तिम्रा पर्खालमै तिम्रो बाटो छ यो कसको महान् वाणी? नीत्सेको? अहिले ट्याक्क सम्झिन सकिनँ बाटो नभएको ठाउँमै गोरेटो छ यो कसको महान् वाणी? थाहा छैन लेख्न असमर्थ भएकै वेला, लेख्ने प्रयास गर यो कसको महान् वाणी? थाहा चैन तर, अहिलेको क्षणमा म यो तीनै आयाममा संकुचित भएको स्वयंलाई अनुभव गर्दैछु। बाटो छैन, गोरेटो छैन, लेख्ने सामर्थ्य छैन
मलाई सम्झना आइरहेछ, कसरी म प्रेमपत्रहरू 1520 पेजको लेख्थें। न हात थाक्दथ्यो, न मन र त्यत्ति लेखिसक्दा पनि लाग्दथ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन र आज? व्यक्त गर्ने कुरा नै पाउँदिनँ लाग्दछ, के मेरो भण्डार रित्तियो? वा मेरो सेन्सेटीविटीमा ठेला पर्यो? होइन, यी कुनै पनि कुरा होइनन्, म यथावत्, नै छु भन्ने धारणालाई कुम्लो झैं बोकी मेरो अन्तर्मन विद्रोह गर्न खोज्दछ। म कलम हातमा लिन्छु र कामना गर्न थाल्दछु -- यसबाट उच्च साहित्य नै निस्कोस् यहीं, यस चाहनामै, मेरो कमजोरी छिपेको छ। के मैले नै ठेक्का लिएको छु, उच्च साहित्य लेख्ने? के अरूले उच्च लेखेको उच्च साहित्य होइन? र उच्च साहित्य भनेको के हो? अब, भो? शंकर लामिछाने परास्त हुन्छ। कारण उसले आजसम्मन् उच्चताको परिभाषा बुझ्न सकेको छैन। शेक्सपियर टाइममा आफ्नी प्रेमिकालाई अर्कोले दृष्टिपात गरेको झझल्कोमै जुएल लडिन्थ्यो। आजचाहिं स्वास्नीलाई अर्कोले हेरिदिंदा उसको दृष्टिमा फ्रायड देखा परे लोग्नेलाई भरेका लागि खुराक मिल्दछ? यो दुई उच्चतामा, यी दुई महानतामा कत्तिको फरक छ? 2007 सालको क्रान्ति नभएको भए विजयबहादुर मल्लबाट कालो चश्मा सृजना हुन सक्थ्यो? र, 2007 सालको क्रान्ति भइदिएको भए, अघिबाटै दोषी चश्मा बन्थ्यो? एउटाले पर्खालमा बाटो खोज्यो।
अर्कोले त्यसैमा गोरेटो पैल्यायो।
र, मैले बाटो नपाउनुको अर्थ हो, मेरो लागि क्षितिज खुला छ। मेरो लागि अंकमालमा हात फैलिएको छ। आफ्नो सामर्थ्यभन्दा बढी प्रतिष्ठा पाएकोले नै आज म असहाय भएको छु। अब त, कस्तो हुन लाग्यो भने, एउटा पक्तिंमै वाह वाह एउटा लेखमै वाह, वाह। मानौं पाठकलाई मेरो सफलताको नशा लाग्यो, मानौं मेरो नामको हिप्टेनिज्म वशीबरणले उनीहरूलाई पो छोयो। र म? मचाहिं विदेशी साहित्य चोर्दछु। विलियम सारोयान पढें, मेरो शैली परिमार्जित भयो। हेनरी मिलर पढें, लेख्ने कुरामा सत्यवादीताको पुट बढ्यो। एनास निन पढें, गद्य काव्यात्मक रूपमा ढाल्न मन लाग्यो। सार्त्र र कामु पढें, शून्यवादको अध्ययन गर्न पुगें। जेम्स ज्वायस, र वाल्डवीन पढें, के भो के भो हिजो आज तिम्रै माया लाग्छ
शून्यवादले मलाई अन्यवादको भोक बढायो। सांख्यदर्शनदेखि प्रज्ञापारमिता पनि पढ्न पुगें। पाएँ, सब माया हो। स्वयंलाई छल्ने उपाय मात्र हो। ईश्वरले हुनसक्छ, सोखका लागि मानिस बनायोs: तर, बिडम्बना त के भने, मानिसले पूजाको लागि ईश्वर बनाइदियो सोखको लागि केही गर्नु र श्रद्धाका लागि केही गर्नुमा निकै अन्तर छ। सोखको लागि गरिएका कुरामा आनन्द हामीलाई स्वतः प्राप्त हुन्छs: श्रद्धाको लागि गरिएको कुरामा आनन्द रिटेलरबाट मात्र पुग्न आउँछ हामी कहाँसम्मन्।
यस कुराको बोध भएपछि सास फेर्दा पनि कफ अड्के जस्तो घ्यार्रघ्यार्र हुँदो रहेछ। त्यस अवस्थामा कसले भाषण गर्न सक्छ? कसले कविता गाउन सक्छ? कसले कविता लेख्न सक्छ?
कसले गोरेटो पैलाउन सक्छ?
तर पर्खालमै तिम्रो बाटो छ
कसले भनेको हँ, यो? नीत्सेले?
