Basai


जवान भर्खर 25 वर्ष पुगेको छ धनबहादुर बस्नेत। पार्वतीय वायु र रसिलो स्वदेशी भोजनको छाप
त्यसको अङ्गअङ्गमा छरिएको छ, तर सुकिलो रातलाई कालो बादलले ग्रस्त पारेजस्तै त्यसको सुन्दर चेहरा
सधैं चिन्ताको बादलले मलिन रहन्छ। त्यसको एक मात्र जीवनसाथी छ मैना -- त्यसकी प्रिय पत्नी, जो
त्यसको दुःखमा साथ दिन्छे औ सुखमा आनन्द मनाउँछे। मैनाको काखमा खेल्छ धनेको भविष्यतारो तीन वर्षको
बालक। जहानमा अर्की एउटी 1415 वर्षकी युवती छ, धनेकी कान्छी बहिनी झुमावती, जसको विवाह आर्थिक
कठिनाइले गर्दा धनेले गर्न सकेको छैन। चार जनाको सानो परिवार लिएर बगिरहेको छ धनेको गृहस्थीको
डुङ्गा, संसारको अथाह समुद्रमा अनेकौं बाधाबिघ्नरूपी आँधीको सामना गर्दै।
धनेको आर्थिक सङ्कट पनि आजको कालो बादल र चन्द्रमासितै तुलनायोग्य छ। बादलको जाललाई भेदन गर्दै
विश्वमा प्रकाश फैलाएर सारा जगत्लाई शीतल, सुमधुर आनन्दमा मस्त बनाउन चाहन्छन् चन्द्रमा, तर
बादलरूपी जाल पार गर्न असमर्थ छन्। त्यसमाधि कुइरोले त तिनको प्रकाश शून्य नै पारिदिएको छ। धने
चाहन्छ आर्थिक सङ्कटको जाललाई पार गरी आफ्नो सानो परिवारमा आनन्द र शान्तिको शीतल छाया ल्याउन, साहू
र महाजनहरूको ऋणरूपी धमिराले थोत्रिएको धुरीखाँबाहरूको जग पुनः निर्माण गर्न। त्यसको निम्ति उसले
आफ्नो अथाह उद्योग र परिश्रमलाई सहारा बनाएको छ। मिहिनेत गर्छ, उद्योग गर्छ। चारचार कौडीको निम्ति
जीवनको आखिरी श्वासको बाजी लगाउन चाहन्छ, तर उसको आर्थिक जीवनमा परिवर्तन आएको छैन।
मक्किएका खाँबाहरू मक्किंदै नै गइरहेका छन्। बादलमा कुइरो थपिएझैं उसको आर्थिक सङ्कटमा उपसहाय छन्
गाउँका सेठसाहूकारहरू। यिनको चर्को ब्याज, भाका नाघेमा बन्दकी मालको हडप आदि समस्याहरूले बेहोसमाथि
लाठी बज्रेजत्तिकै भइरहेको छ धनेको जीवनमा। तैपनि उसले आँट हारेको छैन। दुःखलाई लुकाएर हिंडि नै
रहेको छ, परिश्रमको पथमा।