Kunjani


औँसीको गाजल लमकोसे गरी कालसँग बिहामा सिंगार

छुरीको गोभी रगते रूखमा एक थोपा सिन्दूर देऊ निधार

कल्कीको फूल च्यातेर बुरबुर सिउँदो मेरो विरही सिहार।

त्यो लालपाती, रगत झैं राती

एक झुप्पा टिपेर मेरो

चिरिएको छातीमा घुसार

नीलकाँढामाथि जन्मेकी राती

बिनु पातकी आकाशलता

रेशम चुरी बनाई सिँगार

जाइको ढुङ्ग्री बेलीको फुली

कोल्पूतीरका गुलाफका शीत,

एकदुई थोपा शिरमा झट्कार।

नीरघण्टी भित्र, कोल्पूको जल

आखिर घुट्को ओठलाई उघार।

एक रउँ केशको, छातीमा राखी

चिरिएको छातीको चीरा

देखाएर काललाई सिंगार

झयाउचीसी शिला तकिया मेरी

शरीर आँसुखोला झैं पसार

अँध्यारो झर्ना करमको रातको

केश मेरो त्यसैमा फिंजार

वैलेका फूल झैं पहेंला हौला

विरहले चुसेको मुहार

न कोही रुनू, न कोही धुनू,

आँखा निलून् आँसुका घूटका

मलाई लगून् पूर्वको दुआर

बादल टुक्रा चले झैं जलूँ,

विरहकी बत्ती झैं बली

खरानी भै बिहानको सँघार

नबोलेस् बिहान काकको स्वरमा

उडिसक्यो छातीको जुहार।।7।।