Basai


आज आइतबारे हाटको दिन। बिहान सूर्योदयदेखि नै गाउँघरका आइमाई, केटाकेटी सबै हाट लाग्ने डाँडोतिर
लम्किरहेका छन्। टाढा एक दिनभरिको बाटोबाट पनि मानिसहरू किनबेच गर्न आज त्यस डाँडामा भेला हुन्छन्।
किनबेचले मात्र गाउँलेहरूको निम्ति हाटको महत्त्व टुङ्गिंदैन, भेट गर्नुपर्ने मानिससित भेटघाट गर्ने
यो एउटा समस्थान हो। धेरै चिट्ठीपत्र कसैले ल्याएको छ कि, अड्डाबाट आफूले ल्याएको चिट्ठी कसैको हात
लाइदिनुपर्ने छ कि, यी सब कुराहरूका निम्ति पनि हाट आउँछन्। दुई सातामा एकपल्ट लाग्ने यो हाट
गाउँलेहरूका निम्ति महत्त्वको कुरा छ।
उही हाम्रो पूर्वपरिचित छहरे धारामा बिहानै झुमा नुहाउन लागेकी छ। अर्की एउटी युवती गाग्री काखीमा
च्यापेर आइपुगी। झुमातिर हेरेर उसले भनी, आयू, कान्छी दिदीले एकाबिहानै कसरी पानी खन्याउन
सकेको लोहाको जीउ छ कि क्या हो?
तँ मोरी नि त, नुहाउनै आएकी त होलिस् नि हाट जालिस् क्यारे? झुमाले भनी।
आ ৷৷. कल्लाई पो देखाउनु छ र यो बिहानै नुहाउनु हाटै गए पनि, तिम्रा पो कोको छन् र
सिँगारिनुपर्छ।
हेरौंला न त भरे निस्कने बेलामा को धेरै सिँगारिंदो रछ तीं थाहा भइहाल्छ नि
लल, हेरौली हाउ, दिदी हाउ, अरू ৷৷. को जान्छ हाट?
तँ जालिस् होला, अरू को चाहिन्छ र आ ৷৷. धेरैमा त केही मेलोबाटो पाइँदैन, हामी दुइटी मात्र जाम्न,
ल?
हुन्छ, म आउँछु है त तिम्रामा, छिट्टै उम्किनु क्या, है?
हुन्छ हाउ ठूली तँ रित्तै जान्छेस् कि चामल पनि बोक्छेस्?
काँ पाउनु र बोक्नु हाउ चामल, पाथी एक ठूला भटमास छन् त्यै लान्छु, तिमी नि?
म त रित्तै जान्छु, दाज्यूले लुगा किन्नू भनेर पैसा दिरान्, एउटा गुन्यू हेर्नुपरेको छ।
ल, बियाँलो नगर्नू है, म छिट्टै आउँछु।
ठूलीको गाग्री भरियो औ ऊ बोकेर उकालो लागी। झुमा लुगा लाएर गाग्री मस्काउन थाली।
झुमा र ठूली बेलैमा घरबाट निस्के। माथि उत्तीसघारीमा मोटे कार्की गोडातीनेक जक्खरजक्खर खसी
बिस्तारै घिस्याउँदै उकालो लागिरहेको थियो। झुमा र ठूली छिटोछिटो पाइला बढाउँदै उसलाई भेट्न पुगे।
ठूलीले भनी, कार्की दाज्यूले खसी हाट पुर्याउँदा त हाट पनि उठिसक्ला ए, यस्तै घिस्याइले त
कार्कीले खसीलाई आः आः गर्दै उनीहरूतिर हेरेर भन्यो, ए, काँ हाट हिँडेका? लुलु पछिबाट
धपाइदेदे ठूली, यी साँढे नहिंडेर धुरुक्कै रुवाए।
ठूलीले एउटा सिट्केनो टिपेर खसीलाई खेद्न थाली। खसीले अलि हिंडाइको रफ्तार तेज गरे।
बल्ल साँढेको काल पर्यो। कार्कीले लामो सास तान्यो।
नाफाको आधी त देउला नि यति गरिदिएको। ठूलीले हाँस्तै भनी, गाउँमा चाहिं कसैका खसीबाखा रहन
दिन आँटेनौ, खालि हाटै खेदिहाल्छौ।
खोरबाट चोरेर लान्नँ, लैजा बाबा, किनिदे भन्न तिमीहरू नै आउँछौ, अन्त मलाई के भन्छौ?
