Kunjani


आँखा खोल्दा मनमा पोलो, सम्झी बसे विरही खोलो छ,

कठैबरा चिन्ताले चरचर कीरा लाग्ने रेशमी चोलो छ।

आधा यता इन्द्रेनी धनु, आधा सधैं रहन्छ उसपारि,

वसन्तको पुतली जीवन उडिजान्छ एक छिन सिँगारी।

पीर्ति बस्छ ढुक्कुरको गुँडमा छाती भुवा बिछ्यौना न्यानुमा,

हामी खालि चाख्नलाई आयौं भोकै रुँदै उसपारि जानुमा।

सच्चालाई संसार छैन सुनको पानी खारिने चिता हो,

बाटो हेर संसारको लामो नागबेली विशाल फिता हो।

आँखा हाम्रा रसाउन आए दुई बोटका दुई राता गुराँस,

आशा हाम्रा दारिमका मुना माटो हुन हिउँदमा उदास।

छोटा हाम्रा लाल ओठे मुस्कान बिहानका गुलाफी बदली,

हर्हर जल्छ अस्ताचल चुली जीवन छ चिताको पुतली।

आखिरलाई अँधेरी खालि स्वर्ग पनि आँसुले झलझल छ,

चिताएको नपुग्ने कठै हृदय यो सधैंको टलपल छ।

हाम्रा आँखा बोल्दैनन् भाषा जलेकालाई जलै छ बर्बर,

जीवन सबै दुःखका पाना, छाती तह आँसु छन् घर्घर।

आँसु रातको अँधेरी बासा, शीतका दाना पङ्खमा जडेर

भोलिलाई चुलीको पारि विरहको हावामा उडेर

आजलाई गुँडमा मेरो हजार दाने औँसी नै रही नि

फुलेकी होली पहेंली विष, टिपी ल्याइदेऊ विरहसँगिनी।।5।।