Basai


नन्दे ढकालको छोरो कान्छो अड्डाबाट पढाइको जाँच बुझाएर भर्खर घर आएको थियो। पुलपुल्याएर पालेको र
सानैदेखि अत्याचारी स्वभावको हुनाले ऊ आएबाट गाउँमा सधैं एउटा न एउटा भाँडभैलो हुन्थ्यो। कहिले
केटाहरू, खास गरी घरैका हली, सुसारेहरू भेला गरेर ऊ राति गाउँघरमा कसैको खोरबाट खसी चोर्थ्यो, कहिले
गाउँको कोही केटालाई पिट्थ्यो त कहिले केटीलाई छेडछाड गर्थ्यो। अर्कालाई रुवाउनमा नै उसलाई आनन्द
आउँथ्यो। आफूभन्दा निर्धोलाई झुन्ड्याएर अट्टहास गर्ने उसको प्रकृति थियो। उसका पछाडि गाउँलेहरू
सराप्थे तापनि साहूको छोरो भनेर उसका सामु केही भन्दैनथे। नन्देले आफ्नो छोराको लत साह्रै बिग्रेको
देखी बेंसी हेरचाह गर्ने बहानाको आधारमा उसलाई बेंसी पठाएको थियो। तसर्थ अचेल ऊ बेंसीमा नै बस्छ।
बेंसी आएबाट दिनभरि कहिले गुलेली लिएर खेतको गरामा ढुकुर मारी हिंड्नु, कहिले भरुवा बन्दुक लिएर
घोडामा सवार भई नजिकैको जङ्गलमा पसी शिकार खेल्नु आदि काम नै प्रमुख भएका छन् सधैं। आज पनि दिनभरि
खेतमा ढुकुर उडाउनको पश्चात् बेलुका कटेरामा फर्केर आएपछि उसैले नै साने घर्तीलाई राति खेतमा पानी
लाउने र कुलो रुँग्ने आज्ञा दिएको थियो।
रातको दोस्रो प्रहर निस्कन लाग्दा कान्छा साहू एक निद्रा पुर्याएर फेरि झकाउन थालेको थियो। साने
घर्ती रुँदै कटेरामा पस्यो। सानेको रोदनले साहूलाई घचघच्याएर ब्यूँझायो र हकारेको स्वरमा उसले भन्यो,
हैन, के भो यो मोरालाई, किन रुन्छ, कसैले पिट्यो कि क्या हो?
सोधाइले सानेको रुवाइको मात्रा झन् बढ्यो।
धने बस्नेतले झन्डै हुर्मत लिएन, मलाई चुट्नुसम्म चुट्यो। साहूहरूलाई पनि तथानाम गाली गर्थ्यो।
हाम्रो खेततिर आउने कुलो भत्काएर केही राखेन, जम्मै पानी मारेर आफ्नो खेतमा लाएको छ। सानेले
रुन्चे स्वरमा सबै एकैचोटि भन्यो।
कुरा सुनेर कान्छा साहूका कन्सिरी ताते।
त्यस बजियाको त्यत्रो पहुँच? बजियाले मलाई चिनेकै छैन कि क्या हो?
रिसले दाह्रा किट्दै ऊ एकछिन चुप लाग्यो। सायद मनमनमा उसलाई के गरेर बदला चुकाउने विषयमा
सोच्न थालेको थियो होला। एकछिनपछि सानेलाई सम्बोधन गर्दै भन्यो, भोलि मिरमिरे उज्यालो हुँदा, त्यस
बजियाको बियाडमा लगेर भैंसी छाडिदिनू, बजियाले रोपोस् खेत कसरी रोप्तो रहेछ
झुल्के घाममा धने कोदालो लिएर खेततिर लाग्यो। घरबाट रोपाहारहरू आइपुग्दा सिमतिरका गोरु नलाग्ने
चारपाँच आँठाको हिलोआली गरिसक्ने उसको विचार थियो। खेतमास्तिर आइपुग्दा उसको मनमा उठेको उमङ्ग,
फुर्ती र काम गर्ने उत्साहको स्थान निराशा, ग्लानि र हतोत्साहले लिएको उसको अनुहारले स्पष्ट झल्कायो।
उसका आँखा खेतको बियाडमा घुमिरहेका थिए, जहाँ साहूको भैंसी छऐंचे बीउमा आनन्दले चरिरहेको थियो औ साने
घर्ती छेउमा बसी रमिता हेरिरहेको थियो। दुःख, ग्लानि, क्षोभ र रिसले धने बौलाहाझैं भयो। आफ्नो
भाग्यचक्रले बारबार धोका दिएको देखेर ऊ आश्चर्यमा पर्यो। के सोच्छ ऊ औ हुन्छ के? यस खेतको आधारमा
उसले कुन भविष्यको रचना गरेको थियो, कुन उमङ्गमा उसले यस खेतमाथि आफ्नो परिश्रम बगाएको थियो तर ৷৷. ।
आफूलाई समाल्न नसकी बौलाहाझैं भएर कोदालो पासोपट्टि फर्काई दुई हातले उचालेर ऊ भैंसीमाथि
झम्ट्यो। अलि सिम भएकोले भैंसीका खुट्टा हिलामा भासिएर छिटो दगुर्न सक्तैनथ्यो। त्यसैले भैंसी
छेउमा

पुग्दा धनेले छसातपल्ट कोदालोको पासोले हिर्काइसकेको थियो। रिस र दुःखको आवेशमा धनेले पशुप्रतिको
आफ्नो प्रेम पनि भुलिसकेको थियो। केहीछिनपछि मात्र उसलाई पश्चात्ताप भयो, उसले नाहकमा भैंसीलाई
हिर्कायो, दोष भैंसीको थिएन। खेतको पल्लो छेउ पाखामा पुगेर भैंसी थ्याच्च बस्यो। साने घर्तीचाहिं
आत्तिएर लौ बस्नेतले गाभिनी भैंसी मार्यो भनी चिच्च्याउँदै मालिकलाई खबर दिन कटेरातिर दगुर्यो।