कार्कीले उत्तरमा भन्यो।
यतिन्जेल झुमा चुपै लागेकी थिई। ऊ कार्कीसित बडै बोल्दिन, कार्की पनि झुमाको खूबै कदर गर्छ। साह्रै
इत्तरिएर कुरा गर्दैन। झुमाले ठूलीलाई सङ्केत गर्दै भनी, अगि हिंड हाउ ठूली, साह्रै बियाँलो
भैसक्यो, ल्याउँछन् नै कार्की दाज्यूले बिस्तारै। ठूली र झुमा अगि लागे।
आउँदै गर है दाज्यू ठूलीले कार्कीलाई कराई।
ल, भरे हाटमा भेटौंला न। कार्की खसी डाक्न थाल्यो।
कार्की थियो निकै मोटो, त्यसैले ऊ मोटे कार्कीको उपनामले कहलाइएको थियो। गाउँका खसीबाखाहरू किनेर
हाटमा अलि नाफामा बेच्नु उसको पेसाजत्तिकै थियो। खेतबारी पनि आफ्नो निम्ति प्रशस्तै थियो। सानैमा
बाबुआमा खसेकाले जहानमा ऊ एक्लै थियो। बिहा पनि भएको थिएन, त्यसैले शोक न सुर्ता, केही पनि थिएन। जो
कमाइ गरेको पैसा अलिअलि सँगालेको थियो, तर कण्टक भएर ज्यानलाई मारेर कमाउनेमध्येमा ऊ थिएन। खाईलाई
रहेको पो धन भन्ने उसको सिद्धान्त थियो। गाउँमा बेलाबखत भएमा सबैको काम पनि चलाइदिन्थ्यो।
गाउँघरमा, स्त्रीसमाजमा ऊ साह्रै प्रिय थियो। आइमाईसित लागेर कुट्न सघाउनु, गुन्द्रीको तान
लगाइदिनु, तिहुन केलाइदिनु आदि काममा ऊ साह्रै दिलचस्पी राख्तथ्यो। त्यसैले गाउँका स्त्रीहरू केही
काम परे उसैलाई सम्झन्थे। कसैको घरमा केही मीठोमसिनो पाकेको छ भने कार्कीलाई बोलाउन पठाउँथे। कार्की
प्रायः घरमा भात पकाउँदैनथ्यो। गाउँमा जहाँ भेला भो, उहीं ऊ खान्थ्यो वा उसलाई खान कर लाउँथे। अनुहार
उति राम्रो, खुलेको नभए तापनि कार्कीको हृदय सफा थियो। कसैको कुभलो ऊ चिताउँदैनथ्यो। झुमाको
रूपलावण्य र सरलतामाथि ऊ आकर्षित थियो। झुमाप्रति उसका हृदयमा अनेक प्रकारका भावना खेल्थे र साँच्चै
नै झुमालाई ऊ हृदयबाट नै माया गर्थ्यो। तर उसले आफ्नो भाव आजसम्म झुमालाई प्रकट गरेको थिएन, न त उसको
दाज्यूसित झुमाको विषयमा कुरा चलाउन सकेको थियो। उसका मन परेका एकदुई जना साथीलाई मात्र भनेको थियो,
दिए बिहा गर्थें, तलकी कान्छीलाई।
आफ्ना हृदयका भावले आफैं कार्की झुमासित लजाउँथ्यो तापनि उसले परपरैबाट झुमालाई रिझाउने प्रयत्नमा
बाँकी राखेको थिएन। झुमा पनि कार्कीले लाज मानेको देखी ऊसित लाज मान्थी, बडै बोल्दिनथी,
बोलिहाल्नुपरे पनि कार्की काम लाग्ने मान्छे भनी राम्रा मुखले बोलिदिन्थी। नत्र अरू कुरामा ऊ
कार्कीको विशेष वास्ता गर्दिनथी।