Basai


दुई दिनको जरोबाट आज उठेर मैना सिकुवामा गुन्द्रीमाथि बसी मकै छोडाउन थालेकी छ। हात मकै छोडाउनमा
तल्लीन छन्, हृदयमा विचारधारा प्रबल वेगले बगिरहेका छन्। जीवनमा सङ्कटमाथि सङ्कट थपिंदै गएको देखेर ऊ
दङ्ग छे, विधिको विधानमाथि ईश्वरको सृष्टिमा मानवजीवन सबैभन्दा श्रेष्ठ जीवन ठहरिएको छ। तर मनमा
शङ्का उठ्छ गरिब र पीडितहरूको जीवन कुनै पशुको भन्दा के स्वच्छ त र? सत्यवादी र इमानदान
गरिबहरू लाई थिचेर अत्याचार र बेइमानीको आड लिनेहरू सुनको महलमा आनन्द मनाउँछन्, तर गरिबहरू
परिश्रमको चरम सीमामा बसेर पनि हातमुख जोर्ने बाटो पाउँदैनन्। के विधिले लेख्ने भाग्यलिपि यही नै
हो?
कुनै प्रश्नको समाधान हुँदैन। अनि त मनलाई सान्त्वना दिन ऊ भन्छे, सायद पूर्वजन्मको कमाइ भन्ने
यही हो क्यार कति दिनको अविराम झरीले बिस्कुन सुकाउन दिएको थिएन। अहिले बादलको आडमा लुकीचोरी
खेल्दै गरेको सूर्यमाथि भर गरेर मैनाले छोडाइसकेको मकै डालीमा हालेर आँगनमा लगी मान्द्रोमाथि फिँजाई।
बादलका टुक्रामा कहिले सूर्यदेव विलीन हुन्थे, एकछिनपछि फेरि देखा पर्थे। यही क्रम चलिरहेको थियो,
बाँकी रहेका मकै छोडाउन मैना गुन्द्रीमा आएर बसेकी मात्र थिई, माथिबाट ठूली झरी।
जरोले छोड्यो भाउज्यू? ठूलीले सोधी।
अँ, अहिले त छाडेको छ, भरे फेरि आउने हो कि, यो मोरो जोरोको के भर र बस न नानी, कता हिँडेकी?
कतै पनि होइन, सुत्तासुत्ता गरेर अहिले झरेकी। मकै गोड्न थिए, बारी हिलो छ भनेर त्यत्तिकै नीच
मारियो। पानीले 23 दिन आँखै उघार्न दिएन। गुन्द्रीमा बस्तै ठूलीले भनी।
तब हाउ नानी, यो पानीले मारिहाल्यो नि के, हाम्री कान्छी पनि आज घाम लाग्लाजस्तो गरेर साहिंला
घर्तीकाँ गाकी छन् क्यारे मकै नै गोड्न भन्थिन् कि क्या हो?
ए साँच्ची, कान्छी दिदीले त पर्म खेल्दैछन् क्यार नि, आज घर्तीको पालो रछ?
अँ, अस्ति नै हो क्यार पालो त, तर झरीले थुनिहाल्यो। एकछिनसम्म वार्तालाप बन्द भयो। दुवैले मकै
छोडाउन थाले। केहीछिनपछि ठूलीले अड्कीअड्की भनी --
भाउज्यू, तिमीलाई कति दिनबाट एउटा कुरा सोधूँसोधूँ लाग्छ यता र उताको लन्ठाले फेरि
भुलिहाल्दिरछु।
के कुरा हो? सोध न मैनाले ठूलीको मुखमा पुलुक्क हेरी।
खोइ सोधूँ कि नसोधूँ? बा रिसाउने पो हौ?
हैन के भाकी मोरी हुन् हाउ, कुरा सोध्न पुनि म रिसाउँछु? कुरा नचपाईकन भन न के हो? मैनाले
हाँस्ने प्रयत्न गरी।
होइन हाउ भाउज्यू, किन अचेल म हाम्री कान्छी दिदीलाई भिन्नै देख्छु। बडै बोल्दिनन् पनि।
नियाँस्रो मुख लाएर हिँड्छिन्। ठूलीले मकै छोडाउन रोक्तै भनी।
खाइ कुन्िन, सन्चो नभएर हो कि? हामीसित पनि बडै बोल्दिनन्।
मलाई त शङ्का छ है भाउज्यू ठूली गम्भीर भई।
कस्तो शङ्का, के भन्दैछ्यौ मोरी? आतुरभावले मैनाले प्रश्नसूचक दृष्टि ठूलीमाथि स्थिर गरी।
तिमी त साह्रै सोझी छ्यौ हाउ भाउज्यू, रातदिन सँगै छ्यौ र पनि कस्तो अलिकति पनि बुझ्न नसकेकी
गाउँकाले भेउ पाउने बेला भैसक्यो।
फूल नजडीकन सोझै भन न, के कुरो हो? मैनाको मुखको लाली हराउँदै गएको थियो।
होइन, झुमा दोजिया भएजस्तो लाग्छ मलाई त, तिमीलाई यस कुराको सुइँको छैन?
मैना छाँगाबाट खसेझैं भई। उसलाई रहस्य थाहा हुँदै आयो, किन झुमाले खट्टोपिरोमा बल गर्छे, उसको
हिँडाइमा अगिको झैं किन फुर्ती छैन। अनि उसलाई सम्झना भयो -- एकताका झुमाले मासिकधर्म रोकिएको
कुरा गर्थी। तर त्यस बेला मैनाले केही गडबड भएर होला भन्ने ठानेर त्यसपट्टि विशेष ध्यान दिएकी
थिइन। यस कुराको उसलाई आभास मात्र पनि थिएन।
हताश भएर मैनाले सोधी, कोसित उसको बसउठ थियो नानी, तिमीलाई थाहा छ? तिमी त उसकी सँगिनी हौ नि
जे भा पनी।
कुन्िन त्यो त, अलि दिन एउटा परदेशीसित उठबस गरेजस्तो लाग्थ्यो। तर त्यो त धेरै दिनअघिको कुरा
हो। भरे आएपछि राम्ररी सोध न तिमीले। बेला छँदै सोधपुछ गरे एउटा न एउटा उपाय लाग्ला नि ठूलीले
उत्तरमा भनी।
अँ, सोध्नुपर्ला मैनाले छोटकरीमा भनी।
एकछिनपछि ठूली गई। मैनाको सुद्धिबुद्धि हराइसकेको थियो। मनमा धेरै तर्कना गर्नको पश्चात् भरे झुमा
कामबाट आएपछि राम्रो निधो लिने निश्चय गरी ऊ उठी। आकाश बादलले घेर्दै ल्याएको थियो। चिसो वायुले
ओसिएला भन्ने डरले बेलैमा ऊ बिस्कुन उठाउन थाली।