Kunjani


ढुक्कुरले गर्यो बिहानै गाली आँखा खोली कुञ्जिनी भनेर।

अँधेरीको गुफामा काल तारामनि बसेथ्यो लुकेर।

आज राति छाया है नाचे आउँछन् पो लैजान भनेर।

चीसो फेर्यो तुषारे सास कालले आज कुखुराबासीमा

तल ओर्ल्यो कुइरे टुक्रो लेखबाट झरेर ब्याँसीमा।

आज रोई बिहानै लहरा फूल झरी बनेक वैरागी।

आज मरी चुलीमा रात आँसु यौटा उज्यालो दी डाकी।

आज मैले सपना देखें बिहा गर्ने हरियो बाँसलाई।

आज आँखा ठुलुटुली हेर्थे मूर्छा थियो रातिमा सासलाई।

आज बिनुबादलका छाया मधुरोले दिनलाई ढाक्दछ।

आज ढल्की झर्दछ दिन, अस्ताचलले मलाई माग्दछ।

आज जीवन कोल्पूको शिर झैं लहरीमा रोएर चलेको,

कसले देख्यो विरही वन भित्रभित्रै पुतपुत जलेको।

आज मलाई दुईचार थोपा, आज मलाई दयाको वचन।

आज मलाई गणेशको जल, आज मलाई कठै नि भन न।

आज मलाई एक थोपा झारी पहेंली त्यो उज्याली फूलमा,

वनबाट टिपेर ल्याइद्यौ सुत्न देऊ सितारे फूलमा।

भोलि मलाई अभाग भन्लान् रहिछ भन्लान् दुःखकी बहिनी

होली कतै फुलेकी विष विरहिनीहरूकी सँगिनी।।4।।