आइतबारे हाटको सिरेटोले ठूली र झुमालाई छोयो। एकछिनपछि डाँडापरतिर हाटबाट आएको अस्पष्ट गुनगुनाहट तिनीहरूको कानमा पर्यो औ डाँडाछेउ आएपछि हाटका मानिसहरू देखिन थाले। माथि धेरै टाढा पात्लेघारीका माझमा विशाल ढुङ्गाहरू सेतासेता देखिन्छन्। दुवैतिर गहिरो औ माझमा उठेको निकै लामो नागी छ। त्यसै डाँडामाथि बस्छ सारा गाउँको विशाल बजार। पूर्वपश्चिमउत्तरदक्षिण चारैतिरका बाटाहरू आएर त्यहीं मिलेका छन्। ठूलीचाहिं हाट पुगेर छेउमा भटमासको पसल फिँजाएर बसी। झुमा एकछिन डुलेर आउँछु है ठूली, म। भनेर एकातिर लागी। दसैंको छेउको बजार, जे चीजको दाम पनि दुगुना पुगेको छ। आठ आना हातको लुगा बाह्र आना घटी छुनै दिँदैन। झुमाले धेरै पसल चहारी। रकमरकमका कपडा, सारीहरू बेच्न ल्याएका छन्, तर मोल असाध्य चर्को छ। साधारण लाउन हुनेसम्म, दसहाते सारीलाई कम्पनी हात तलको कुरो गर्नै पर्दैन। झुमाले बल्लतल्ल एउटा रातो बुट्टा भएको साधारण गुन्यू आठ रुपियाँमा लिई। पसलेको हातबाट झुमाले गुन्यू समातेर अगि पाइला सार्न मात्र आँटेकी थिई, उसका आँखा कुनै परिचित आँखासित मेल खान पुगे। हर्ष र लाजले एकैचोटि उसको हृदयमा गोता खान थाल्यो। उसले देखी, सामुन्ने रिकुटे, उसलाई निहारेर हेरिरहेको छ। उसको हृदयको गति तेज भयो। हृदयमा लाजको अस्पष्ट भावहरू उम्रन थाले। अगि बढ्नलाई उसका पाइला सरेनन्, पछि फर्केर भाग्न उसलाई साहस भएन, ऊ जडवत् उभिइरही। यत्तिकैमा रिकुटेले दुई पाइला अगि सारेर सोध्यो -- चिन्नुभएन कि क्या हो? बल्ल झुमाको हृदयमा केही साहसको सञ्चार भयो। उसले मुन्टो अलि माथि उठाएर छोटो उत्तर दिई, चिनें, किन नचिन्नु? आरामै छ? रिकुटेको दोस्रो प्रश्न थियो। झुमा निकैबेर अकमकाई। सायद, प्रश्न राम्री बुझ्न सकिन, तर केहीबेरपछि उसले त्यसै भनी, अँ रिकुटेले केहीबेरपछि भन्यो, सायद बजार गर्न आउनुभो होला? लेकिन बजारमा त भनेजस्तो जिनिस कुछ पनि रहेनछ। झुमाको लाजको पर्दा अब राम्रै हटिसकेको थियो। उसले पूर्ण साहसको सञ्चार गरिसकेकी थिई। रिकुटेतिर हेर्दै भनी, रिकुटमा जस्तो खोज्नुभो होला, यहाँ कहाँ हुन्थ्यो त त्यस्तो? मुगलानमा त झिलिमिली तमासै हुन्छ भन्छन्। ए, उताको के बयान गरम्। रिकुटेले गोजीबाट रुमाल झिकेर मुख पुछ्तै भन्यो -- झलमल बिजुलीबत्तीले रातैमा घाम लागेजस्तो हुन्छ। दोकान पनि यस्तो पाखामा काँ हुन्छ र जता हेर्यो उतै बजार। ठूलठूला पक्की सडकमा मटर, ट्राम, रेक्सा दगुरिराखेका हुन्छन्। एक कदम हिँड्न पर्दैन, रिक्साले कुदाइहाल्छ। उहाँको त्यस्तो, यहाँको चालखबर बुझेर त म त, दिक्दार लाग्यो। रिकुटेका कुराले झुमालाई ठूलो आश्चर्यमा पार्यो। उसका धेरैजसो कुरा त उसले बुझ्न पनि सकिन। कहिल्यै आफ्नो गाउँघर छाडेर कतै नहिंडेकी अबोध बालिकाको सानो मगजले कल्पना गर्ने चेष्टा गर्यो। कस्तो होला, मुगलान? ऊ निकैबेर घोरिइरही। यत्तिकैमा रिकुटेले भन्यो, उः त्यो गहिरामा गएर बात गरम् न, यहाँ त बजारको हल्लाले कान खाइसक्यो। झुमाले केही आपत्ति गरिन। ती दुई बजारबाट अलि पर गहिरातिर लागे। हाटको कोलाहल तिनका कानबाट टाढा हुँदै गयो। दुवै एक कुनाको चउरमा गएर