घाम अस्ताए तापनि झमक्कै भइहालेको थिएन। झुमा गाग्रो र भाँडाकुँडाहरू डोकोमा हाली, हातमा भरी बेला लिएर छहरे धारासित बिदा भई। बाटामा दुवैतिर पर्ने मकैबोटमाथि झुमा उति सन्तुष्ट थिइन, बेसी भाग झिँजो नै मान्थी। किन्तु, आज उसलाई लागिरहेथ्यो, मानौं ती बोटहरू बाटामा बसी उसको स्वागत गरिरहेका छन्। ती बोटहरूमा उसले आज केही विशेषता पाई। उसको नीरस जीवनमा केही नवीनताले छोएजस्तो लागेको छ उसलाई। आफ्नू आँगनमा टेक्नेबित्तिकै झुमाको चेहरामा केही आशा, अलिकति आश्चर्य, केही लज्जामिश्रित खुशी, अनि थोरै दुःखका भावहरू एकैचोटि देखिए। त्यसले देखी -- उही अगिको व्यक्ति गुन्द्री ओछ्याइएको आफ्नो पिँढीमा बसेको छ। अनि खाटमा बसेको उसको दाज्यू (धने) सित कुरा गरिरहेको छ। झुमाले एकपल्ट उसको दाज्यू औ त्यस व्यक्ति दुवैलाई हेरी औ सरासर भित्र पसी। धने त्यस व्यक्तिसित कुरा गर्नमा मग्न थियो। ए त्यसो भा त जागिरे पो हुनुहुन्छ तपाईं त, हैन? अँ, त्यसै भन्नुपर्यो, के गर्नु दिन काट्ने मेलो। कति भो विदेश पसेको? म त सानैदेखि पो परदेश लागेको, चौध वर्षको मात्र थिएँ होला पहाड छाड्दा, ऐले पल्टनमा भर्ती भा को पनि तीन वर्ष पुग्यो। अगि धेरै हन्डर खाएँ -- परदेशमा अर्काको गाई, भैंसी पनि चराएँ। गर्नेनगर्ने हरेक काम गरियो। लेकिन तकदिरको बात, पल्टनमा फट्ट लिइहाल्यो। ऐले त एक किसिमले बिलकुल आराम छ भनौं न। हो, रिकुटे भएपछि के खोज्नु छ, गजबै भइहाल्यो नि, यता पहाडतिर कोको छन् नि? छैनन् मेरा त कोही पनि, कान्छा बाका छोरा दाइ छन् उनका छोराछोरी भए होलान् ऐले त। रिकुटेले आङ तान्यो। आँगनतिर हेरेर भन्यो, अन्धकार निस्पट्ट भयो, अब हिंड्न पनि पर्छ होला। धनेले बेपर्बाहीसित भन्यो, आ ৷৷. हामी पनि क्षेत्री हौं, भान्सा चलिहाल्छ, खानपिन गरेर यतै सुत्ने। किन जान पर्यो। रातिहुँदो उति टाढा लिम्बूगाउँ भोलि बिहानै हिंडे भइहाल्छ नि अँधेरो रात छ, थाकेको पनि छु खै, भोलि नै जानुपर्छ होला। हो त, किन हतार गर्नुपर्यो, बिहानको भात खान पुगिहाल्नुहुन्छ।