लुइँटेलले खेत छाडेकोले नन्दे ढकाल मनमनै निकै कुँडिएको थियो। अचेल कूतमा खेत रोप्न प्रायः कोही मान्दैनन्। कोही निस्किहालेछ भने पनि गोरु र खाने खुराकसमेत नभएको बुङ्गो मात्र देखा पर्थ्यो। अहिलेसम्म नन्दे साहूकहाँ त्यस्तै पनि कोही खेत माग्न आएको थिएन। साहूलाई डर थियो, कतै खेत बाँझै नरहोस् बाँझै राख्नुपर्यो भने लुइँटेलले हाँस्ने मौका पाउँछ। मैले छाडिदिएको, को आउँथ्यो नन्देको खेत रोप्न, हेर बाँझै कक्रक्क परिरहेछ भनेर खिल्ली उडाउनेछ। लुइँटेलको मेख मार्न बरु गोरु किनिदिनुपरे पनि नन्दे खेत दिन राजी थियो। एक दिन नन्दे लुइँटेलप्रतिको रिस आफ्नी स्वास्नीछेउ पोखिरहेको थियो -- बजियालाई जाउलो नपचेर खेत छाडेको हो। बजियाले रोप्छु भन्यो र अर्काले रोप्तारोप्तैको खेत छुटाएर दिएँदिएँ त, बजिया एक वर्ष गरेर अहिले त छाड्छ पो ए मात्तिएको बजिया लुइँटेलको स्तुति अझ गाइने थियो होला, तर दैलोमा कार्की देखा पर्यो। कार्की भित्र पसेर बसेपछि एकछिनसम्म यताउताका कुरा भए। एकछिनपछि बूढो टाँडतिर लाग्यो। कार्कीले बूढीसित नम्र भएर चिप्लो लाउँदै धनेलाई खेत दिने विषयमा कुरा चलायो। बूढीले कार्कीलाई एकछिन पर्ख न भनेर टाँडमाथि गएर नन्देसित कुरा गरी र एकैछिनपछि लिस्नोबाट तल ओलँदै कार्कीसित भनी, धनेलाई लिएर आऊ। एकछिनपछि कार्की र धने नन्देको सामु देखिए। नन्देले धनेलाई खेत दिने भयो, साथै गोरु किन्न र घरखर्च चलाउन रुपियाँसमेत धनेको खेत र बारी डिक राखेर दिन राजी भयो। यस सालदेखि खेत रोप्ने पक्का गरी तमसुकमा सही गर्नको पश्चात् हर्ष र बिस्मातको समुद्रमा पौडी खेल्दै धने नन्देसित बिदा भएर कार्कीसित बाहिर निस्क्यो। खेत र रुपियाँ पाएकोमा उसलाई हर्ष थियो औ खेतबारीसमेत साहूकहाँ बन्धक राख्नपरेकोमा बिस्मात। खेत लिएबाट धनेले पनि अरूले झैं बेंसीमै कटेरो बनाई बीउ राखेबाट ऊ प्रायः बेंसीमै बस्छ। भोलिपल्ट, उसको खेत रोप्न थाल्ने विचार छ। तसर्थ आजको रात उसका आँखामा नीद छैन। भोलि घरबाट मैना र झुमा पनि खेत रोप्न आउँछन्। आज रातभरि खेत राम्ररी नभिजाए रोपाइँ हुँदैन। त्यत्रोबिघ्न खेतका जम्मा दोटा कुला छन्, माथि लेखबाट बगेर आएका। सबैको खेत रोप्ने धमाधम छ, खेतमा पानी एकछिन लाग्न दिंदैनन्, अर्को आए मारिहाल्छ। कुलोमा सधैं लडाइँ पर्छ। आज धनेको खेतमा पानी लाउने पालो हो, तर कुलो नरुँगे अर्को आएर फाइदा उठाइहाल्छ। तसर्थ धने बराबर कुलो हेर्न पुग्छ। अलि अगि हेरेर आएको थियो, एकछिन कटेरामा आराम गरेर अहिले फेरि निस्किरहेछ। उसलाई डर छ, आज कसैले कुलो मारिदियो भने भोलि हिलो सुक्छ, अनि भोलि खेत रोपाइँ हुँदैन। अनि भोलि नरोपे पानी लाउने उसको पालो एक हप्तापछि मात्र पर्छ।