यहाँनिर झुमाको विषय लिएर कुरा छ्याङ्ग पार्नलाई केही महिनाअगिको घटनातिर जान बेस पर्ला। दसैंताका रोटेपिङमा छुट्टिएबाट झुमा र रिकुटेको कति महिनासम्म फेरि भेट भएको थिएन। रिकुटेले त सम्झन्थ्यो वा सम्झँदैनथ्यो त्यो भन्न सकिँदैन तर झुमाको हृदयले दिनमा एकपल्ट अवश्य रिकुटेलाई चियाउने गर्थ्यो। पहिलो एक महिनासम्म त रिकुटेसित भेट नहुँदा झुमा अवश्य नै साह्रै व्याकुल थिई, तर समयको साथसाथै कस्तै व्याकुलता पनि कम हुँदै जान्छ। झुमाको हृदयमा रिकुटेप्रति सम्झनाको एउटा हल्का अवशेष मात्र रहेको थियो। एक दिन माघको माझमा झुमा घाँस काट्न भनेर वन गएकी थिई। चारैतिर मनलाई विरक्त पार्ने खुर्खुरे डाँडाहरू हरियो कहीं थिएन। सारा प्रकृति सुकेको थियो। वनैभरि रूखबाट खसेका पातहरू सुकेर खङ्ग्रङ्ग थिए। अठ्यारे खोलो पनि सुकेर भित्रभित्रै कुलुलु गर्थ्यो। उराठलाग्दो वनमा कहींकहीं फुलेका सेता फूलहरू शान्त थिए मानौं मरुभूमिका मरुद्यान हुन्। अप्ठ्यारे खोलाको छेउमा गोगनको बुटोबाट दुई मुठाजति घाँस झारेर झुमाले मुठा पारी। अर्को सिरुको एउटा मुठो काटिसक्ता उसलाई पनि निकै थकाइ लागिसकेको थियो। खबटे ढुङ्गामा बसेर ऊ केही सुस्ताउन थाली। सौन्दर्यविहीन प्रकृतिलाई आफ्नो चारैतिर देख्दा उसलाई नरमाइलो लाग्यो। अतीतका कति घटनाहरू सम्झन थाली। रिकुटेको विषयमा उसलाई याद आयो, धेरै दिन भो, भेट नभाको। उसले त वा भुलि पनि सक्यो कि? मैले झैं माया उसले कहाँ गर्दो होला र? तर किन नगर्नु, उत्तिकै ता हो नि बिचरा, त्यस दिन बिहाको कुरा गर्थ्यो, मैले मन नलाएजस्तो गर्दा दुःख मान्यो होला ৷৷. । भावनाको भेलमा निकै परसम्म बगेकी हुनाले तिनलाई पन्छाउन उसले एउटा गीत गाई। सारा वनमा गुञ्ज्यो --
उकाली ज्यानको चिप्लेटी ढुङ्गो
दुई जीउ नारान बसौंला,
बाँध न मायाले ठ्याम्मै।
यो मन जस्तो त्यो मन भए
मायाको धागो नि कसौंला,
बाँध न मायाले ठ्याम्मै। गीत टुङ्गिएको एकछिनपछि ऊ अलि तलतिर झरेर एकदुई मुठा अरू घाँस काट्ने विचार गर्दै थिई एक्कासि पछाडिबाट कसैले सोध्यो -- कसो झुमा, घाँस काट्नु आकी? झुमाले पछाडि फर्केर हेरी, रिकुटे उभिएर मुसुमुसु हाँसिरहेको छ। आबुई तपाईं पो, यो वनमा कताबाट? हर्ष र उल्लासले झुमाको मुखबाट निस्कियो। उः पर मूलबाटोबाट मास्तिर जान लागेथें। तिम्रो स्वरले तानेर ल्यायो। रिकुटे झुमाको छेउमा बस्यो। म त मलाई बिर्सनु पो भो होला भन्थें वाक्यका साथै झुमाले मुन्टो निहुराई। म त रातदिन सम्झन्छु, तर खोइ यो मनजस्तो त्यो मन भए पो छ कि छैन, तपाईँलाई थाहा छ र, वा अझ धेरै पो छ कि? के साँच्चै हो र? रिकुटेले झुमाको हात समात्यो। छिः, कसैले देखे के भन्लान्? झुमाले हात हटाई। यो वनमा को तमासा हेर्न आउँछन् र भारी पुग्यो? काँ बल्ल मुठा तीनेक पारिरछु। घाँस भा पो काट्नु दुदिलो खाँदैनन् कि कसो? काँ पाऊन् सासले टिप्छन्, झार्न सके पो म उः त्यो रूखमा चढ्छु, तल बटुल है त? आबुई, रिकुटमा बसेका मानिस पनि रूख चढ्न सक्छन् र? झुमाले आश्चर्यमिश्रित हाँसो प्रकट गरी। ए हामीले सबैथोकको टेल्निङ गरेको छ। रिकुटे दुधिलाको रूखतिर लाग्यो, झुमा पनि पछिपछि गई। रिकुटे घाँस झारेर तल ओर्लंदा झुमाले मुठा पारिसकेकी थिई। ऊ भारी हाल्न थाली। रिकुटेचाहिं चारैतिर नजर डुलाई वनको दृश्य हेरिरहेको थियो। केहीछिनपछि फेरि झुमा ढुङ्गामा आएर बसी। रिकुटेले झुमाको छेउमा टाँस्सिँदै ज्यादै कोमल स्वरमा भन्यो -- झुमा, मुगलान जाने? म असारमा जान्छु। खोइ जाने त थिएँ नि, तर त्यसै कसरी जानू? म तिमीलाई जरुर पनि लिएर जान्छु। केही गरे पनि भुल्न सक्ितनँ झुमा झुमाको बायाँ हात रिकुटेको दुवै हातमा थियो। झुमाले छुटाउने प्रयत्न गरी, रिकुटेले झन् बलियो गरी समात्यो। तिमी मेरी हौ झुमा, कसैले मबाट छुटाउन सक्दैन झुमा रिकुटेको बाहुपाशमा थिई। जाडोको दिनमा पनि उसको मुखमा चिटचिट पसिना आएको थियो। मुखमा हताशको भाव स्पष्टै अङ्कित थियो। निकैबेरसम्म बाहुपाशबाट मुक्त हुने प्रयत्न उसद्वारा चलिरह्यो। तर ৷৷. शरीर ढिला भयो ৷৷. अनि एकछिनपछि ৷৷. सबै सर्वनाश ৷৷. अङ्डामा केही काम हुनाले असारसम्म ऊ त्यसैमा व्यस्त रहने र त्यसपछि झुमालाई लिएर मुगलान जाने
आश्वासन दिएर रिकुटे एकातिर लाग्यो। पश्चात्तापको अग्निमा डढ्दै भारी हृदय लिएर झुमा उठी। कुमारी कन्यालाई कुमारीस्थानमा अटल पारिराख्ने कन्याभाव लाई गुमाउनुपर्दा आज उसकै आँखाले पनि उसलाई हेय दृष्टिले हेरिरहेको थियो। अघिसम्म निर्धक्क समाजसित भिडिने ऊ साहस राख्थी, तर अहिले आफ्नै दृष्टिमा ऊ धेरै तल खसेकी थिई। घाँसको भारी उचाली, रिकुटेको आश्वासनलाई विश्वासको दह्रो मजेत्रोमा गाँठो पारेर झुमा अगि बढी। अरू ऊ गर्न पनि के पो सक्थी र?