Kunjani


होली कतै फुलेकी विष विरहिनीहरूकी सँगिनी

त्यसको होला पहेंलो रङ्ग, साँझ पर्दा मरेको घाम झैं।

वैलिएका बिजोगका मुहार चन्दनले लिपेर लाने झैं

अस्ताएका पीर्तिका जीवन पहेंलपाते झरेर जाने झैं

नबोलेर मरेका भाका पत्ती मिलाई कालले छाने झैं।

बैंस जस्तो हरियो बोटमा आगो फुली विरह झाने झैं,

सासलाई शीतल पत्ती रस प्रेमी दुःखलाई छाने झैं,

पृथ्वी माता दयालु बनी छोरी हाम्रा विरह जाने झैं,

आशालाई पहेंलो अक्षता, दिनलाई वनले माने झैं।

अघिका पीर्तिहरूका चोट मुर्दा रङ्गमा फुलेर आएर,

हामीहरू पछिका विरहीलाई सम्झे दयाले धाने झैं।

चिता जस्ती उज्याली विष विरहको आत्मालाई लाने झैं,

होली कतै फुलेकी विष विरहिनीहरूकी सँगिनी।

निराशलाई गहना राम्री काँढा झिक्ने मुटुकी नङिनी।

ल्याइदेऊ न मलाई टिपी वनबाट कालकी बहिनी।।1।।