कुखुराको डाकमा, मूलदैलोबाट तीन प्राणी बाहिर निस्के। अगिअगि धने, पिठ्यूँमा खास्टोको एउटा कुम्लो, जसमाथि गोडादुएक राडी बाहिर बेरेका छन्। हातमा अर्को एउटा सानो कुटुरो झुन्ड्याएको छ। उसको पछि मैना, पिठ्यूँमा छोरो बोकेकी, एउटा हातमा सानो पोको च्यापेकी छ। ऊ सुँक्कसुँक्क गरिरहेकी छ। धने नजानिँदो गरी आँसु पुछिरहेको छ। सानो बालक निद्रा खलबलिएकोले रोइरहेको छ। दुवै जना आँगनमा आएर रित्तो घरलाई ट्वालट्वाल्ती हेर्न थाले। मैनाका आँखा आँगनको छेउको तुलसीमाथि परे। ऊ पोको आँगनको पर्खालमाथि राखी भित्र पसी र एउटा सानो माटाको गाग्रीमा पानी लिएर बाहिर निस्की। तुलसीमा पानी खन्याउँदै गुनगुनाई, भोलिदेखि त्यसै सुकेर मछर्यौ होली तिमी पनि, को आएर चढाउला जल तिमीलाई। फेरि कहिले जल चढाउन पाउँला नि नारान् तिम्रो बुटामा धनेले करायो -- ए भो अब हिंड्। भित्र खोपीमा परेवा घुरेको मधुरो स्वर सुनियो। मैना फेरि भित्र पसी। नानी एकतमासले रोइरहेको थियो। तर उसलाई फुल्याउन होसै थिएन। भित्र अँध्यारोमा छामछामछुमछुम गर्दै। एउटा सानो मटिया खोज्न थाली। बल्लबल्ल फेला पारेर मटियाभित्र हात हाली। कनिका निखिसक्न आँटेका रहेछन्। टाकनटुकन पारेर एक मुठी कनिका लिई खोपीको छेउमा गई। परेवालाई हालिदिंदा तिनीहरू तर्से। भोलिदेखि कल्ले हाल्ला नि चारो, तिमीहरूलाई? के गति होला तिमीहरूको? कुनचाहिंले भुँडी भर्ने हो कि ऊ डाँको छाडेर खोपीको छेउमा टाउको अड्याई रुन थाली। धनेले फेरि बाहिरबाट करायो -- अबेर भइसक्यो, के गर्छे? मैनालाई झट्ट गोरुको सम्झना भयो, ऊ हतारहतार कटेरातिर गई। मैनालाई देखेर गोरुहरू ऊतिर हेर्दै, फूँफूँ गर्न थाले। नजिकै राखेको पराल हालेर मैना दुवैलाई मुसार्न थाली। मुखबाट शब्दहरू आफैं फुटेर निस्किरहेका थिए -- आजबाट तिम्रा नयाँ मालिक आउँछन्, तिमीहरूलाई मीठो घाँस, कुँडो दिन्छन् ৷৷. कसैलाई नहान्नू, सोझो भएर काम गर्नू, नभा कुटाइ खानेछौ बाबै ৷৷. भावावेशमा ऊ पागलजस्ती भई। आँखाबाट आँसुको झरी लागिरहेको थियो। धेरैबेरपछि मनलाई दह्रो पारी ऊ आँगनतिर गई। फेरि एकपल्ट आँगनअगाडिको खोल्माभित्र पसी। खोल्माको चारैतिर राम्ररी हेरी। यहाँका प्रत्येक वस्तु जाँतो, ढिकी, यहाँतक कि बलो, खाँबो, धुरी सबै कुरा उसलाई जीवनभरि सम्झँदै, रुँदै गर्न पर्याप्त थिए। एक छेउमा एउटा बूढी बाखी बाँधेको थियो, उसैको छेउमा जोरपाठा सोतरमा बसी उग्राइरहेका थिए। मैना छेउमा जाँदा म्याँम्याँ गर्यो। उसले उसलाई मुसारी। साना पाठाहरूलाई उचालेर काखमा लिई र उनीहरूको गालासित आफ्नो गाला जोडी। यी तीन प्राणीले कानेखुसी गरेको दृश्य देखियो। धने अलि झोक्किएर बाहिरबाट कराउँदा मैना उठी, ऊ आँसु पुछ्तै बाहिर निस्की। धने मूलबाटोमा निस्किसकेको थियो, ऊ पोको च्यापेर उसको पछि लागी। करुण अति करुण दृश्यs: यी तीन प्राणीहरूको यात्राले दिइरहेको थियो। तीन जनाको यात्रा -- लोग्ने,
स्वास्नी अनि बालक छोरो। बारबार पछि फर्केर हेर्छन् र फेरि अगि बढ्छन्। यिनको यात्रालाई दाँज्ने ठीकठीक उदाहरण दिन गाह्रो छ। यदि कोही दर्शक यस बेला यहाँ भए अवश्य नै उसलाई भगवान् रामचन्द्रको वनवासको सम्झना हुने थियो। राम त चौध वर्षको निम्ति वनवास गएथे औ फर्केर पनि आएथे। तर यी तीन प्राणी सधैंको निम्ति यस घरमा ताल्चा लाएर जाँदैछन्। भविष्यमा कुनै दिन फेरि यस ठाउँमा फर्केर आउने यिनीहरूको हृदयमा आशा छैन। यिनको यात्रा वनवासको निम्ति होइन, न त घरवासको निम्ति हो। यो यात्रा श्रृङ्खलाबद्ध छैन। एउटा विश्रृङ्खल यात्रा यिनीहरूले आरम्भ गरेका छन्। कहाँको यात्रा हो, कहाँ गएर टुङ्गिन्छ, यसको निश्चित स्थान कहाँ छ? यो सायद स्वयं यिनीहरूलाई पनि थाहा छैन होला। घर, कटेरो, कोठेबारी, खोल्मा सबै निस्तब्ध छन्, मानौं यिनीहरूबाट ज्यान निस्किसकेको छ। सधैं मैना र धने कोठेबारीबाट सूर्यको दर्शन गर्थे। नुहाईधुवाई बिहानै हातमा लोटा लिएर सूर्यलाई जल चढाउन मैना कोठेबारीमा प्रतीक्षा गर्थी। तर आज त्यस कोठेबारीबाट जलधारा दिन त्यहाँ कोही हुने छैन। सूर्यको प्रथम किरणसाथै आजदेखि धने र मैनाको नयाँ जीवनको आरम्भ हुनेछ। हुन सक्छ, त्यो जीवन अतीतको भन्दा राम्रो होस्, या यो पनि हुन सक्छ, त्यो जीवन अतीतको भन्दा अझ नराम्रो होस्। तर जे भए पनि भगवान् अंशुमालीले दर्शन दिंदा तिनीहरू यो घर, कोठेबारी, आँगन, जहाँ उनीहरूले जीवनको एउटा ठूलो भाग बिताए, त्यसबाट टाढा हुनेछन्, धेरै ৷৷. टाढा ৷৷. ।