फागुनमा हुने लेकको जाडोले आजको रातलाई उस्तो असर गरेको थिएन। आकाश धुम्म थियो औ सधैं पहाडका टाकुरातिरबाट बग्ने चिसोचिसो वायु बन्द थियो। रात शुक्लपक्षको भए तापनि आकाशमा धुम्म बादल लागेकोले टहटह लाग्ने जूनको उज्यालो पृथ्वीमा आउन पाएको थिएन र साधारण देख्न सकिनेसम्मको प्रकाश मात्र थियो। मैलो, ठाउँठाउँमा फाटेको सिरकले खुट्टादेखि टाउकैसम्म आफूलाई गुटुमुटु पारेर परबाट हेर्दा मस्त निद्रामा परेको भान भए पनि धने बस्नेलाई निद्रा परेको थिएन। मनमा उर्लिरहेको भावनाको भेललाई एकातिर पन्छाई निद्रादेवीको स्वागत गर्ने चेष्टा गर्थ्यो ऊ, तर चेष्टा वृथा भइरहेको थियो। एकछिन विचारधारा बन्द गरेर सुत्ने चेष्टा गर्थ्यो त अर्कैछिन भावनाहरू सजीव भई आइपुग्थे त्यसका मस्तिष्कवरिपरि। निदान धने उठ्यो र अगेनाको डिलमा आई हातले खोस्रेर खरानीमनि घुसारिराखेको आगोको भरभराउँदो अगुल्टो झिकी अँगेरीको पातमा बेरेको सुर्तीको ठुटो सल्काउन थाल्यो। सुर्तीको धूवाँको गुब्बा उडाउँदै फेरि ऊ विचारमग्न भयो। हृदयको एक कुनाबाट प्रश्नहरू उठ्तथे, हृदयमै प्रश्नको आलोचना पनि हुन्थ्यो, औ एकछिनपछि त्यहीं समाधान पनि हुन्थ्यो। बैदार बूढाले भैंसी त दिने भए तर दन भने अघोर चर्को गर्छन्, त्यसमाधि हलका गोरु नै डिग (बन्धक) राख्नुपर्ने। ब्याज पनि महिनैपिच्छे नतिरी धर दिंदैनन्। चारखुट्टे मोरो धन, गन्दै नगन भन्छन्, केही किसिम बिग्य्रो भने हलका गोरुसमेत जान्छन् ৷৷. तर कसो बिग्रला र, गाभिनी भैंसी, काखमा पुष्ट पाडी छ। दूध पनि मनग्गे नै छ। एकदुई वर्षमा पाडी हुर्कंदै जान्छ। अर्को बेतमा पनि पाडी पायो भने झन् बेस। सानो बालकले पनि यसो एक मुठी ओलनले घाँटी भिजाउन पाउला। ठेकीमा एकदुई मुठी तुर्क्याउँदै गर्दा दुईचार दिन बिराएर निक्लेको चोखेनले आना सुकी पैसा होइहाल्छ। त्यसले ब्याज तिर्न पुग्यो, आफूले पनि महीको पानी पाइने। यसपाला मकै राम्री भइदियो भने आफूले कोदोसोदो खाएर पनि त्यतैबाट आधाआधी ऋण तिरिहाल्छु ৷৷. । मनमा कुराको भल प्रबल बेगले बगि नै रहेको थियो। सुर्ती तानिसकेर धने फेरि सिरकमा गुटमुटियो। अर्धरात्रि व्यतीत भइरहेको थियो, उसले एकपल्ट हाई गर्यो।