मास्तिर एक छेउदेखि अर्को छेउसम्म वारपार ठूलो पर्वतमाला फैलिएको छ। पर्वतको फेदीमा परैसम्म फैलिएको ठूलो समतल भूमि छ। पर्वतको छेउछेउमा भएका सानातिना कटेराहरूबाट निस्केको प्रकाश जूनकीरीझैं धिपधिप देखिन्छन्। पर्वतको बायाँ कुनामा भएका सानातिना ढिस्काहरूबाट बाबियो र बिलाउनेका हाँगाहरू नुहेर मानौं तल फेदीवासीहरूको स्वागत गरिरहेका छन्। तिनै ढिस्काछेउमा ठुलो टाहार छ जसमा सिरु र खर डम्म छ। माझमाझमा एकदुईवटा सल्ला, भोर्ला र चिलाउनेका ठूलाठूला रूखहरू छन्। हिउँदमा माथि लेकबाट खेत मल्न ल्याएका बस्तुहरूको चरन यही टाहार नै हो। यही टाहारको एक छेउमा सिरु फाँडेर प्रायः आधाआधा फर्लाङको फरक गरी बनाइएका चारवटा कटेराहरू निस्तब्ध खडा छन्। यी कटेराहरूबाट पारिका खेतहरूको पानी जूनको टहकले यस बेला सेता ढुङ्गाजस्ता देखिन्छन्। ती कटेराहरूमध्ये तीनवटाचाहिं पाती र स्याउलाको बार र चित्राको छानो भएका छन्। वैशाखलाग्दो बीउ राख्ने बेलामा खेतीवालहरू चित्रा, बाटा, भाटा आदि लिएर बेंसी झर्दछन् औ नजिकैको वनका स्याउला, पाती, घोचा र बाबियो काटी खेत रोप्ता बस्ने कटेरा बनाउन थाल्छन्। ती कटेराहरू मङ्सिरलाग्दो दाइँ गरिसकेपछि धान ओसार्न थाल्दा भत्काइन्छन् औ खेतीवालहरू आफ्नाआफ्ना चित्रा बोकेर घर फर्कन्छन्। एउटाचाहिं कटेरो स्थायी रूपले बनाइएको, भित्ता काठका फल्याकले बारिएको, छानो खरको र अन्य तीनवटाभन्दा लामो पनि छ। कटेराको भित्री भाग तीनवटा सानासाना कोठाहरूमा विभक्त छ। एउटा छेउको कोठा भान्साघरको काममा ल्याइन्छ। एक छेउमा चुलो छ, स्वाभाविक चाहिने काँस र पित्तलका भाँडाकुँडाहरूबाहेक एउटा निकै ठूलो तामाको गाग्री र एउटा चाँदीको थाल छ। एकापट्टि कुनामा दहीका बाह्रमाने र पन्ध्रमाने दुईवटा ठेकाहरू छन्। एउटा ठूलो हर्पे र मदानी पनि ठेकाहरूको छेउमै राखिएका छन्, माझको कोठाको माझमा अँगेनो छ औ वरिपरि तीनतिर सुत्नानिम्ति माटाको ढिस्को उठाएर बनाएका ओछ्यान छन्। तिनमा एकएकवटा गुन्द्री ओछ्याइएका छन्। खेतालाहरू तिनमा सुत्दछन्। अर्को छेउको कोठो नन्दे ढकाल साहू या उसका जहानछोराहरू खेत हेर्न आउँदा सुत्ने काममा ल्याइन्छ। कोठामा दुईवटा चाङ छन्। कटेराकै छेउमा चित्राको छहारी र चित्रैको दुईतिर बार, एकापट्टि बारीको कान्लाको आड र एकापट्टि खुला भएको लामो गोठ छ। साहूका निम्ति दूध खाने एउटा भैंसी र एक हल जोत्ने गोरु औ साहूको घोडा त्यसमा बाँधिन्छन्। जेठको माझामाझ, जुनेली रात, आकाशमा हल्का बादल भएकोले चन्द्रमाको प्रकाश केही मलिन छ। यस्तैमा छेउको कटेराको पातीको दैलो उघ्र्यो औ साथै एक गुब्बा धूवाँ बाहिर निस्केर हावासित बेपत्ता भयो। त्यसपछि एउटा हातमा छोटो दुईहाते लहुरो र अर्को हातमा भोर्लाको पातमा बेरेको सुर्तीको ठुटो लिएर धने बस्नेत निस्कियो र खोक्तै एकातिर लाग्यो।