महाकाल बाबाको थानमा मिरीरी घाम झुल्किसक्दा पनि पश्चिमपट्टि फर्केको दार्जिलिङ्गको चोक बजारमा अझ घामै झुल्केको थिएन। बिहानीपख, टाढामा देखिने पूर्वतिरका ती नीला पहाड़हरूबाट लहरै लहर माला जस्ता भएर झरेका उपत्यकाहरूमा पनि सूर्य्यका लामा लामा किरणको छाप अहिलेसम्म परेकै थिएन। केवल प्रातःकालदेखि देखिने उत्तरपट्टिको पर्वतराज हिमालयका ती चुच्चे टाकुराहरूमा भने सुनौला तर गुलाफी किसिमको टलक रमाइलो गरी धेरै बेरदेखि खेलिरहेको थियो। तर जति जति सूर्य्य मास्तिर आकाशगा उक्लँदै जान्थे उति उति त्यो टलक पनि फिका हुँदै हराउँदै त्यस ठाउँ चाँदीको जलपतको रूपमा विस्तार विस्तार परिवर्तन हुँदै जान्थ्यो। महाकाल बाबाको थान वरिपरि रातभरी शीत र चिसो हावाले काम्न लागेका रूखका पातहरूमा बल्ल सूर्य्यका पहेंला किरण पर्दा चारैतिर प्रकृति एक्कासि सुनको जलप लाएर हाँसे जस्तो देखियो। धेरै शीतका थोपाहरू रूखका पातमा काम्दै झुण्डिरहेका थिए, ती पनि अहिले त सुन जस्तै भएर चम्किरहेका थिए। गुराँसको बोटका हांगाहरूमा भर्खर भर्खर गुलाफी र गहिरो रातो रङ्गमा फक्रनलागेका फूलहरू थिए तिनलाई पनि सूर्य्यको उष्ण किरणले अहिले नै म्वाइँ खाला खाला जस्तो देखिन्थ्यो। सधैं अग्लो डाँड़ामा रहेको महाकाल बाबाको थानमा पहिले घाम लाग्थ्यो। अनि पछि पूर्वपट्टि फर्केर बसेको भोटे बस्तीतिर घाम ओलँदै झर्थ्यो। पछिल्तिर रहेको चोक बजारतिर भने हत्तपत्त घामै नलाग्ने हुनाले त्यतापट्टि अहिलेसम्म पनि शून्य जस्तो नै थियो। त्यहाँ शीतको अझै ठूलो साम्राज्य थियो। माघ फागुनको उत्कट जाडो। त्यसैले पश्चिमतिर फर्केर बसेको सारा दार्जिलिङ्ग शहर जाड़ाले कक्रिरहेको थियो। वारिपारि देखिने घर, कोठी र तिनका राता राता छाना तथा बाटाघाटा, रेलिङ्ग, पार्क, हावाघर ती सब अहिलेसम्म जाड़ाले कठांग्रिरहेकै जस्ता देखिन्थे। अग्ला अग्ला धूपीका रूखहरू समेत बिहानको जाड़ा र शीतको प्रहार सहन गर्दै चुपचाप ठिङ्ग उभिरहेका जस्ता देखिन्थे। आज दिन त राम्रै उघ्रेको थियो तापनि जाड़ाले भने मुटु छेड्थ्यो। यस्तै जाड़ाको बिहान एक दुइ मानिसहरू छातीमा मुन्टो घुसारेर दुवै हात पाकेटमा हाली शून्यभावले यत्रतत्र हिंडिरहेको देखिन्थे। चोक बजारको पानका पसलहरू विस्तार विस्तार उघ्रन लागेका थिए। चोकमन्तिर रक्सी बेच्ने गड्डीखानको एउटा साँगुरो गल्लीबाट भने रक्सो र जाँड़को तीब्र दुर्गन्ध लिएर बिहानको हावा अझ बगिरहेकै थियो। चोक बजारको फाँटबाट झरेको लामा सिमेन्टको सिंढीतलतिर गड्डीखानको ओह्रालो जाने छिंड़ीमा जताततै मैला र हिलो थियो। सड़कको छेउतिर आलु र प्याजका बोक्राहरू, कुखुराको फुलका खोस्टाहरू यत्रतत्र देखिन्थे -- नालीमा मैला कसिंगर थुप्रेर कुहेका साग सब्जीको सानो पहाड़ जस्तो जमेको थियो। गड्डीखानको