साहिंला घर्तीको मेलाबाट घर फर्कंदा साँझ झमक्कै परिसकेको थियो। परतिर खोल्सामा झ्याउँकीरीहरू साँझको आरती गाइरहेका थिए। झुमा करेसामा गएर जुका टिपेर फाल्नको पश्चात् हातगोडा धोएर भित्र पसी। जूठोभाँडो गरिसकेर नन्दभाउज्यू जाँतोमा गए। झुमा एकसुरले जाँतो घुमाउन थाली। पहिलेकी झुमा र अहिलेकी झुमामा धेरै अन्तर आएको छ। अगि ऊ साह्रै चञ्चल थिई। जाँतोमा सँगिनी भन्न साह्रै दिलचस्पी राख्थी। भाउज्यूसित ज्यादै नै बात मार्ने गर्थी तर अचेल गुमसुम रहन्छे। ऊ सधैं चेहरामा विषादको गहिरो छाप लिएर केही कुराको चिन्तामा मग्न रहन्छे। आफ्नो शरीरको लक्षणले झुमालाई काफी सन्देह छ तर शङ्कालाई सत्यताको रूपमा स्वीकार गर्नुभन्दा अगि नै उसको हृदय काँप्तथ्यो। त्यसैले त्यतापट्टिको विचारै छाडिदिन्थी। हो कि होइनको दोधारमा उसले आफूलाई धोका दिँदै आएकी थिई। तर आज भाउज्यूको प्रश्न -- तिमी भारी जीउकी छ्यौ? नढाँटी भनभन के कुरा हो? ले ऊ स्वप्नबाट बिउँझेझैं भई। मगजका कुराहरू आउनेजाने गर्न थाले। मैनाले ज्यादै कोमल भावमा बारबार सोध्दा उसले सबै कुरा बताई, केही कुरा ढाँटिन। सर्वप्रथम धारामा भेट भएको, अनि घरमा त्यस दिन बास बसेको, पछि हाटमा र रोटेपिङमा भेट भएको, अन्त्यमा वनमा भएको घटना सुनाई। उसले यो पनि भनि, रिकुटेले उसलाई असारमा मुगलान लानेछ, उसलाई ऊमाथि पूर्ण विश्वास छ। मैना झुमाजस्ती सरल बालिकाको मुखबाट ती कुराहरू सुनेर दङ्ग परी। उसको मूर्खतामाथि रिस प्रकट गरी। अनि विधिले हानेको झटारोमाथि हताश भएर धेरैबेर रोइरही।