेर हो क्यार केही बेर अलमल्ल परेर हेरिरह्यो। तैपनि सानी घोप्टो परिरही। हरि नबोलेर त्यहाँबाट आफ्नो कोठातिर फर्क्यो।
हरिका मनमा धेरै प्रश्नहरू आए -- शंकाको बादल पनि आयो पनि फेरि हरायो। त्यो तरुणी को रहिछ, बिस्तारबिस्तार हरिले ठम्याउँदै झ्याल खोल्यो अनि बाहिरको गम्भीर अन्धकारमा शून्य आँखाले हेर्दै अतीतका घटनाहरू मनमा सम्झिरह्यो। बाहिर पानी परिरहेको आवाज एकनाससित आइरहेथ्यो -- अनि

बाल्यकालमा मधुर घटनाहरू मनमा आइरहे। तर ती बितिसकेका दिनहरू घटनाहरू बाहिरका वर्षा जस्तै आज स्पष्ट र उदासीन भइसकेका छन्।
आज एक्कासि ती पुराना स्मृतिहरू नयाँ आकारमा सजीव भएर उठ्दा हरिको मन आनन्दले, कौतुकले र चञ्चलताले अधीर भइरह्यो। सानी कत्री भइसकेकी रहिछ आफुसितैं गुड़िया बनाईबनाई दुलहादुलहीको पुतलीसित खेलिरहने सानी अहिले यत्री तरुणी भएकी छ -- संकोच र गंभीर लाज पनि अहिले त्यसका साथ छन्।
केही बेरपछि हरि फेरि भान्साकोठामा गयो र रत्नासित सोध्यो, कान्छी आमा धेरै वर्षपछि पो आउनुभयो त?
हो, धेरै वर्षपछि आएँ। तिमीहरू केटाकेटी नै थियौ। इ, तिमी पनि यत्रो तन्देरी भएछौ, हिजोअस्ति जस्तो लाग्छ बाबै ৷৷. कुरा गर्दागर्दै रत्नाको कण्ठ गम्भीर भयो। आँखाभरि आँसु पारेर सुबेदारनीको अनुहारमा पुलुक्क हेरी। हरि आफ्नो कोठातिर फर्क्यो। सानीले बल्ल पछाड़िबाट चियाएर हरिलाई पुलुक्क हेरी।
भरे भान्सा बस्दा कुरा चल्यो। कुरैकुराप्ना हरि र सानीको बाल्यावस्थाको कुरा निस्क्यो -- सुबेदारनीले यी दुईका कुरा लिएर सानामा गरेका यिनीहरूका उत्पीडन र उपद्रवको एकएक घटना दोहोर्याइन्। बितिसकेका कुराहरू गर्दा सुबेदारनीलाई पनि नरमाइलो लागिरह्यो।
अनि त्यसै दिनदेखि आमाछोरी दुवै यो घरमा बस्ने भए। सुबेदारनीको घरमा एक जना नोकर काम गर्दै थियो, त्योचारिं केही दिनपछि बर्मा हिंड्ने भयो।