Basai


घरको सारा धन्दा आजकल झुमामाथि नै छ। मैनालाई नानीले पिरोल्छ, त्यसैले ऊ घर्यौली काममा अघि सर्दिन।
नन्दलाई भाँडाकुँडा माझ्न औ कुट्नपिंध्न ऊ सघाउँछे। नभा बनाउनेख्वाउने काम प्रायः झुमाको नै
हुन्छ।
भान्सा तयार पारिसकेपछि झुमाले भाउज्यू बसेठाउँमा गई आडैमा बसेर भनी, भाउज्यू, भान्सा तयार भयो,
आज तिमीले देऊ न है
मैनाले झुमाको चिउँडो हातले अलिकति उचाली झुमाको निहुरेको मुन्टो सीधा पार्दै भनी, पकाउनेले
आफैं पो भाग लाइदिनुपर्छ घर गएर पनि त्यसरी नै अह्राउँछ्यौ? एकछिनपछि फेरि भनी, जाऊ, मेरी
राम्री नानी, दाज्यूलाई र पाहुनालाई पानी दिएर भात पस्किदेऊ, म यति हतेउरी बाटिसक्छु। मैना हतेउरी
बाट्न थाली।
झुमा भाउज्यूसित हाँसो गर्थी, आमासमान मान गर्थी, साथै आमाकै सम्मान पनि भाउज्यूलाई दिन्थी।
भाउज्यूको कुरा टाल्न ऊ सक्तैनथी। करैले उठी गाग्रीबाट बेलामा पानी सारेर बाहिर गई।
झुमा हातमा बेला लिई ज्यादै निहुरेर रिकुटेको छेउ गई। रिकुटेले तृषित नजरले झुमाका आँखामा हेर्ने
चेष्टा गर्यो तर भित्रबाट पिँढीको छेउसम्म आएको धीमा प्रकाशमा उसले मजेत्रोले ढाकिएको झुमाको टाउको
मात्र देख्यो, चेहरा देख्न सकेन। झुमाको मुटु एकनास ढुकढुक गरिरहेको थियो। उसले रिकुटेतिर हेर्ने
चेष्टा गरिन। बेला रिकुटेको छेउमा राखेर ऊ भित्र पसी।
धने र रिकुटे हातगोडा धोई भित्र पसे। माटाको ढिस्को उठाएर बनाएको चुलोमाथि गएर बसे। झुमाको मुन्टो
निहुरेकै थिए। भातको थाली रिकुटेको अगाडि सार्दा उसका हात थरथर काँपिरहेका थिए। आँटमा दियालो सकिँदै
गएकोले प्रकाश मधुरो भयो। त्यस मधुरो प्रकाशमा झुमाले एकपल्ट निहुरेरै रिकुटेको मुखमा हेर्ने प्रयास
गरी, रिकुटेका आँखा त्यतिबेर पनि झुमातिरै थिए। झुमाले नजर फेरी। मैनाले उठेर आँटमा दियालोको चोइटा
थपी। कोठा फेरि पूर्ण रूपले उज्यालो भयो।
खानपिन गरेर परदेशी बाहिर सिकुवाको खाटमा पल्ट्यो। धन्दा छिनेर मैना र झुमा मकैको डालो लिई
खोल्मातिर लागे। एकछिनपछि पल्टेको रिकुटेको कानमा जाँतोको घडघड शब्द पर्न गयो।
अन्धकार निस्तब्ध छ। दूरमा कराउने मसिना जीवहरूको झङ्कार जाँतोको घडघड शब्दमा दबेको छ। घडघड शब्द
यस्तो सुनिन्छ मानौं पृथ्वी आखिरी सास फैर्दैछिन्। शान्त प्रकृतिका बीच एउटा मसिनो स्वरले आफ्नो आलाप
प्रारम्भ गर्यो सँगिनीको रूप दिएर। त्यस आलापमा प्रकृति सजीव भएर उठिन्। त्यहाँको वातावरणले एउटा
नयाँ जीवन प्राप्त गर्यो।
झुमा सँगिनी भन्छे। उसको स्वर मसिनो तर मीठो छ। जाँतो पिँध्दा सँगिनी भन्नु ग्रामीण नारीहरूको
पुरानो रीति हो। मैनालाई सँगिनीमा साह्रै चासो छ। सधैं जाँतोमा यसको आरम्भ उसैबाट हुन्थ्यो। झुमा
पछिबाट उसको साथ दिन्थी तर किन हो आज झुमा आफ्नो गलाको माधुर्य देखाउन बेचैन छ। निकैबेर उसले
भाउज्यूको बाटो हेरी, उसलाई असह्य भयो। प्रथम उसैले आलाप छोडी, आज उसको स्वर सजीव भएर उठेको छ। गलामा
नवीनता भरिएको छ। मैनाले पनि नन्दको स्वरमा आफ्नो गला जो़डी। झुमाको स्वरले मुस्काएकी सँगिनी अब
हाँस्न थालिन्। रात्रिको बीच त्यो सुनसान गाउँमा निस्केको त्यो ध्वनिमा साँच्चै नै ढुङ्गा पगाल्ने
शक्ति थियो। रिकुटे त एउटा मानिस नै त थियो। साधारण मानिस।
रिकुटेले सँगिनी सुनेको थियो उसको बाल्यावस्थामा, जब ऊ मुगलान लागेको थिएन। मुगलानमा उसलाई सँगिनी
सुन्ने अवकाश कहीं पनि परेन। आज कति वर्षपछि उसले आफ्नो ग्रामीण गीतसित फेरि परिचय गरिरहेछ। उसका
कान सँगिनी सुन्नमा तल्लीन छन्। हृदयमा प्रचण्ड आँधी चलिरहेछ। हृदयले भन्छ, उठूँ, जाऊँ यो स्वरको
लहरी पैल्याउँदै अनि मूल फेला पारेपछि त्यसैको चरणमा आफूलाई पूर्ण रूपले सुम्पिदिऊँ। उसको हृदय
उडिरहेछ कहिले कहाँ, कहिले कहाँ सँगिनीको लहरसितै। आँखाअगाडि कसैको छाया नाचिरहेछ। एकपल्ट त रिकुटेले
उठेर झुमाको सामु जाने निश्चय गर्यो। फेरि विचार आयो -- झुमासित अर्को पनि कोही छ, त्यसको सामु यो
रातिको बीच जानु ठीक पर्दैन। आखिरमा हृदयलाई समालेर पल्टिरह्यो। धेरैबेरपछि सँगिनीका साथै जाँतोको
घडघड शब्द पनि बन्द भयो। रिकुटे मुख छोपेर निदाउने चेष्टा गर्न थाल्यो।
बिहान सबेरै उठ्ने रिकुटेको बानी छ। उठेर ऊ हिंड्ने तरखर मिलाउन थाल्यो, धनेसित बिदा भएर आँगनमा
निस्कियो। झुमा उसको अगाडि खोल्माको दैलोनिर उभिएकी थिई। दुवैका आँखा एकअर्कामाथि केहीछिन स्थिर रहे।
दुवैका आँखाले भनिरहेथे, बाँचे फेरि भेट हुनेछ तर दुवैलाई एकअर्काप्रति सन्देह थियो कि त्यसका
आँखा के भनिरहेछन्। परदेशी बाटो लाग्यो, एउटा शून्य छाया कहीं छोडिएको अनुभव लिएर। झुमा घरभित्र पसी,
आफ्नो एउटा अङ्ग नै चुँडिएको गह्रौं हृदय लिएर।