Biography


श्रभानुभक्तको संक्षिप्त जीवनचरित्र


अडंगरेज़ तथा नेपालीहरुको युद्ध हुनु भन्दा केही महिना अघी सन १८१४ अर्थात आषाढ २९ गते संवत १८७१ का दिन भानुभक्तको जन्म भयेको हो l पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रमघा ग्राममा नको जन्म यौटा संपन्न तथा संभ्रांत ब्राह्मण कुलमा भयेको थियो l त्यो अञ्चलमा श्रीकृष्ण आचार्य नामक एक जना ब्राह्मणले निकै ख्याति तथा मर्यादा प्राप्त गरेका थिये l इनका छ भाईछोरा थिये l ती मध्ये जेठा धनञ्जयका एक मात्र पुत्र भानुभक्त हुन l जयेष्ट पुत्र तिरको नाती भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका विशेष रुपले प्रियपात्र भयेको बुझिन्छ l
सरकारी जागीर खाई भानुभक्तका पिता खरदार भयेका थिये l यो कारणले तथा जेठो नाती भयेको हुनाले पनी होला भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका लालन - पालनमा हुर्के l इनको आरम्भिक शिक्षा पनी इनका बाजे श्रीकृष्ण आचार्य द्वारा नै भयेको थियो l संस्कृत साहित्य तथा व्याकरण सँगसँगै इनले ज्योतिष पनी पढेका थियो l पुराण भन्न सकने तथा चिनाचपेटा बनाउन जान्ने हुनु नै तिन ताकका ब्राह्मणकुमारहरुको शिक्षाको साधारण उद्देश्य थियो l भानुभक्तलाई पढेको कुरो छिटै आउँथ्यो तथा १२ वर्षका उमेरमा नै जन्मपत्रको तत्व इनी बुझने भै सकेका थिये l यो कारणले इनी मेधावी बालक थिये भन्ने अनुमान हुन्छ l
इनी २२ वर्षका हुँदा इनका जीवनमा यौटा यसतो प्रभाव पर्यो जसले गर्दा भानुभक्तका ह्रदयमा कविताको प्रेम उत्पन्न भयो l एक दिन वनमा इनी रुखका छहारीमा बसेका वेलामा यौटा घाँसी सित इनको भेट भयेछ l कुरा कहानी गर्दा त्यो घाँसीले आफ्नो अल्प कमाईबाट खाईलाई जगेरा गरेको पैसाले आफ्ना गाउँमा कुवा खनायेको कुरा गरेछ l यसो गर्दा धर्म पनी हुने तथा पछी सम्म फलानाले खनायेको इनार भनी आफ्नो नाउँ पनी चल्ने भनेर पनी उसले भनेछ l घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठुलो प्रभाव परेछ l म सँग सबै थोक पुगी सरी आयेको भये ता पनी मैले न धर्म गर्न सकेको छु न आफ्नो नाउँ नै चलाउन सकेको छु भनी ऊनी उद्धेग पूर्ण भयेछन l यही भावनाको परिणामस्वरूप उनले तत्काल दुइ वटा कविता लेखे l ति इनै हुन l

भर् जन्म घाँस तिर मन दिई धन कमायो l
नाम क्यै रहोस पछि भनेर कुवा खनायो l l
घाँसी दरिद्रि घरको तर बुद्धि कसतो l
मो भानुभक्त धनि भै कन आज यसतो l l १ l l
मेरा इनार न त सत्तल पाटि क्यै छन l
जे धन र चीज़हरु छन घर भित्र नै छन l l
तेस घाँसिले कसरि आज दियेछ अर्ति l
धिक्कार हो मकन बस्नु न राखि कीर्ति ll २ ll


