Basai


साने गएको केहीछिनपछि धनेको क्रोध र उत्तेजना सबै शिथिल भए औ त्यसको स्थान भय र त्रासले ओगट्यो।
साहूको गाभिनी भैंसी केही किसिमले तलमाथि भयो भने गाउँबाट बास मेटिनेछ, अलिखेरमा साहूका कानमा सबै
कुरो पुग्ने हो, अनि कति युक्तिले पाएको यो खेत पनि खोसिनेछ। हे ईश्वर मेरो कुन गत हुने हो नि
अब भविष्यमा हुने अनिष्टको सम्झना गरेर धने तल ओर्लियो। ऊ थरथर काँप्तै भैंसीको छेउमा गयो औ
उसलाई उठाउने चेष्टा गरिहेर्यो। तर भैंसीलाई साह्रो चोट लागेको थियो। ऊ एक्लैको केही चलेन। दुःख र
भयले हताश, ऊ कटेरातिर लाग्यो। मनमनमा ईश्वरसित बारम्बार यही पुकार गर्दै जान्थ्यो, हे ईश्वर
भगवान् भैंसीलाई केही नहोइदेओस्, यस सङ्कटबाट पार तार प्रभो अनजानले बिगारिहाल्यो, माफ देऊ।
साहूका मानिसहरू आएर भैंसीलाई कुनै सुरत उठाएर लगे। धने कटेरामा झोक्रिएर बसिरहेको थियो। मैना
खेतालाहरू लिएर आइपुगी। घटना सुन्नको पश्चात् रोपाइँ नहुनेजस्तो बुझेर खेतालाहरू फर्के। मैनाको
हृदयमा चाहिं आगो सल्क्यो। सात दिनभित्रमा भैंसीलाई केही भयो भने उसको लोग्नेको के गति हुनेछ
यसभन्दा अगाडि सोच्ने शक्ति उसमा रहेको थिएन। भविष्यमा उसको लोग्नेमाथि अनिष्ट नआओस् भन्नाखातिर
उसले मनमनै एकजोर परेवा देवीको थानलाई भाकल गरी।
दिनभरि एउटै कारणले उठेको आफ्नोआफ्नो हृदयको पीरले थकित दुवै स्त्रीपुरुषले बसेर समय बिताए। एकले
अर्कोलाई ढाडस दिने शक्तिसम्म पनि उनीहरूमा रहेको थिएन। भैंसीले बीउ नष्ट पारेको थियो। रोपाइँको
माझमा कसले बीउ दिन्छ र? बीउको अभावले हालसाल रोपाइँ सम्भव थिएन। बेलुकीपख दुवै लोग्नेस्वास्नी
कटेरो थुनथान गरेर घरतिर लागे।
जुन अनिष्टको शङ्काले धने र मैनालाई रात नीद न दिन भोक गराइरहेको थियो, आखिर त्यसले सत्यताको रूप
धारण गर्यो। घटनाको तीन दिनपछि बेलुकीपख नन्देको गोठालो चिम्से आएर साहूको भैंसी अगि बिहान मरेको र
भोलिपल्ट दिउँसो साहूले पञ्च बोलाउने निश्चय गरेको कुरा सुनाउँदा धने नीलोकालो भयो। चिम्सेले धनेलाई
भोलि पञ्चको सामु उपस्थित हुनू भन्ने सुब्बा र नन्देको आज्ञा सुनाएर गयो।
धने शून्य हृदय लिएर ओछ्यानमा पल्टिरहेको थियो। मैनाले रुन्चे स्वरमा गरेको प्रश्न पञ्चले के
फैसला देलान् नि भोलि? ले ऊ झस्क्यो, पञ्चको फैसला त धेरथोर उसले अनुमान गरिसकेको थियो। तर त्यस
फैसलाको समाधान कसरी हुन्छ? यही नै प्रश्नले उसलाई सताइरहेको थियो। हृदयको व्यग्रता दबाएर ऊ उठ्यो
र आफ्नो हत्केलाले गालासम्म झरेका मैनाका आँसु पुछिदिंदै भन्यो, जे दिए पनि देलान् नै, अब
सुर्ताएर हुने हुनामी टर्छ र? हृदयमा अहिलेसम्म दबाएर राखेको व्याकुलताको बाँध धनेको सहानुभूतिले
चुँडियो र मैना धनेको काखमा मुख लुकाई झन् निसास्सिएर रुन थाली। धनेले सान्त्वना दिनलाई मैनाको कपाल
मुसार्दै भन्यो --
ए किन रुन्छेस् यसरी? अहिले तेरो लोग्ने मरि त हालेको छैन म छँदाछँदै तँ किन सुर्ता
मान्छेस्? फेरि के पो भइहाल्नेछ र? ज्यान निस्से जाने होइन त्यही ऋण न बढ्ने हो। एक दिन न एक
दिन त सुदिन फर्केलान् ए यी बजियाहरूको ऋण नतिरी त्यसै मरुँला त?
