दुईतिर खोल्सा, माझमा उठेको उच्च डाँडो, दुवै खोल्सामा माथिबाट मूल फुटेर आएको पानीको कुलुलुलु शब्द सुनिन्छ। यिनै खोल्सा तल बेंसीका खेतहरूका जीवनदाता हुन्। डाँडादेखि सीधै तीन फर्लाङ पर मौला र निशानाको पूजा हुन्छ। मौलामा अष्टमीको दिन राँगाको महाबलि हुन्छ। डाँडाका छेउछाउ एकदुईवटा उत्तिसका रूखहरू र साधारण उनिउँ, तीतेपाती, झारबुटाहरू छन्, माझमा बनेको छ रोटेपिङ, जो वरतिरपरतिरका तीनचार गाउँहरूको साझे पिङ हो। पूर्णिमाको जून घामजस्तै लागिरहेको छ, खालि तापको मात्र कमी छ। पारि डाँडामा सेतो कमेरो दलिएका घरहरू टङ्कारै देखिन्छन्। पिङको साथै होहल्ला पनि उत्तिकै मच्चिएको छ -- हाउ कान्छा, तँ आइज न हो मच्चाउन ए जेठी, ओर्ली त, तँ त धेरै फन्को पो घुमिसकिस् त आज त्यो मुन्टिन्छे होली कता, हेर कामेकी त्यस्तै प्रसङ्गमा व्यस्त छन् सबै। तर झुमा र रिकुटे यस बेला त्यो कोलाहलबाट पर एउटा उत्तिसको बुटामुनि बसी पूर्ण चन्द्रमाको सौन्दर्यको लाभ उठाइरहेका छन्। दुवै मग्न छन्, आफ्नै वार्तालापमा। आज दुईतीन दिनदेखि यस ठाउँमा यो वार्तालाप अविराम गतिले चलिरहेको छ यी दुईको माझमा। तर ৷৷. दुवै अहिलेसम्म सीमामा बद्ध छन्। आफ्नो मनोभाव पूर्ण रूपले प्रकट गर्न सकेका छैनन्। झुमालाई लाजले भन्दा भयले ज्यादा छोएको छ। ग्लानि, लाञ्छना, कलङ्क, आफ्ना दाज्यूको डर इत्यादि कुराको त्रासले ऊ बाध्य छ, आफ्नो मनोभाव मनैमा पोको पार्न। फेरि ऊ एउटी ग्रामीण अबला, उसलाई स्वच्छन्दताले प्रेम प्रकट गर्ने अधिकार नै के? उसका अभिभावकले जसको पछ्यौराले जसलाई बाँधिदिन्छन्, उसैका गोडा मिचेर बस्नु नै उसको परम धर्म हो। तर रिकुटे, ऊ किन सङ्कोच मान्छ? केही भन्नुभन्दा अगि उसका ओठ किन काँप्छन्? हृदयमा उम्लिरहेको प्रेम आफ्नी प्रेयसीको सामु प्रकट गर्न के त्यति कष्टप्रद हुन्छ र? शरद् ऋतुले चन्द्रमालाई त्यसरी बेपर्दा हाँसेको देख्न सकेन। बादलको पातलो च्यादरले मुखैसम्म ढाकिने गरी ओढायो। पारिका घरहरू सेतासेता धर्काजस्ता देखिन थाले। रिकुटेले भएभरको साहसको सञ्चार गर्यो, अनि झुमाको हात बिस्तारै समात्यो। यो उसको झुमाप्रति प्रथम स्पर्श थियो। झुमा झस्की, सशङ्क नेत्रले रिकुटेतिर हेरी, तर रिकुटे आफ्नै भावमा पौडी खेलिरहेको थियो। झुमाको भाव विचार्ने उसलाई अवकाश भएन। ऊ बिस्तारै झुमाको छेउमै सर्यो। झुमा उसले चाल नपाउने गरी केही पछि सरी। रिकुटेले थथर्किंदो स्वरले भन्यो, झुमा, मसित बिहे गछर्यौ? प्रश्न मुखबाट निस्कियो, तर उसलाई स्वयम् थाहा थिएन ऊ के भनिरहेछ। ऊ अर्कै भावमा गोता खाइरहेथ्यो। प्रश्नका साथै