Kunjani


सानीमा सिन्धु, दुःखकी बन्धु संसार बिरानो,

छोरीका जात, आँसुका पात इतिहास पुरानो।

छातीकी प्राण पाड पारि जीवन भारी छ,

चरा र फुल उडेको कठै काँढाको बारी छ।

पहाडबाट रसाई पानी गाउँले पिउँदछन्,

पोल्टाको आँसु घुट्काले नारी संसारमा जिउँदछन्।

चिरेर दाँड पलाउँछ फर्सी, पहाडका फाटामा,

सधैंका घाउमा बग्दछन् खोला आँसुका बाटामा।

पहेंला पत्ती झरेका रूखलाई हरियो वसन्त,

मानिसको दिललाई झरेर आशा जीवन यो अनन्त।

काँचुली फेर्छन् सर्पले ज्यूँदै विषालु हुनाले,

नमरी जान्न मानिसको चोला बिजोगले छुनाले।

सिरिरि गर्दै शिशिरे बतास काँठमा झर्दछ,

मुटुमा प्राण उमेर काँढा बिजोगमा मर्दछ।

आशाले दिन्छे अँगालो हिमाल डुब्नलाई तयार,

अँधेरी झर्छे जलेर आखिर दिनको पुछार।

परेवी खान्न व्याधाको चारा तिर्खाले मर्दछे,

ढुक्कुरकी पोथी मरेर जान सँगैमा पर्दछे।

बास्नाले लिन्छे फूलको छाती बत्ती झैं बलेर,

अर्पेर जान्छे मात्राले प्राण पत्तीमा ठरेर।

ओठमा बस्छे जीवनकी लाली सँग हुन खरानी,

छाया नै लाग्छे मूर्तिका पिछा बस् भने नमानी।

कोयली लाग्छे वसन्त पछि, पालुवा फागुनकी,

एकली हुँदा चीसो भै जान्छ घाम नै आँगनकी।

चन्द्रमा पछि लाग्दछिन् सधैं स्वर्गमा रेवती,

सच्चा छ भने छुट्दैन भन्छन् उसपारि पीरति।।1।।