Kunjani


आज तिमी वनकी रानी ह्वौली सिँगारेर,

छम्छम् पयर पाउजेब रेशम लतारेर।

केंवराको मुकुटेलाई लहरामा राज

दक्षिणका हावापरी चमर डोल्लान् आज।

मुजुरलाई नचाउँला थोप्ले पङ्ख फिँजाई,

डाँफे हामी उडाउँला, इन्द्रेनीलाई गिजाई

नील घण्टीको गिलासमा वनको मधुरस

ओठले छोई छल्र्यौ तिमी लोभी दिशा दस।

परी घेरा लाई हाम्रो हातेमालो नाची,

तिमीलाई रिझाउँला झीना कम्मर भाँची।

पहाडको अप्सराको बिहे गाना गाउँला,

बाह्रमासे गुलाफलाई,

रङ्ग राम्रो टिप्नलाई, तिम्रा ओठमा लाउँला,

जूँघे फूललाई ल्याई तिम्रो बिहा गरी गाउँला,

लहराको लगनगाँठो फूलको बाँधी लाउँला।

मुरली लाई ओठमाथि कृष्ण आफैं बनी,

तिम्लाई राधा बनाइदिउँला बाँसको बोटमनि।

लहरामा राधारानी बन तिमी नानी

गुलाफ सिउर कान्तिपुरी सारीमाथि धानी।

तिम्रो मनको धोको पुग्ला छोरी मेरी गोरी,

आज लावा अबीर लिई मचाउँला होरी।

आज तिमी वनकी रानी हौली सिँगारेर,

छम्छम् पाउजेब पयरका रेशम लतारेर।।7।।