MAAITGHAR


एक दिन बेलुकी हरि आँगनमा आरामकुर्सीमा ढल्केर एकाग्र चित्तले एउटा पुस्तक पढ़िरहेथ्यो। घरभित्र खल्याङमल्याङ गरेको सुनियो। पुस्तकमा चिह्न हाली हरि घरभित्र पस्यो -- हेर्दा सानी भान्साकोठाको सँघारनेर घोप्टिएर रोइरहेकी रहिछ।
के भयो सानू तिमीलाई? भनेर हरिले सोद्धा पनि सानीले केही जवाफ दिइन -- घोप्टिएर त्यत्तिकै रोइरही। हरिलाई नराम्रो लाग्यो र रत्नासित सोध्यो -- सानूलाई के भएछ कान्छीआमा?
हेर न कस्तो भाँचिएको हात रत्नाले एक थुप्रो फुटेको प्याला पिरीचका टुक्रातिर देखाई। हेर यति जाबो पनि उठाएर लान नसक्नेs: पछि पोइका घर गएर के गरी खान्छे -- यस्ती अभागिनीले ता आफ्नै भाग्य खान्छे
आमाको यो तीखो वचनले सानीको मुटुभित्र साह्रै घोचेजस्तो लाग्यो र झन् दुःख मानेर रुँदैरुँदै मनैमन भनी म अभागिनीलाई किन जन्म दियौ त आमा म अभागिनी नभए, मेरो भाग्य नफुटेको भए किन म टुहुरी हुने थिएँ? किन आज अर्काको घरमा आएर यसरी आश्रय लिनुपर्थ्यो त?
हरिले भन्यो -- भइहाल्यो, भइहाल्यो, कान्छीआमा -- यति जाबो सानो कुरामा किन खलबल गरेको? फुट्ने माल फुटिहाल्छत्यसमा के बिग्रेको छ र?
सानी साँझसम्म पनि ट्याम्मै चलिन। आज भात पनि रत्नाले नै पकाई।
सुत्नुभन्दा अघि सानीलाई फकाउँदै सुबेदारनीले भान्साकोठामा लगिन्। रोएर दुवै आँखा डम्मै सुनिइसकेका थिए। आँसु र सिंगानले मजेत्रो पनि भिजिसकेको। सुबेदारनीको पाखुरामा समातेर सानी निकै बेर रोइरही। अनि बल्ल फकाईफुल्याई सुबेदारनीले सानीलाई दुईचार गाँस भात खान लाइन्। आँसुसित एकएक भातको सिता मुछेर चपाउँदै अलिकति खाई।
अनि रातभरि सानी भित्तापट्टि फर्केर रोइरही।
बिहान हुनेहुने वेलामा रत्नाको निद्रा टुट्यो। सानी सुतेको छैन भनेर थाहा पाईपाई रत्ना चुप लागेर अर्धनिद्रित अवस्थामा टोह्लाइरही। तर तन्द्रा अवस्थामा भने सानी कताकता घोप्टिएर रोइरहेकी जस्तो पनि लाग्यो। कहाँ हो, कहाँ, ठीकठीक सम्झन सकिन। मन कताकता डुलिरह्यो। आफूले राम्ररी जान्न खोजेर सम्झँदा हिजो बेलुकीको कुरा याद भइहाल्यो। धेरै बेरसम्म टोह्लिएर बस्न नसकी रत्ना सानीपट्टि फर्की अनि सुतेकी छ कि छैन भन्ने शंकाको डोरीमा हृदय झुण्ड्याएर मौन भइरही। केही बेरपछि बिस्तारै हात पसारेर सानीको अनुहार हलुकासित छामेकी ता ओहो चिसो र तातो आँसुले सानीको परेला, आँखाका ढ़कना, अनि गाला, अनि च्यूँड़ो, अनि कण्ठ, अनि छाती भिजिसकेका रहेछन्। आँसुको धाराले आफ्नी छोरीले यसरी मुख धोएकी थाहा पाएर आमाको कमलको मन दुई फ्याक भइहाल्यो। हिजो बेलुकी आफूले गरेको तीखो वचन अहिले काँढा भएर आफ्नै मुटु घोच्न लाग्यो। छटपटाएर -- मेरी छोरीलाई किन यसरी वचन लाएँछु नि, किन तीखो वचन सुनाएँछु मनमनै भनी -- जीउ पो नपाउनु, छोरी पो नपाउनु, जाबो त्यस्तो फुट्ने माल त कति पाइन्छन्, छिः।
यो अँध्यारो ठूलो पृथ्वीमा आफ्नो भन्नु कोही छैन, कोही छैनजस्तो लाग्यो -- केवल त्यो प्रगाढ़ अन्धकारमा छामछामछुमछुम गर्दै हिंड्ने सहारा केवल सानीमात्र रहिछजस्तो लाग्यो। सानीलाई फकाउँदै रुञ्चे स्वरमा

भनी -- सानू, अझै रोइरको छस्? छिः, केटाकेटीजस्तो किन रोइरकी? त्यति जाबो कुरामा? नरो न, बिगार गर्दा आमाले त्यति एक वचन भन्न हुँदैन?
अहिलेसम्म अलिअलि गर्दै बगेको आँसुको मूल धारा फुटेर सानीको आँखाबाट ठूलो फोहरा भएर बग्यो। अनि मुटुमा गाड़िएको शूल झिक्न लाग्दा फेरि मुटुमा अझ झन् ठूलो पीड़ा अनुभव भएजस्तो लाग्यो। दुःख मानीमानी रोएर भनी -- किन आमा? मेरो भाग्य नफुटेको भए म टुहुरी हुने थिएँ ৷৷. ? त्यसैले ता म अभागिनी भइन र आमा? सानैमा बाबुलाई नहराएको भए आज मेरो के यही अवस्था हुने थियो ৷৷.
सानीको कुराले रत्नाको कलेजामा तीखो काँढा रोपेजस्तो भयो, ब्रह्माण्ड फुटेर आयो र आमाले छोरीले अँगालो हाले अनि खूबसित रोए।
अनि एकछिनपछि उज्यालो पनि भइहाल्यो।