झुमाले अर्कोतिर मुन्टो फर्काई र अझ केही पर सरी। बिस्तारै रिकुटेको हातबाट उसले आफ्नो हात छुटाई। उसको मुखमा त्रासको प्रत्यक्ष भाव झल्कन्थ्यो, जसमा आतङ्क र भय मिश्रित थिए। रिकुटेको प्रश्नमा ऊ भयभीत भई, त्यो कुरा होइन। तर प्रश्नमा उसले किन हो कुन्िन निर्मल झर्नाको पानीको साटो मैलो खोलाको धमिलो पानी देखी। अहिलेको परिस्थितिबाट ऊ मानौं छुट्कारा पाउन चाहन्थी। ऊ उठी र रिकुटेतिर हेर्दै गम्भीर शब्दमा भनी, मैले भनेर के र, दाज्यूलाई भेटेर कुरा गर्नू नि रिकुटे झुमाको बदलिएको भाव र प्रश्नको उत्तरले विस्मित भयो। तर झट्टै नै परिस्थितिलाई समाल्दै भन्यो, किन, तिमी रिसायौ कि कसो? किन रिसाउँथें, रात निकै गयो, साथी हिंड्नलाई तर्खर गर्दैछन्, अब जान्छु। रिकुटेले केही आपत्ति गरेन, ऊ पनि उठ्यो र भोलि आउने कुरा झुमालाई सम्झाई ऊसित बिदा भएर एक्लै घरतिर लाग्यो। झुमा आएर आफ्नो बगालसित मिसिई। उनीहरूको तलतल अझ समाप्त भएको थिएन। आफ्नो धुनमा मस्त थिए सबै। पिङको लीला समाप्त गरेर उकालो लाग्दा रातको दोस्रो प्रहर व्यतीत भइरहेको थियो। झुमाको पछि कार्की थियो, झुमाको छेउमा आएर भन्यो, कान्छी होइन, तिमी त एकपल्ट पनि चढेको देखिनँ मैले आज त? आ ৷৷. को मच्चिरहोस् बित्थामा। म त उही साथीको रहरले मात्र आउँछु। डर लाग्छ कि क्या हो? डर त केको डर बित्थामा, त्यसै चढ्न रहरै लाग्दैन मलाई त। कान्छी होइन तिमीसित बात मार्ने त्यो कुन रिकुटे हो? अस्तिबाट बात मारेको देख्छु म। कार्कीले बिस्तारै वेदना र निराशामिश्रित स्वरमा भन्यो। प्रश्नले झुमा एकपल्ट झस्की। उसलाई कार्कीमाथि रिस उठ्यो। असह्य भएर उसले भनी -- होइन, तिमी त खालि म कोसित कुरा गर्छु, त्यत्ति हेर्न आउँछौ कि क्या हो? बात मार्दैमा के जात जाइहाल्छ र? कार्कीले विनम्रै स्वरमा भन्यो, किन त्यसरी रिसाकी, मैले बात मार्न हुन्न भनें र? को मान्छे हो पो भनें त कार्कीको नम्रताले झुमालाई आफ्नो रूखाइमाथि आफैं लाज लाग्यो। त्यति साह्रो कडा शब्द उसले कार्कीलाई जीवनमा यो प्रथमपालि प्रयोग गरेकी थिई, लाजले भुतुक्क हुँदै भनी -- तीं लिम्बूगाउँमा बस्छ अरे, रिकुटबाट आउँदा हाम्रै घर बास बसेको थियो। साह्रै धेरै लसपस नगर है, यी रिकुटे मोराहरूको त कत्ति भर हुन्न पो रोक्तारोक्तै पनि कार्कीको मुखबाट शब्द फुटेर निस्किहाल्यो। छिः कस्तो शङ्का गरेको कार्की दाज्यूले त्यो त्यस्तो खालको रिकुटे होइन, देउताजस्तो पो छ मान्छे भए पनि, नपत्याए भोलि बातचित मारेर बुझ्नु नि झुमाले निःसङ्कोचसित भनी। झुमाको विश्वासमाथि कार्की मनमनै कुँडियो, तर केही भनेन।