बसे। एकछिनसम्म कसैले केही कुराको आरम्भ गरेन। आफ्नै छेउमा झुमालाई पाएर रिकुटेको मन उडिरहेको थियो। ऊ एकटक झुमाको रूपलावण्यमाथि गौर गरिरहेको थियो। त्यसरी आफूलाई एकोहोरो रिकुटेले हेरेको देखेर झुमालाई फेरि स्वाभाविक लाजले समात्यो। त्यो मौनता उसको निम्ति असाध्य भयो र उसैले कुराको प्रारम्भ गरी, तपाईँ मुगलान कहिले फर्कने? रिकुटेको ध्यान भङ्ग भयो, उसले सुस्त उत्तर दियो, के जानी दुईचार मैना बसिन्छ होला, छुट्टी पनि छ। फेरि निकैबेर दुवैको माझमा मौनता छाइरह्यो। रिकुटेले केही भन्न चाहन्थ्यो, तर ऊ विचार गर्न थाल्यो, भन्न उचित छ या छैन। एकछिनपछि केही साहस बटुलेर भन्यो, तपाईँको विवाह भइसक्यो? प्रश्नले झुमाको सम्पूर्ण मुखमण्डल लाल भएर उठ्यो। उसले अर्कैतिर मुख फर्काई, भुइँतिर हेर्दै सानो स्वरले उत्तर दिई, मेरो सिन्दूरपोते छैनन्, देख्नुहुन्न? रिकुटेलाई सङ्कोच भो, केही हँसिलो मुख पारेर भन्यो, ओ मैले त ख्यालै गरेनछु। केहीछिनपछि रिकुटेले फेरि भन्यो, एउटा कुरा भनुम्भनुम् लागेको छ, नाराज हुनुहुन्छ कि? झुमाले रिकुटेलाई भनी, के नाराज? तपाईँका त कुरै बुझिन्नन्। रिकुटेले केही हाँस्तै भन्यो, ए, रिसाउनुहुन्छ कि भनेको? किन रिसाउनु, भन्नोस् न तर आफूभन्दा सानालाई हाम्रो गाउँघरमा त तपाईँ भन्ने चलन छैन। तपाईँले तपाईँ भन्दा त मलाई कस्तोकस्तो लाग्छ। के भन्नु त? तिमी भन्नु क्या त, म तपाईँभन्दा उमेरमा सानी नै हुँ। ओ अच्छा, अबदेखि तिमी नै भनुम्ला। केहीछिन वार्तालाप बन्द भो। झुमाले कुरा उठाई, के भन्न खोज्नुहुन्थ्यो नि, भन्नुभएन त? खोइ, भनुम्नभनुम् विचार गर्दैछु। फेरि एकछिनपछि भन्यो, झुमा तिमीलाई देखेबाट मैले फेरि भुल्न सकेको छुइनँ, कति बाजि सपनामा पनि देखिसकें। के तिमी मुगलान जान्छ्यौ? झुमाले अरू कुरामा उति ध्यान दिइन, अन्तिम कुरा मुगलान जान्छ्यौ? ले उसलाई निकै असर गर्यो। सुनौला मुगलानको कल्पनामा ऊ मग्न भई। तर एकैछिनपछि उसलाई आफ्नो अवस्था, स्थान, कालको बोध भयो। आफ्नो घरको दरिद्रताको चित्र उसको आँखामा नाच्न थाल्यो। उसले उदास भावले भनी, कल्ले जान दिने मलाई मुगलान? म मोरीको त्यति ठूलो भाग्य काँ छ र। रिकुटेको हृदयमा केही आशा सञ्चार भो, भन्यो, ए, त्यसको बन्दोबस्त भैहाल्छ नि तिमीले मन मात्रै लाउनुपर्छ। यत्तिकैमा बजारमा सारोसारो कराएको शब्दले तिनीहरूको ध्यान भङ्ग भयो। दुवै उठेर बजारतिर लागे। दुई जना व्यक्ति रक्सी खाएर बाझ्न थालेका रहेछन्। त्यसैमा मानिसको भीड जमेको थियो। रिकुटेले एउटा राम्रो मजेत्रो किनेर त्यसैमा काँगियोधागाहरू बाँध्यो र झुमाको हातमा दियो। झुमाले लिन धेरै आपत्ति जनाई, तर रिकुटेको ढिपीले ऊ लिन बाध्य भई। रिकुटेले छुट्टिने बेलामा सोध्यो, फेरि कैले भेट होला? रोटेपिङ खेल्न दसैंमा आउनुहुन्न र? तपाईंका गाउँका सबै आउँछन्। तीं भेट भइहाल्छ नि झुमाले भनी। हुन्छ। रिकुटेले भन्यो। मोटे कार्की खसी बेचिसकेर त्यतै आइरहेथ्यो। झुमालाई एउटा बिरानो रिकुटेसित कुरा गर्दै गरेको देखेर उसलाई कौतूहल भयो, तर केही नभनी ऊ एकातिर लाग्यो, झुमा रिकुटेसित छुट्टिएर ठूली भएठाउँ आइपुगी।