(कथामा प्रयुक्त कविता, चित्र र संगीतका स्रष्टालाई समर्पित) निर्मलको जीवनमा लिन्को प्रवेश त्यसरी नै भयो जसरी झिगंटीको खरिएको कापमा महीनौं सुतिरहेको घाँसको बीउ वर्षाको पहिलो झरीमा जुर्मुराएर उठ्छ जुर्मुराएर उठ्छ --
छानाभरि, जीवनभरि, संसारभरि,
कोठाभरि, आँखाभरि, संझनाभरि,
भविष्यभरि, हिजोभरि, आजभरि,
सधैंभरि लङ्गप्लेइङ रेकर्डका मसिनामसिना घेराभरि लिन्ले दिएर गएको रेकर्डमा अंकित सोनाटामा आरोह अवरोहभरि। निर्मलको कोठा। गलैंचामा त्यसै तकियाविना नै उत्तानो परी ऊ पल्टेको छ। आँखा उसका दलिनका मसिना पंक्तिमा छन् र ऊ ती पंक्ति पग्लिरहेको अनुभव गर्दैछ। कोठाको एक कुनाबाट संगीत रस्सिंदै आइरहेछ। त्यस संगीतमा एउटा नाउ अथाह जलमा, रात्रिमा, जूनको सहारामा, मधुरो हावाको बहावमा तरंगित भइरहेछ। नाउलाई पियानोको पर्दाबाट निस्केका तरंगले प्रवाहित गरिरहेछन् र नाउ ढलपलढलपल भई चाँदनीमा पाल टल्काउँदै बगिरहेछ। चन्द्रमा स्वयं करोडौं खण्डमा टुक्रिएर पानीमा छरिएर थर्थराइरहेछ। भायलिनको त्यस नाउमा आज निर्मल चढेको छ र उत्तानो परी आकाशलाई हेरिरहेछ। र आकाशलाई समुद्रले पखालेको छ र आकाशको जीउमा अझै पानीका थोपाहरू टलपलटलपल गरी झल्किरहेछन् -- त्यस्तै गरी जसरी लिन्का अनुहारमा, लिन्का जीउमा, नुहाएर पानीबाट निस्कँदा पानीका स्वर्गगङ्गाहरूको सृष्टि भएको थियो। संगीतको त्यस सुमधुर स्पर्शमा निर्मललाई लिन्को एक मायालु झङ्कार अनुभव भइरहेछ। यो स्पर्श जसले उसलाई समय र स्थानको परिधिबाट चुँडाउन सक्छ, यो स्पर्श लिन्को स्पर्श हो, लिन्को सम्झना हो, लिन्को सहवास हो, लिन्को बिछोड हो। निर्मल निर्मल लिन् लिन्
वातावरण त्यही, कोठा फरक,
निर्मल त्यही, सम्झना फरक,
संगीत त्यही, प्रकम्पन फरक ৷৷.
ती औंला जसले निर्मलका कपाल सुमसुम्याएका थिए,
ती औंला जसमा एक प्रिक्वेन्सी थियो पूर्णबोधको,
ती औंला जसले मस्तिष्कमा सञ्चार गरिरहेथे।
अन्धकारमा -- ढुक्ढुकी -- गरिरहेका -- दुई मुटुको -- अव्यक्त -- र -- शब्दहीनसन्देशहरू,
ती औंला, ती औंला ৷৷.
हामी दुई किन संसारको दुई भिन्न भागमा जन्म्यौं?
हामी किन संसारको यस भागमा मिल्न पुग्यौं?
हामी किन फेरि छुट्टिने होला?
(स्लो, निर्मल, स्लो
लागेको छैन तिमीलाई जीवन ढीलोसँग बगोस्?
विछोडको समय ढिलिएर आवोस्?
स्लो, लिन् स्लो
लागेको छैन तिमीलाई जीवन ढीलोसँग बगोस्?
