कोठेबारीको एक छेउमा बालेको आगोको छेउमा बसी धने कुन्िन के सोचिरहेथ्यो। ओसिएको ढोडले रुमल्लिएको धूवाँ खप्न नसकी छेउमा बसेको उसको छोरो रोएकोले उसको ध्यान भङ्ग भयो। के भो नानीलाई, धूवाँ भो लाखे है त यो मोरो धूवाँलाई खेदाम्। धने छेउको गट्टे (भटमासको खोस्टा) हालेर आगो फुक्न थाल्यो। आगो एकपल्ट दन्केर उठ्यो। धनेले छोरालाई अलि पर सार्यो। धनेले एकछिन छोराको भोटोमा गौर गरेर हेर्यो, जो कुमकुममा दुवैपट्टि फाटेको थियो। अहिलेसम्म उसको त्यतापट्टि ध्यान गएको थिएन। उसलाई मैनाप्रति रिस उठ्यो, किन, अहिलेसम्म छोराको भोटोको कुरा भनिन? त्यति दुई ठाउँमा फाटेको आफैं टालिदिन पनि सक्थी उसले। त्यो पनि एकदम लठेब्री छ। आफूसित भएको एउटा कम्पनीको दुई हात खाँडी किनेर आजै छोरोको निम्ति भोटो सिलाउन लाउने निश्चय गर्यो मैना भुटेको मकै, भटमास र तोरीको साग बाटीमा लिएर धनेको छेउ आई र बाटी उसका अगाडि राखिदिई। यो सिरेठोमा बालकको भोटोको यो गति छ, यसो भोटो फाट्यो भनेर सम्झाउन त पर्छ धनेले मुन्टो मैनापट्टि उठायो। देख्यो, बालकको भन्दा मैनाको चोलोको अवस्था नराम्रो छ। मैना र धनेका आँखा जुधे। दुःखीले दुखियाको भाव बुझ्यो औ दुखियाले दुःखीको। मैनाले हँसिलो मुख पारेर भनी, म अहिल्यै टालिदिन्छु। आ बाबु, भित्र जाऊँ। ऊ छोरोलाई लिएर भित्रतिर लागी। धने मकैको दाना हातमा लिएर गन्न थाल्यो मानौं मुखभित्र हाल्न उसलाई गाह्रो लागिरहेछ, जसरी माघमा गङ्गाको स्नान गर्न जाने व्यक्ति गङ्गाको तीरमा पुगेर पानीमा पस्न गाह्रो मान्छ। धने पैलोपालि मुठ्याएको मकै लिई झोक्रिरहेको थियो, पछिल्तिरबाट मोटे कार्की खोक्तै आइपुग्यो। डढौला है दाज्यू हाउ आगोको छेउमा बसेर उङ्दैछौ कि क्या हो? भन्दै कार्की छेउमा आएर बस्यो। धनेले मुन्टो उठाएर कार्कीतिर हेर्दै भन्यो, कता हिंडिस् हाउ बिहानै, अहिलेबाट आँखा देख्न छाडिस् कि क्या हो? टोपी पनि बिब्ल्याँटो पो ला छस् त हँ, बिब्ल्याँटो भएछ? यो मोरो लुगै उस्तै छ, हाउ, बिब्ल्याँटोसिब्ल्याँटो ठ्याप्पै एकै देखिन्छ। कार्कीले टोपी सुल्टो पारेर लाउँदै भन्यो। लु, हाउ मकै खाऊँ, मलाई सक्न बल परिराको थियो, तँ आइपुगिस्, जाती नै भो। धनेले बाटी कार्कीतिर सार्यो। हँ, मकै सघाउन आएजस्तो भो त, कसले, भाउज्यूले भुटेको त होला नि? कार्कीले आगोमा गट्टे हालेर सेक्तै भन्यो। उसैले भुटेका त हुन् त, अरू को गाउँको आएर भुटिदिन्छ र? हो, त्यसो भा त खान्छु हाउ, भाउज्यूका हात औधी मीठा छन्। कार्कीले बाटीबाट मकै झिकेर टोक्तै भन्यो। एकछिन चुपचाप दुवै मकै खान थाले। भन, अचेल के चाल छ त? एकछिनपछि कार्कीले सोध्यो। खोइ के हुन्थ्यो र हाउ जेठा