मैनालाई सम्झाईबुझाई गरेर धनेले सुत्न पठायो। ऊ पनि ढल्कियो, तर नीद दुवैको छेउमा आउन डरायो।
भोलिपल्ट धने नन्देको आँगनमा पुग्दा मुखिया, सुब्बा, बैदार र पञ्चभलादभीहरूको निकै ठूलो जमात
उपस्थित थियो। ऊ पनि एक छेउमा गएर बस्यो। धनेको विचार सुरु भयो। उसलाई धेरै प्रश्नहरू गरिए।

भलादमीहरूमा तर्कवितर्क भयो, सबैले एकै स्वरमा धने दोषी भन्ने निर्णय गरे। धनेको पक्षमा
कोही भएन, खालि मुखियाले मात्र, न्यायको तराजु ढलमल गर्न नपाओस् भन्ने उद्देश्यले भने, अँ
चाइनेभन्देखि निसाफमा एकतर्फी कुरा कत्ति गर्नु हुँदैन भनुम् च। चाइनेभन्देखि अहिले साहूदाइको
भैंसीले पनि धनेको बीउ खाएको ठहरियो, कतिको बीउ थियो, चाइनेभन्देखि धान दिनुपर्छ। यता भैंसीको मोल
चाइनेभन्देखि धनेले तिर्नुपर्ने भयो। त्यसै होइन त कि कसो?
एउटा बूढा भलादमीले भने --
केको मोलले मात्र हुन्छ र हो। मोल मात्रै राख्दा त फेरिफेरि पनि सबैले गाभिनी भैंसीको मोल तिर्दै
मार्दै गरे भैगो नि गाभिनी मैंसी मारेको पूरा दण्ड तिर्नुपर्छ धनेले। सजिला कुरा छन् याँ।
पछाडि कुनाबाट एउटा दबेको स्वर सुनियो, त्यसो त रोपाइँको माझमाझमा जानीजानी अर्काको बियाडमा
भैंसी छाडिदिनेको पनि त दण्ड होला नि साँढे त होइन होला नि भैंसी त?
स्वरलहरी सबै पञ्चको कानमा पर्यो परेन सन्देह छ। तर उत्ति नै खेरि नन्देले स्वर आएतिर राता आँखा
फर्काएर भन्यो --
ए बजिया, चुप लाग्, जान्ने भाको बजिया। भलादमीको माझमा मुख खोल्न कसले लायो तँलाई ए, बजिया?
फेरि त्यस स्वरले बोल्न साहस गरेन।
फैसला सुनाइयो। धनेले भैंसीको दाम 1501 रु. र गाभिनी भैंसी मारेकोमा 751 रु. जरिमाना तिर्नुपर्ने
भयो। साथै फेरिफेरि त्यसरी बस्तु मारेमा गाउँनिकाला गरिने धम्की सुनाइयो। साहूको पक्षमा भैंसीले बीउ
नष्ट पारेकोले 15 पाथी धान धनेलाई भर्नुपर्ने भयो।
फैसलाको साथसाथै पञ्चभलादमीको सामु नन्देले धनेलाई खेत नदिने निर्णय पनि सुनायो। अहिलेको
2251 रु. र साहूले अगि गोरु किन्न र घरखर्च गर्न दिएको साउँब्याज सबै लगाएर जम्मा धनेले साहूलाई
तिर्नुपर्ने रु. 5751 ठहरियो। हालमा दिन नसक्ने भएकोले धनेले भाका माग्यो। तसर्थ अढाई महिनाको भाका
गरी अढाई महिनामा तोकिएको रुपियाँ ब्याजसहित बुझाउन नसके साहूले धनेको घरबारी बस्तुको मोल गरेर आफ्ना
रुपियाँ उठाउन सक्नेछन् भन्ने बेहोराको नयाँ तमसुक गरेर धनेको सही लिनाको पश्चात् पञ्चायत समाप्त
भयो।