Kunjani


चुरी राम्रा लगाइदिए चीसा साँप झैं रेशमी नाडीमा,

तिनले हेरिन् हरिया बाँस आगो बल्ने वेदीका हारीमा।

बाटिदिए नागबेली चुल्ठो ऐना यौटा अगाडि राखेर,

तिनले हेरिन् सबैको मुखमा छाया आफ्ना आँखामा झारेर।

काठकी झैं पुतली भइन् झिलमिल गहना लाएर,

झारीलाई छाडेर आधा करमकी भुरुङ झैं भएर।

कस्ती राम्री पहेंली भन्थे सुनका पाटा पिटे झैं रोगन,

अरूलाई हरियो रिमझिम उनी देख्थिन् पहेंला पात,

मुर्दा रङ्गको तुषारे जीवन।।5।।