धने परैबाट आफ्नो खेततिर आउने कुलाको कुलुलु शब्द सुन्ने आशामा तल्लीन हुँदै अगि बढिरहेको थियो, तर उसलाई आश्चर्य भइरहेथ्यो, खेतको सिमानामा पुग्दा पनि कुलाको केही शब्द सुनिएन। कुलाको छेउमा पुगेर ऊ टक्क अडियो, कुलामा पानी थिएन। खेतका दोटा गरा भरिएर एउटा गरा अलिकता भिजेको मात्र थियो, पानी कसले मार्यो? धने कुलाको छेउछेउ अगि बढ्यो। अलि परबाट नन्दे साहूको खेततिर जाने कुलाको हाँगा फाटेको थियो। धनेले देख्यो, उसको खेततिर जाने पानी बन्द गरेर साहूको खेततिर फर्काइएको छ। धनेले यताउति राम्ररी हेर्यो। जूनको हलुको टहकमा उसले देख्यो -- अलि पर एउटा घम्लङ्ग खास्टो ओढेको व्यक्ति टुक्रुक्क बसेर उङिरहेको छ। पछिल्तिरबाट चाल मारेर धने त्यस व्यक्तिको छेउमा पुग्दा पनि उसले चाल पाएन। धनेले राम्ररी हेर्यो ऊ साहूको हली साने घर्ती थियो। धनेले बिस्तारै खास्टो
तान्दा ऊ तर्सेर जुरुक्क उठ्यो, देख्यो -- पछिल्तिर धने उभिरहेको छ। भोलि मेरो रोपाइँ भनेर जानाजानी पनि के भनेर पानी मारिस् ए तैंले? धनेले अलि हप्काएको स्वरमा भन्यो। त्यो मूला सिमखेतमा पनि केको पानी चाहिन्छ हाउ बित्थामा? उहाँ साहूको खेत रोपेबाट खेत रोप्न पाएको छैन साने घर्तीले उत्तरमा भन्यो। सिमखेतमा केको पानी चाहिन्छ? तँ बजियालाई थाहा थिएन -- आज मेरो पालो हो भनेर? आफ्नो पालोमा आएर रातभरि लाउँदो होस्। केको पालो र पैंचो, साहूको खेत, साहूको कुलो। साहूको खेत भरिएपछि बल्ल अरूको पालो। कूत बुझाउने बेलामा, तँ बजिया गएर बोलिदिन्छस् यसरी नै? साहूको गाँसे भएर अझ बढेर पो कुरा गर्छ ए, बजिया त गाँसे र सासे नभन, तिम्रो आर्जन खाइदिएको छैन, तिम्रा खटनमा हिंड्ने देख्यौ मलाई? कान्छा साहूको खटनले आको पानी लाउन। भतुवालाई भतुवा नभनेर के भन्ने भन्छस्? हेरौंला न त तेरा कान्छा साहूले कुता लिएको यसपाला खेत नमिलुन्जेल लुरुक्क परेर कुकुरले पुच्छर हल्लाउँदाझैं साहूका अगाडि मुन्टो हल्लायौ। खेत पनि दिनु, गोरु पनि किनिदिनु, अझ उही साहूको छोरामाथि ध्वाँसो देखाउँछौ? खेतखेत खोसिएलान् मात्रै, धेरै नबम्क। धनेलाई साने घर्तीका कुरा असह्य भयो। स्वभावैले ऊ अर्काको कुरा नसहने खालको व्यक्ति थियो। साने घर्तीलाई उसले कसेर एक थप्पड गालामा हिर्कायो। तेरीमा बजिया, तँजस्ता भतुवाले मलाई जे मन लाग्यो सोही भन्ने? भनेर अरू एक घुस्सी पिठ्यूँमा बजायो। साने घर्ती उमेरले अझ पनि कलिलै थियो, साथै धनेको दाँजोमा ऊ केही पनि थिएन। धनेको कठोर मुड्की खाएर रुन थाल्यो। सानो छ भनेर हेपेर होइन? लाखे कान्छा साहूले हुर्मत काढ्दा बल्ल थाहा होला नि खुट्टामा टोपी राखेर बल्लबल्ल कुन सुरत खेत पाएको छ, त्यसैले मात्तिएर भुइँमा खुट्टा छैनन्। भोलि नै खेत खोसाउन नसके म पनि बाउकै छोरो होइन नि अरू नजाने केके फलाक्तै ऊ कटेरातिर लाग्यो। जा, गएर लगा पोल, जेजे लछार्न सक्छस् लछार् भनेर कुलाको छेउमा आई धनेले चाहिं पानी आफ्नो खेततिर पार्यो। खेतमा आएर पानी भरिएर अर्को गरामा जाने गरी गराहरूको आलीमा लहुरोले घोचेर दुईतीन ठाउँमा प्वाल पार्यो र माथि आएर हातगोडा धोयो। जून बिस्तारै पश्चिमतिर ढल्किरहेका थिए। ऊ सुस्तसित कटेरातिर लाग्यो।