धनेले लामो सास तान्दै भन्यो, मेरो त हलका गोरु पनि साहूले लगिहाले। पोहोर बित्थामा बैदारको पड्के तेसीमा भोटेका तिहुन ल्याउने भएर छँदाखाँदाका गोरु पनि मासिए। यसपाला त अलिअलि भएको खेतबारी पनि बाँझै रहने भो। अर्काको मागेको भरले कति निर्वाह हुन्छ खोइ? बजियाले हलका गोरुसम्म राखेन राख्न पनि, राम्रैको साइँदुवा हुन् हाउ हुन पनि बैदार त। जे भोभो, अब एक हल गोरु किन्नू नि हाउ रिनसिन काढेर पनि। कल्ले रिन पत्याउँछ खोइ? अगि त गोरु थिए र यसो डिकसिक राख्दा रिन दिन्थे, अब त यही घरबारी डिक राखे मात्र त हो नि फेरि लिएर पो केले तिर्नु, र ख्वै आफ्ना खेतबारीले भात खान राम्रो पुग्दैन ब्याज केले तिर्नु, साउँ केले तिर्नु, कूतसूतमा खेत पाए पनि गर्नु हुन्थ्यो। ढकालेहरू मलाई देखिसहन्नन्, कल्ले दिन्छ र कूतमा खेत खोइ? ए, तिमीले कूतको कुरा गर्दा पो अहिले सम्झें, साँच्ची लुइँटेलले खेत छोड्ने रे नि हाउ नन्देको यो साल छाड्छ के, त्यो खेत निकै मज्जाको पो छ ए, कूत पनि थोरै। छाड्छ रे, के नछाडोस् हाउ उसको आफ्नै स्याहार्न भ्याउँदैन ऊ। पोहोर त लोभले बाटो नपाएर पो त कूतको समेत सोहर्न पुगेको। धान पनि त राम्रो तुल्याउन सकेन नि खोइ छाडे पनि के लाग्यो र गोरुको तह नपरुन्जेल, फेरि नन्देले पो किन देला र मलाई? ए, नन्देलाई तिमीले चिनेकै रहेनछौ, उसको मन पर्यो भने गोरु किन्ने पैसासमेत फ्याँकिदिन बेर लाउँदैन। के दिन्थ्यो, बरु तँसँग छन् भने काम सारिदे हाउ जेठा। घरबारी नै लेखिदिउँला नि के? छिः कस्तो नपत्याएको हाउ दाज्यू भए तिम्रो दुर्दशा म हेरिरहन्थें के? मेरो त जानेकै छौ, एकपल्ट दिएपछि पैसा घुमेर हातमा आउला भन्नु पर्दैन। सबै पैसा बाहिरै छन् के। त्यसो भा नन्देसँग कुरा गरिदेन त। तैंले भन्दा पत्याउँछ नि जे भा पनि। उसको खेत पनि कूतमा गर्नुपर्यो, गोरु किन्ने पैसा हालिदेओस्। नन्देलाई त त्यस्तै हो, बूढीसँग म कुरा गरौंला, बूढीले हम्मेसि मेरो कुरा काट्दिनन्। नन्देलाई भनिदिन् भने बूढीको कुरा नन्देले नाईं भन्दैन। लौ जेठा, त्यति जसरी पनि गरिदे। नभा यी केटाकेटीको बिजोग हुने भयो ठाकुरे। आ ৷৷. तिमी धन्दा नमान, ढकाल्नी बूढीलाई म जसरी पनि मनाम्ला र भएन? तिमी वैशाख लाग्दै बीउ राख्न बेंसी झर्ने चाँजो मात्र मिलाऊ न, गोऊ र खेत दिलाउने मेरो जिम्मा भो। कार्की उठ्यो र आङ तान्दै भन्यो, लु, म हिँडें, ढकाल्नीसित भेटेर म फेरि आउँला। लौ त हुन्छ, म पनि त्याँ बाखालाई टाटनी बनाइदिनुपर्यो एउटा, पाती काटेर हालिदियो ती खाइरहन्छन्, छाडिदिऊँ भने गोठालो कोही छैन। धने तल्तिर झर्यो। कार्कीचाहिं भाउज्यू, के मेलो छ? भन्दै धनेको घरभित्र पस्यो।