म जान्दिनँ, मैले लेखेको यो साहित्य भयो भएन तर, असलमा, साहित्यको परिभाषा नै मलाई थाहा छैन। साहित्य केको लागि? जनताको लागि? समाजको लागि? धर्तीको लागि? स्वयंको लागि? पैसा कमाउनको लागि? प्रतिष्ठा कमाउनको लागि? वा, आफू मरेर कता कता हिंडिसकेपछि एउटा लाइब्रेरीका दराजबाट धूलोमा बेरिएर एउटा इच्छुकका आँखाको लागि? वा, कोर्सबुकको लागि? यिनै प्रश्नहरूका पर्खालमा म बाटो खोज्दैछु
सोखको लागि साहित्य अँगालेको थिएँ, अब यो श्रद्धा हुन गयो। आफ्नो लागि लेख्न आरम्भ गरेको थिएँ -- प्रेमपत्रबाट, हृदयको व्याकुलताबाट, विदेशीदेशी विद्वान्को प्रभाव जो परेको थियो आफूउपर त्यसलाई देशवासीउपर दर्शाउने अभिलाषाबाट, डायरीबाट, अनुभवबाट, वाह वाहबाट र प्रतिष्ठाको लोभबाट आजचाहिं, म अर्काको लागि लेख्दैछु (रूपरेखा सम्पादकको लागि), जनताको लागि?, समाजको लागि?, भविष्यको लागि?, एक पाठिकाको अस्पष्ट अनुहारको लागि? तर, आज साहित्य मेरो लागि सोख रहेन। श्रद्धा हुन गयो। यसैको माध्यमद्वारा म बाँच्छु कि भन्ने भावनाले घर बनायो मुटुमा (मानौं रोजै पशुपतिनाथ धाइदिंदा, मोक्ष पाइन्छ कि भन्ने भावना) र, पर्खालको एक अर्को घेरा हो यो, जसमा म बाटो खोज्दैछु।
र, जनताको लागि मैले जीवनमा कहिले पनि लेखिनँ
आमालाई रिझाउन क ख ग लेखें।
मास्टरलाई रिझाउन प्रबन्ध लेखें।
प्रेमिकालाई रिझाउन प्रेमपत्र लेखें।
साहूलाई खुसी पार्न तमसुक लेखें।
जागीर बढाउन रिपोर्ट लेखें।
नाम कमाउन कथा लेखें।
प्रतिष्ठा कमाउन, भविष्यमा बाँच्न, यो गोरेटो लेख्दैछु। र प्रत्येक लाइन लेख्दा मेरा आँखामा प्रबुद्ध अनुहार नै आए। यस्ता अनुहार जसलाई म रुचाउँछु, वा जस्तो अनुहार वृद्धि होस् भन्ने कल्पना गर्छु। आमाको अनुहार, मास्टरको अनुहार, प्रेमिकाको अनुहार, साहूको अनुहार, जागिरको अनुहार, इज्जतको अनुहार, प्रतिष्ठाको अनुहार। हेर, हेर, कान्छा बाखी भन्ने अनुहार होइन -- जो उत्तर दुई नम्बरबाट काठमाडौं आर्लेर नयाँ सडकमा, नेपाल आर्ट एण्ड हैन्डिक्राफ्ट सेन्टरको शोविन्डोमा राखेको सानो याक देखेर कराउँछ। हो, ती जनता हुन्। र तिनलाई मैले माया नगरेको, घृणा गरेको होइन (दैव जान्दछ, म अर्काको जुनीमा यहीं जन्मूँ -- यो मेरो आन्तरिक अभिलाषा छ) तापनि म तिनका लागि साहित्य लेख्दिनँ। तिनको लागि लेखिएको कुरा शिक्षासामग्री हो -- साहित्य होइन। (र शिक्षासामग्री मैले नलेखेको पनि होइन र नछापेको पनि होइनन्, र तिनको नामकरण हाम्रो साहित्य नभएको पनि होइन) तथापि, म बालमुकुन्द र उत्तमको लागि लेख्छु, भूपी शेरचनको लागि लेख्छु, पारिजातको लागि लेख्छु, भीमदर्शन रोकाको लागि लेख्छु, कैयन् नजन्मेका अनुहारको लागि लेख्छु -- यस्ता अनुहार जो शून्यवाद बुझ्दछन्, जो याक र भेंडाको अन्तर थाहा पाउँछन्, जो होनोलुलु सम्मेलनको विश्वव्यापी प्रतिक्रिया अठोट गर्ने दुस्साहस राख्दछन्। मैले रचना गरेका साहित्यमा स्वदेशीपन छैन। त्यसमा अन्तरराष्ट्रिय बीज अंकुरित भएको छ। त्यसमा सार्त्र र सारोयान, जायस र जिल्ड, मिलर र मोराँक, जेनेट र दजाईको वीर्य मिसिएको छ। त्यो वर्णसंकर हो। तापनि, म गर्वसाथ भन्ने साहस गर्छु त्यो नेपाली हो, कारण त्यो मेरो गर्भमा अंकुरित भएको छ। र मेरो गर्भको रूप विश्वरूपको रूप हो। त्यसमा करोडौं ओभम् छन्। त्यसमा करोडौं स्पर्माटोजोआ छन्। कहिले कसैको ओभम्शैलीसँग कसैको स्पर्मविचार जोल्टिन पुग्छ। कहिले कसैको स्पर्मशैलीसँग अर्कोको दर्शन ओभम्। यही गर्भको पाठेघर बीचमा म जन्मिने उपाय खोज्दै छु। त्यही पर्खालभित्र मेरो ढोका छ। त्यही बाटो नभएको अन्योलमा मेरो गोरेटो छ। र त्यही गोरेटोमा मेरो भविष्यको राजमार्ग छ।