मिलनको समय तन्किएर जावोस्)
यो मौन जसलाई संगीतले अँगालो मारेको छ।
यो मौन जो एक लयको काखमा लोलाइरहेछ,
यो मौन जसका गर्भमा अनन्त वेदना जन्मन बाँकी नै छन् अझ,
यौ मौन,
मौन कति मीठो
त्यत्ति नै मीठो जत्तिको त्यो छायाँ छ एउटा।
छरिएको कपालको,
निहुरेको कपालको,
जो हल्लिरहेछ मौनको श्वासप्रश्वासमा,
मैनबत्तीको ज्वालाबाट,
(अथवा लिन् निस्पन्द छ र यो मैनबत्तीको शिखा निद्रामा उँधिरहेछ)
र निर्मलको छायाँ लिन्को काखमा बिलाएको छ।
मेरो एउटा साथी छ लिन् उसको एक कविता सुन
(भूपि शेरचन) सुन्दर, शान्त र स्निग्ध
शुभ्र शिखा मैनबत्तीको
मानूँ प्रथम रजस्वलापछि स्नान गरेर
शारदीय घाममा आफ्नो कौमार्य छरेर
थकित थकित झैं
एक्लै एक्लै मुस्काइरहेकी
अनुहार हो यो कुनै सुकुमारी नवयुवतीको -- अनि (औंलाका कम्पन सोध्छन्।) -- मैले बीचका पंक्ति बिर्से -- (कविताको स्वरहीन भाषा झङ्कृत हुन्छन्) सुन्दर, शान्त र स्निग्ध
शुभ्र शिखा मैनबत्तीको
प्रज्ज्वलित झैं हर्षले
प्रकम्पित झैं हर्षले
प्रकम्पित झैं दर्दले
एकातिर धप्प धप्प बलिरहेछ अनुहार
अर्कोतिर तप्प तप्प ढलिरहेछ अश्रुधार ৷৷.
(अनि -- ( ৷৷. )
-- पुगेन र? -- ( ৷৷. )
-- हाम्रो निमित्त यति नै आवश्यक पनि छ --
कविताका अरू पंक्ति अरू कुनै दिन
अरू कुनै दिन? अब कति दिन?
आज बिछोडको कुरा नगरौं
नगरौं
नगरौं
आज जीवनका मिठासका कुरा गरौं (जीवन? जीवन त आश्चर्यले भरिएको एउटा वेदना हो -- लिन्ले भनेकी थिई अथवा शायद उसैले लिन्लाई भनेको थियो। दुई जनामा जसले जसलाई जे भने पनि सत्यको वजन दुवैले बराबरी अनुभव गरेका हुन्थे। ती दुईको भेट हुनु एकात्म्य हुनु, कुरा हुनु, कुरा बुझन, पछिपछि त कुरा नै नभई कुरा बुझनु, मानौं दुई शरीर र दुई आत्मा एउटै चालमा झङकृत हुन्थे, एउटा, यस्तो फ्रिक्वेन्सीमा जो हाम्रो परिचित इन्द्रिय भन्दा बाहिर छ) के प्रेम यसैलाई भन्छन्, निर्मल मलाई थाहा छैन। म जान्दिनँ जीवनमा मैले कैयौं पटक प्रेम गरेको छु। तर प्रत्येक पटकको तीव्रतामा फरक छ, लिन् शायद प्रेम प्रतिक्रिया हो, सायद प्रेम रेसिप्रोकल हो अथवा प्रेम केही होइन हाम्रो मानसिक स्तरको एउटा यस्तो ट्रान्समिसन हो जो आफ्नो स्वरको थात खोज्दछ स्लो, निर्मल स्लो लिन् कलेजमा पढ्दा एउटी मेरी सहपाठिनी थिइन्। पहिलो प्रेम मेरो तिनीसँग भयो। किताब बोकेको तिनको रूपले मलाई कसरी एक असीम सुख दिन्थ्यो। तिनको वरिपरिको हावामा एक मीठोमीठो गन्ध, तिनको वरिपरि बेरिएको कौमार्यमा एक अनौठो अनौठो तृप्ति ৷৷. आज म बुझदैछु त्यो प्रेम थिएन, लिन्। त्यो मभित्र लुकेको कैय्यन् कैय्यन कविताका पंक्तिले सौन्दर्यको