Basai


तीजले नेपाली समाजमा नारीहरूबाट भर्खर बिदा लियो र अहिले दसैंको आगमनको चिह्नस्वरूप सोरसरादले
छोएको छ। सबै दसैं मनाउने चीजबीजको जगेरामा लागेका छन्। गाउँका प्रायः सबको घरमा जय देवी
भैरवी को मधुर स्वर सुनिन्छ। गोठमा भेला हुने गोठाला केटाहरू सिलोक हाल्नको साटो स्वर
मिलाएर मालश्री को मधुर राग अलाप्न थालेका छन्। दसैंको आगमनले सबै प्रसन्न देखिन्छन्। हुन पनि
किन नदेखिऊन्? दैनिक कार्यभारले वर्षभरि थिचिरहेको जीवनमा भारी बिसाएर विश्राम लिने यिनै त दुईवटा
दिन हुन्। त्यसबाहेक वर्षौं भेट नभएका इष्टमित्र, कुलकुटुम्बसित भेट गरेर हर्षाश्रु बर्साउने मौका
यसै चाडले दिलाउँछ।
बाहिर जगतै रमाइलो छ। सबैको हाँसोमा धने बस्नेत पनि हाँसेर सम्मिलित हुन्छ। तर उसको हाँसो
ओठबाट निस्कन्छ अनि त्यहींसम्म मात्र सीमित छ, हृदयमा प्रचण्ड अग्नि बलिरहेछ। बैदार बूढालाई दुई
महिनाको ब्याज मात्र उसले अहिलेसम्म बुझाउन सकेको छ। बैदार बूढा उसको घरको बाटो भएर ओहोरदोहोर
गर्नुपर्दा घोडा एकछिन थामेर धनेलाई कराउँछन्, ए धने, हरिरामको तैंले के भने, किन नटेरेको? कति
पुग्यो ब्याज, थाह छ के? हरिरामको भैंसी ल्याउने बेलामा भने रोईकराई गरेर ल्याइस्, अहिले थाहा नै
गर्दैनस्। हरिरामको, मेरो होस हराएर तँजस्तालाई के भने माल दिएछु, अलि दिनमा ब्याज पुर्याइनस् भने
हरिरामको, तेरो गोठ खाली पार्नेछु, बुझिस्?
धनेलाई कुरा सुनेर झनक्क रिस उठ्थ्यो, तर विवश थियो, के गरोस् चुप लागेर मुन्टो निहुराइरहन्थ्यो।
यता दसैंको हाहाहोहो छ। घरमा एकएकसरो लुगा सबैलाई फेरिदिनुपर्ने। खानलाई मकैबाहेक धानको गेडै छैन।
यी अनेकौं समस्या छन् धनेका अगाडि।
आज बिहान सबेरै भात खाएर धने घरबाट निस्केको बेलुका निकै रात बितेपछि मात्र आयो। मैनाले हत्तपत्त
गरी भात खानलाई पानी दिई। भात खाएर धने ओछ्यानमा आएर पल्ट्यो। मैनाले सबै धन्दा छिनी, चौंठीमा तेल
लिएर धनेको गोडाछेउ आएर बसी। झुमा अगि नै टाँडमा सुतिसकेकी थिई। मैनाले बिस्तारै धनेका गोडा मिच्न
थाली। यो मैनाको दैनिक कार्यजस्तै थियो। धनेका आँखा मैनाको सरल चेहरामाथि पर्न गए, औ उसको शोकाकुल
हृदयमा एकाएक आनन्दको सञ्चार भयो। मैनामाथि उसको हृदयमा एकतमासले करुणा भरिएर आयो। मनमनमा उसले
विचार्यो -- बिचरी मैना, दिनभरि कति काम गर्छे। न एक मुठी राम्रो खान पाउँछे। छोराछोरीकी आमा,
सुत्केरी बेलामा पनि एक मुठी यसो राम्रो खान पाइन। कति चाडबाड आएगए, उही बिहामा बनाइदिएका
फुलीमुन्द्रीबाहेक एउटा गतिलो गहना कमाइदिन सकिएन। तैपनि कति सन्तोषी छ। सधैं मेरो कष्टको ध्यान
राख्छे। सारा घरको भार उसमाथि छ। विधिको लेखा, यस्ती फूलजस्तीलाई कर्मले मजस्तो गरिपसित पारिदियो।
ऊ बिस्तारै उठ्यो र मैनाले उसको गोडा मल्दै गरेको एउटा हात समायो अनि साह्रै करुणामय स्वरमा भन्यो,
ए, भयो कति गर्छेस्, थाकिहोलिस्, अब सुत् न।
मैना पतिको यतिन्जेलको गम्भीर मुद्राले केही डराएकी थिई, झट्ट बोल्ने साहस पनि गर्न सकेकी थिइन।
तर पतिको प्रेममय उक्ति सुनेर उसको मुख हर्ष र उल्लासले उज्यालो भयो। उसले आफ्नो हात पतिको हातबाट
बिस्तारै छुटाउँदै हँसिलो मुखले भनी, तपाईँले अह्राएर गरेकी हुँ र तपाईँले भो भन्दा भो हुने,
नभन्दा नहुने? मेरो खुसीले पो गर्दैछु त।
धनेले उसको हाँसोमा सम्मिलित हुँदै भन्यो, लौ त्यसो भा तेरो खुसी, रातभरि नसुत्।
मैना केहीछिनपछि धनेको गोडामा ढोगी, तेलको चौँठी लिएर उठी औ चौंठी यथास्थानमा राखेर फेरि धनेको
छेउमा आएर बसी। धनेको कपालमा आफ्नो नरम हात फेर्दै उसले सोधी, आज दिउँसोभरि कहाँ जानुभो? गाउँमा
केही काम पर्यो कि?