छिंड़ीबाट जाँदा निकै तलतिर भित्तापट्टि टीनले बारेको एउटा थोत्रे घर जस्तो खाली ठाउँ थियो। त्यसलाई घर नभनेर झुप्रो नै भने हुन्छ -- किनभने त्यसको छानु पुरानो मट्टितेलको टीनलाई सोझ्याएर बनाएको थियो तथा हावाले उड़ाउला भनी त्यसलाई ढुंगाले थिचिराखेको थियो। त्यो एउटा उराठलाग्दो झुप्रो थियो -- भित्ताको सहारामा एक दुइ काठ गाड़ी टीनले बारेर एउटा मानिस सुत्नसम्म हुने सानो ठाउँ बनाएको थियो। त्यहाँ न बलियो ढोका थियो, न भित्ता, न त बिजुली। ढोकाको नाउँमा दुइ चारवटा मकिसकेका काट जोरेर आग्लो लाउनेसम्म बनाएको थियो। त्यहाँ आधुनिक फर्निचर को नाउँमा केवल फुको धूलोसरीको भूइँमा दुई चारवटा पुराना फल्याक मात्र ओछ्याइएका थिए। त्यही ठाउँमा एउटा कुकुर गुँडुँलिएर कुनापट्टि सुतिरहेको थियो। अनि त्यसेको छेउमा एक जना मानिस पनि
आफ्नो बोरा थाङ्नामा गुटुमुटु भएर एक डल्लो परी निर्विकार अबस्थामा सुतिरहेको थियो। दिन चढ्दै गयो। चोक बजारका अग्ला अग्ला बिल्डिंग र सेता घरहरूमा अब न्यानो घामको किरणले स्पर्श गर्दै लग्यो। तैपनि त्यस झुप्रोमा सुत्ने त्यो मानिस र कुकुर सुती नै रहे -- मानो कुकुर र त्यो मानिसमा सुत्नाको निम्ति होड़ भै राखेको छ। बिहानको चिसो हावाको प्रबल आघात खाएपछि बल्ल त्यो मानिसको निद्रा टुट्यो र निद्राबाट जुर्मुरिंदै उठ्यो। एक्कासि दुःस्वप्नबाट झस्केर व्युँझे जस्तो गरी उठेर उ टुक्रुक्क बस्यो। जाड़ाले कक्रिएकोले उ एक डल्लो परिरहेको थियो। निकै बेरसम्म उ त्यत्तिकै भावशून्य अवस्थामा निश्चेष्ट बसिरह्यो। वहाँपछि उसले आफ्नो सिरानमनिबाट दियासलाई र बिड़ी झिकेर सल्कायो। कुकुर भने अझै अचल भएर सुतिरहेको थियो। त्यो मानिस केही बेरसम्म बिड़ी फुक्दै शून्य भावले त्यस कुकुरतिर हेरिरह्यो। कुकुर आनन्दले मग्न सुतिरहेको देखेर त्यस मानिसको मनमा अलिकति हिंसा भयो। तैपनि त्यसले एकनाससित कुकुरलाई हेरी नै रह्यो। एक छिनपछि त्यसका मनमा के विचार आयो -- त्यसले मुख भरी बिड़ीको धुवाँ तानेर कुकुरको नाकमा फू गरेर फुकिदियो। त्यति गरेपछि बल्ल त्यो कुकुर पनि कान फट्फटाउँदै उठ्यो -- मन नपरी नपरी आङ तन्कायो अग्नि लामो जिभ्रो निकालेर हाई काढ्दै त्यस मानिसको मुखमा पुलुक्क हेर्यो। कुकुरलाई हेरेर त्यो मानिस मुसुक्क हाँस्यो, फेरि आफ्ना दुवै घुँड़ाको माझमा मुन्टो त्यसले घुसार्यो र बिडी तान्न थाल्यो। यसरी केहो बेरसम्म गम्भीर चिन्तामा डुबेपछि त्यो मानिस कतै जान तयार भयो। उसले कुनामा राखेको आफ्नो झोली देब्रे काँधमा भिर्यो -- आफ्नो कालो चिल्लो लौरो दाहिने काखीमा च्याप्यो अनि दुवै हत्केलामा काठको टेक्ने समातेर त्यसैको सहाराले त्यो झुप्रोबाट निस्क्यो र उ गड्डोखानको उकालो लाग्यो ৷৷. कुकुर पनि उसको पछिपछि हिंडिरहेको थियो।