माध्यमबाट खोजेको अभिव्यक्ति मात्र थियो। मभित्रका बायरन, शेली, जोन डन, र ब्राउनिङ्गहरूले मेरो मनको अन्धगर्भबाट बाहिर आउने साधन अपनाउन गरेको प्रयास मात्र थियो। त्यो प्रेम थिएन। म बुझदैछु, निर्मल (औंलाका चालमा रौंमा बाटो अलमलिएको भन्को आउँछ। लिन् मानौं स्वयंको त्यस्तै अनुभूतिलाई औंलाको प्रतीकबाट जन्म दिने प्रयास गर्दैछ। ऊ स्वयं पनि त त्यो समय र अनुभवको संघार नाघिसकी मानौं अब औंलाका इशारा मात्र छन् बाँकी जो प्रकम्पनको मुद्रामा त्यस युगमा पुग्न सक्दछन्।) त्यसपछि सम्बन्ध भयो मेरो अनेकसँग। ती सम्बन्धहरूलाई यौनका नदेखिने काँचो धागोले डोर्याएको थियो। ती सम्बन्धहरूमा मैले आफ्ना बाबुबराजूको, मानवइतिहासको सम्पूर्ण युग गुजारिदिएँ। प्रत्येकपल्टको चरमानन्दमा मेरो माध्यमबाट बितिसकेको युग छिनभरिको निमित्त बाँच्न पुग्यो। ती कैय्यन कैय्यन जुनि शायद यिनै यौनसम्बधका माध्यमबाट मैले भोग्नुपर्ने नै थियो, शायद ती नभोगेका भए म वर्तमानमा पुग्न सक्दिनँ थिएँ हुँला। शायद वर्तमानमा नपुगेको भए मेरो तिमीसँग भेट हुने थिएन होला। शायद म अन्य साधारण मानिस झैं असंख्य जुनिकै घेरामा अलमलिएर, व्यतीतका चक्करबाट उम्किन नसकेर, समाप्त हुन्थें हुँला ৷৷. लिन्, तिमी मौन छ्यौ स्लो, निर्मल, स्लो (लिन्लाई यी विश्वहरूको बीचको रिक्त अन्तरिक्ष पार त गर्न देऊ। तिमीले बोलेका शब्दहरू त तिमीले नबोलेका भावनाहरू, यिनै हुन् ती दुई पखेटा,
जसको भरमा ऊ तिमीकहाँ आइपुग्छे)
स्लो, निर्मल, स्लो (उसलाई अन्य साधारण केटी झैं तिमीसंग उडान भर्न काँचो धागोको सहारा लिन खोज्ने नतुल्याउ) लिन् मलाई लाग्छ, कहिलेकाहीं, मेरो कुनै जन्ममा मैले यसरी आफूलाई अभिव्यक्त गरेको छुs: केयौं बाटोबाट आएको हुँ
पर्वत बनी उभिएको हुँ
नदी नाला बनी आएको हुँ
हुरी बनी दुगुरिन्छु म
छायाँ बनी बिसाएको हुँ
यौवन बनी ढल्कन्छु म
माया बनी आएको हुँ (भीमदर्शन रोका), -- अनि? -- निस्तब्धता निकै उत्सुक छ। -- -- निस्तब्धतामा कविताका पंक्ति रुमल्लिरहेछन्। बिहानीपख युकलिप्टसको हुस्सु रुमल्लिए झैं। स्वरको सूर्य नउदाएसम्म मौनताको हुस्सु कसले फाँड्ने हँ? स्लो, लिन्, स्लो निर्मललाई तिम्रो काखमा विसान पाउन देऊ चौरासी लाख बाटोबाट निर्मल आएको छ, चौरासी लाख गीत निर्मलले गाएको छ, चौरासी लाख पर्वत बनी निर्मल ढेस्सिएको छ, चौरासी लाख नदीनाला बनी निर्मल हुत्तिको छ, चौरासी लाख हुरी बनी निर्मल, दुगुरेको छ, चौरासी लाख छायाँ बनी निर्मल ढल्केको छ, आह आज मात्र त हो नि, ऊ एक मायामा पुग्न सकेको छ बल्ल
झर्राम्म
स्लो, स्लो, स्लो, स्लो
