Basai


भोलिपल्ट बिहानै उठेर मैनाले धूपबत्ती सिद्ध्याई, सूर्यलाई जल चढाई। तर हृदयमा एकाग्रता थिएन,
त्यसको स्थानमा अधीरता थियो। धने बिहानै उठेर कहीं गएको थियो। मैनाले ठूलीलाई बोलाउन पठाई। एकछिनपछि
ती दुवै खोल्मामा बसेर कुरा गर्दै गरेको देखिए। मैनाले ठूलीलाई झुमाको विषयमा सबै कुरा सुनाउँदै भनी
--
नानी हाउ, तिम्री त एउटी मितिनी पनि लिम्बूगाउँमै छिन् नि? त्यहाँ जाने साइनो छँदैछ। त्यो
मान्छेको पनि घर त्यहीं हो रे। छछैन, के छ, एकपल्ट पुगेर यसो निधो लाएर आऊ न है? त्यस मोराले
गर्नसम्म गरिहाल्यो के।
ल हुन्छ म आजै जान्छु। आज उतै मितिनीकहाँ बसेर भोलि बिहानै भात खाने बेलासम्ममा निधो
ल्याइपुर्याइहाल्छु नि। ठूलीले भनी।
लौ नानी, त्यति दुःख पाऊ। मोरालाई टीकोटालो गरेर जिम्मासम्म लाइदिन पा पनि त हुन्थ्यो।
तब हाउ भाउज्यू, तिमीलाई पो राम्रैको पिरलो भो त
के गर्नु नानी, दाज्यूचाहिंले थाहा पाउनुभो भने बासै मेट्नुहुनेछ। के गर्नु मुर्दाको मुख हेर्दा
माया लाग्छ।
मैनाको आँखाबाट दुई थोपा आँसु चुहिए।
लौ भाउज्यू, अबेर हुन्छ, म जाने तर्खर मिलाउँछु। ठूली उकालो लागी।
त्यसको अर्को दिन बस्तु फुकाउने बेलामा धने कोदाको खोले, डल्ला खाएर गोरु चराउन गयो। झुमा मैनाले
बारम्बार कराउँदा पनि खान आइन, सन्चो छैन भनेर टारी। ऊ आज मेला पनि गइन। कोठेबारीमा बसेर
गल्लीतिर टकटकी लगाई ठूलीको बाटो हेरिरहेकी छ। ठूलीले ल्याउने समाचार ऊप्रति कस्तो हुनेछs:
आतुरभावले त्यसैको प्रतीक्षा गरिरहेकी छ। बेला निकै टर्यो, तर ठूली नआउँदा झुमाको मनमा कुरा खेल्न
थाले --
किन अबेर गरी? त्यो त्यस्तै छ, जाँ जाँदा पनि भनेको बेलामा आइपुग्दिन। मितिनीसित खूब कुरा
छाँटिरहेकी होली वा रिकुटे पो भेटिएन कि? लिम्बूगाउँ भनेर मलाई ढाँटेको पो थियो कि? वा मुगलान
गयो? तर त्यसले मलाई छलेन? त्यो त्यस्तो छैन। मलाई नलिई किन जान्थ्यो ৷৷. ?
धेरैबेरको पर्खाइले झुमालाई पट्टाइ पनि लाग्यो। उठेर भित्र जान खोज्दै थिई, तल्तिर गल्लीमा
ठूलीले सुस्केरा हाली। झुमाले देखी -- ठूली पसिनैपसिना भएर बिस्तारै आउँदैछे। उत्सुकताले ऊ गल्लीमा
झरेर ठूलीलाई भेट्न पुगी।
आबुई, कति अबेर गरिस् हाउ ठूली, बाटो हेर्दाहेर्दै मेरा त आँखा पनि टट्टाए। झुमाले ठूलीलाई
अँगालो हाल्दै भनी।
के गर्नु, मैले छिटो भनेर भएन, कामै त्यस्तै थियो। ठूलीले नियाँस्रो मुख लाउँदै भनी --
लु भन्न त, के समाचार ल्याइस्?
जे ल्याए पनि सुनिहालौली नि, किन आत्तिन्छ्यौ?
ठूलीको मुखको गम्भीरताले झुमा झस्की, ती दुवै कोठेबारीमा आइपुगे। ठूली सरासर भित्र जान खोज्दै थी,
झुमाले उसको हात समातेर तानी।
कहाँ हिँडेकी, यहीं बसेर भन् न केके भो? झुमाले ठूलीलाई बसाई।
भाउज्यू काँ छन् नि? ठूलीको प्रश्न थियो।
भाउज्यूलाई छाड्न अहिले, पैले मलाई भन्, केके भयो,
खोइ, के भन्नु हाउ कान्छी दिदी, भनिसाध्य भा पो भन्नु
तैंले मलाई के ठानेकी छस्, डराउँछे भनेर? जे भा पनि नढाँटी भन्, म सुन्न सक्छु। झुमाले
मन दह्रो पारी।
सर्वस्व नासियो नि हाउ चिन्नु न जान्नु त्यस्ता मोराको भर परेर गर्नसम्म गर्यौ नि मोरी
त्यो फागुनमै गयो रे। ठूलीको मुखबाट यन्त्रचालित भएर निस्क्यो।
झुमाले एकछिनसम्म त केही पनि देखिन। अनि कोठेबारीको ठूलो ढुङ्गो, गल्ली, ठूली सबै टाढा कहीं रिमरिम
देखेजस्तो लाग्यो। कानमा टाढा बोलेको खल्याङमल्याङ सुनियो। निकैबेरपछि ठूलीले कान्छी दिदी
भन्दा मात्र झस्केर हँ भनी। उसलाई सबै कुरा सपनाजस्तो लाग्यो। निकैबेरपछि ठूलीले आफ्नो देब्रे
हात झुमाको दाहिने हातमा राख्तै भनी --
कान्छी दिदी भाउज्यूलाई के भनिदिनु मैले?
नैराश्य र अर्धचेतनको मुद्रामा झुमाले भनी --
साँचो कुरा भनिदे ठूली, छिपाएर छिप्ने कुरा होइन, आखिरी भन्नैपर्छ।