प्रश्नले धनेको मुखमुद्रा गम्भीर पार्यो, केहीछिनपछि उसले भन्यो, कहाँ जानु, बुधे कामीले
गोडातीसेक कम्पनी दिन्छ कि भनेर गएको बैदारलाई 15 रुपियाँले मुखमा बुजो लाइरहेका 15 ले यो दसैं
जसोतसो टारुँला भन्ने थियो, तर डाङ्ग्राले किन दिनु? दिनभर त्यसै आलेटाले गरेर टार्यो। सामने
यत्रो महादसैं छ। लुगा कसैलाई हालेको छैनs: कसरी काम चलाउने खै?
कुरा टुङ्गिनासाथै उसले लामो सास फेर्यो। मैनाले पतिलाई शान्त पार्दै भनी, के त्यत्रो सुर्ता
मान्न पर्यो लुगा उही एकसरो नानीलाई चाहिन्छ अरूलाई पोहरकैले होइहाल्छ। गाउँघरमा खसीबोकाको खूब
भाउ छ, त्यो पेटारेचाहिं बेचिदिनू नि, देलान् ए गोडाबीसेक कम्पनी त? घरलाई सेतीको पाठो भा
भइहाल्छ। पर्सि हाट छ, नानी साथीहरूसित आफैं गएर एउटा गुन्यू र चोलोको लुगा किनेर ल्याउँछिन्, जान
रहर पनि गर्दैछिन्।
तेरो पेवाको खसी कसरी बेच्नु, कति गरेर गोडादुएक पाठा पालेकी छस्, तिनै पनि मासिदिएर के गर्नु?
आफूले थपिदिनचाहिं त्यत्तिकै हुन आँट्यो धनेले भन्यो।
कस्तो पेवा? कोबाट लुकाएर पेवा? मेरो न देउरानी, न जेठानी। आफ्ना खसम, छोरोबाट छुट्ट्याएर
पेवा हुन्छ?
मैनाको कुराले धनेको हर्षको सीमा रहेन। ऊ गद्गद भयो। धनको कङ्गाल भए तापनि विधिले उसलाई कस्तो
अमूल्य रत्न दिएको छ। कठैबरा भन्ने कोही नभएर धनको कुबेर हुनुभन्दा मैनाजस्तै जीवनसहचरी पाएर
भिखारी बन्नु अनेक गुना राम्रो। हृदयको हर्षोल्लास दबाउन नसकेर धनेले भन्यो, दैवलीला पनि कस्तो
बुझिनसक्नु, धनकङ्गाल भए पनि राजामहाराजाले नपाउने स्वास्नी मलाई भगवान्ले दिएका छन्। तँजस्ती जोई
पाउने गरिब भए पनि म भाग्यमान् हुँ।
भोभो, सर्काउनु पर्दैन ৷৷. ।
उता मैनाको बिस्तरामा सानो नानी सपनामै हो क्यार स्वाँकस्वाँक गरेर छटपटाउन थाल्यो। मैना
धनेको बिस्तराबाट उठेर गई। ऊ नानीको छेउमा पल्टेर नानीलाई चुकचुक गर्दै फुल्याउन थाली।