स्लो, स्लो, स्लो, स्लो ৷৷. लिन्को छायाँ छ नि, त्यो भित्तामा परिरहेको, त्यही छायाँ जसलाई मैनबत्तीले स्पन्दित गरिरहेछ, त्यो छायाँ अलि झुक्दछ,
अझै अलि निहुरिन्छ,
अझै अलि झुक्दछ,
र तल काखमा आँखा चिम्लेको निर्मलको परेलामा ओठले मायालु स्पर्श गर्दछन् झवाम्म
चट्याङ्ग
(विस्फोट?) (भित्तामा टाङ्गिएको पेन्टिङ्गले निहुरिंदै गएको लिन्को छायाँबाट मुक्ति पाउँछ। त्यस चित्रमा माछा पक्रिन बनेको एक बाँध छ देब्रेपट्टि कालो डढेको काठको बाँध जसले पानीबाट निश्चल पारेको छ। दायाँपट्टि चित्रमा धपक्क बलिरहको आगोको मुस्ला झैं -- होइन, होइन, करोडौं, करोडौं सुन्तला आकाशको टोकरीबाट घोप्टिए झैं छ। र खेत छन् हरिया हुँदाहुँदा गहिरिएर नीला भएका। पानी छेक्ने काठका तीन छेकबार छन् देब्रेपट्टि जसले बताउँछ अहिले खेतमा बाढी छैन। यो सुन्तला छ अनि जो मैनबत्तीको शिखामा धपक्क बलिरहेछ -- यो एक उन्मुक्त उडान हो (विलियम कीनवूश्कको द बीअब एण्ड द आइल्याण्ड)। यो उन्मुक्त उडान, अथवा, आन्दोलित उडान होइन, निर्मलजी होशमा आऊ यो के तिम्री लिन्को सुन्तले कपाल होइन र जो विस्फोट बनी तिम्रो अनुहारमा ओइरिएको छ? दाहिने आँखामा, तिमी जो अग्नि देख्छौ नि -- त्यो स्पर्शको ज्वाला हो उसको सुन्तले रौंसंग बायाँ आँखामा तिमी जो कालो छेकबार देख्छौ नि, त्यो स्पर्श पर्खिरहेको युगानयुगको अन्धकारको पत्र हो त्यहाँ ज्योति अझै पुग्न बाँकी छ) यो पेन्टिङ्ग होइन कसैको
यो तिम्रो लिन्को चुम्बनको स्पर्श हो)
झवाम्म
चट्र्याम्म
(ब्यूँझ, निर्मल, ब्यूँझ, ब्यूँझ)
क्विक्, निर्मल, क्विक्, क्विक्, ৷৷.
लिन्
ऊँऊँ
केही बोल
हुन्छ (यो रात हो? हामी संगै छौं के छ?) तिमीबाट अंकमालमा बेरिएकी मैले नै हो अङ्कमाल बेरेको तिमीलाई, पत्रपत्रबाट उम्री आउँछु म तिम्रै बाहुपाशमा ৷৷.
तिम्रा श्वासप्रश्वास झर्छन् मेरा वरिपरि शीत झैं,
तिम्रा स्पन्दन लोलाइदिन्छन् मेरा कानका जालीहरू, लाग्छ मलाई
म चुर्लुम्म भइसकें सर्वाङ्गै, स्वर्गिक, ओह कस्तो स्वर्गिक (वाल्ट ह्विट्मैन)
चुर्ल्लुम्म
झ्वाम्म
(विस्फोट?)
यो देब्रे आँखामा भएको अर्को ज्योतिको विस्फोट हो के भ्यान्गोको सन्फ्लावरले पुनर्जन्म लिएन?
होइन, होइन (हो हो)
यो सन्फ्लावर होइन --
यो लिन्को दोस्रो चुम्बन हो
झवाम्म, झवाम्म, झवाम्म
के तिमी चढेको नाउलाई लहरले आत्मसात् गर्यो?
के आँधी आयो?
के हुरी आयो?
के भयो?
(एवेलान्चे?)
उघार निर्मल ৷৷৷৷ आँखा
आँखा, आँखा, आँखा
(दलिन थातमा बस्न पुगिसके। मानौं, दलिन सिपाहीका कतार नै हुन् -- एकनास, एक पंक्तिमा सोझा निर्मल, रेकर्ड समाप्त भयो। अब, सम्झनाको लयमा विलीन नहोऊ। ৷৷. )