अब भानुभक्तले काव्य-रचना गरी लोक- सेवा गर्ने निश्चय गरे l नेपाली भाषामा रामायण लेखने उनको विचार भयो l सन १८४१ तिर बालकाण्ड लेखी पनी सकियो l पहिलो झोंकमा यती काम भये पछी रामायण लेखने काम केही कालका निम्ती थन्कियेर बसेको बुझिन्छ l
सन १८४९ भा भानुभक्त पहिलो पटक नेपालको राजधानी काठमांडु वा कान्तिपुर आये l यौटा छिमेकी सँग जग्गाका विषयमा झगरा परेको हुनाले तेसैका सम्बन्धमा मुद्दा गर्न उनले काठमांडु आउनु परेको थियो l यो समयमा बालाज्युको वर्णन तथा कान्तिपुरको वर्णन भयेका भानुभक्तले लेखेका देशभक्तिपूर्ण कविता अध्यावधि अत्यंत प्रसिद्ध छन l काठमांडुमा निसाफ हुँदा भानुभक्तले झगरा जीते l यसका सँगसँगै दरबारमा पनी उनको प्रवेश भयो तथा उनले मुख्त्यार जंगबहादुरका भाई कृष्णबहादुरका ढोकाको आश्रय लिये l फलस्वरूप सन १८५० मा जागीर पाई उनी मदेस तीर आये l दुइ वर्ष जागीर खाई कागतपत्र बुझाउन न सक्ता उनलाई कुमारीचोकले थुंयो l झयालखानमा बस्ता उनको प्रथम प्रेम उनका हृदयमा फेरी प्रस्फुटित भयो र उनी झयालखानमा नै रामायण लेखन थाले l उनी ५ महिना थुना परेका थिये तथा यसै अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दरकाण्ड रामायणको रचना गरे l फेरी अर्को वर्ष युद्धकाण्ड तथा उत्तरकाण्ड काठमांडुमा नै लेखी रामायण समाप्त गरियो l यसरी नेपाली साहित्यको यो अद्वितीय ग्रन्थ ११ वर्षमा समाप्त भयो l
रामायण समाप्त भयेका केही पछी भानुभक्तले प्रश्नोत्तरी तथा भक्तमाला नामक आफ्ना प्रसिद्ध कविताहरु बनायेl भक्तमालाका प्रथम १५ शलोकको मात्र पाल्पामा गरियेको संस्कृत अनुवाद पाइयेको छ l पछिल्ला ७ शलोकको संस्कृत अनुवाद न गरियेका कुराबाट ती पछी रचना गरियेका कुराको अनुमान हुन्छ l यसको कारण मैले यो सम्बन्धमा सुनेको यौटा कुरा हुन सक्छ l आफ्नो नाता पर्ने कुनै यौटी महिला विधवा भयेका समयमा भानुभक्तले भक्तमालाका पछिल्ला ७ श्लोक लेखी भक्तमाला समेत उनलाई पाठ गर्न दियेका हुन भन्ने कुरा बाल्यावस्थामा मैले सुनेको हुँ l
सन १८४९ देखी पछी भानुभक्त बराबर काठमांडु आउनु तथा वहाँ निकै समय सम्म बस्न लागेका थिये l उनी पहाडिया बाट सदरिया भयेका थिये l काठमांडुमा अचेल जहाँ वीर अस्पताल छ तेही ठाउँमा उनको आफ्नो घर वा डेरा थियो भन्ने कुरा पनि सुनियेको छ l
एक चोटी सन १८६२ मा काठमांडू बाट तनहुँ जाँदा बाटामा तारापति उपाध्याय नामक आफ्ना मित्रका घरमा भानुभक्त बास बसे छन l राती त्यो घरमा सासुबुहारीको बाझाबाझ परेछ l त्यो सुनी उनी उठेछन् र सोही रात भरीमा ३३ श्लोक भयेको वधूशिक्षा नामक कविता भानुभक्तले लेखे छन तथा सो कविता उनीहरुलाई पढन दिये छन l
अध्यात्मरामायणका सातै काण्ड लेखियेका भये ता पनि अझ सम्म रामगीता लेखियेको थियेंन l सन १८६८ मा तनहुँमा आफ्ना घरमा मृत्यु हुनु भन्दा अघी रोग शय्यामा सुतेर उनले तेसको पनी रचना गरे l सुती सुती उनी कविता भन्थे औ उनका एकमात्र पुत्र रमानाथ सो लेखथे l भानुभक्तको निश्चित मृत्युतिथि अझ चाल पाइयेको छैन तर संवम १९२५ मा (सन १८६८) उनको मृत्यु भयेको हो भन्ने मोतीराम झट्टका कथनको पुष्टि उनको जन्मकुण्डली प्रकाशमा ल्याई निश्चित जन्मतिथि निर्णय गर्ने भानुभक्तका मित्र स्वर्गवासी सुब्बा धर्मदत्तका पुत्र स्वर्गवासी सुब्बा रङ्गनाथका भनाई बाट पनी भयेको छ l उनका रामायण तथा अरु कविताहरुका अध्ययन बाट हँसीला, रसीला, ख्याल, ठट्टा गर्ने बानी भयेका, हक्की, उच्च विचार भयेका, भानुभक्तको चित्र हामी देख्छौ l उनका देशभक्तिले हाम्रा हृदयमा ठुलो प्रभाव पार्छ l उनको परोपकार - बुद्धि, सबैको कल्याण होस्, सबै सप्रुन, तथा सबैको भलो होस् भन्ने विचार भयेको देख्दा ऊनी शांत प्रकृतिका, दयालु, तथा सबैलाई माया गर्ने बानी भयेका मनीस रहेछन् भन्ने हामीलाई अनुभव हुन्छ l भगवदभक्तिका विश्वास भयेका, मातृभाषाका प्रेमी तथा देशभक्त भानुभक्तले आफ्ना सेवा द्वारा हाम्रो जातीय विकासका निम्ती जो महान कार्य गरे तिनले गर्दा नेपाली जातिका निर्माता वीरहरु मध्ये उनले प्रमुख स्थान प्राप्त गरेका छन l
तल मोतीराम झट्टका मत अनुसार भानुभक्तका विविध कविताहरुका रचना भयेको समय लेखिन्छ l सन ग्रन्थहरु वा स्फुट कविता १८३६ -- प्रथम दुई कविता
१८४१ -- बालकाण्ड
१८४९ -- बालाजी तथा कान्तिपुरी सम्बन्धी कविता
१८५२ -- अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दरकाण्ड
१८५३ -- युद्धकाण्ड तथा उत्तरकाण्ड प्रश्नोत्तर तथा भक्तमाला
१८६२ -- वधूशिक्षा
१८६९ – रामगीताश्र