Kunjani


घण्टी बजे फूलका घण्टी चाँदी स्वरले जलका नाला झैं,

बैकुण्ठका फूलका घण्टी स्वर लहर चलेर नाला झैं।

साँझ ओर्लिन् गजूरी पिंडा गुलाफमाथि टेकेर स्वर्गका,

सुनको ढोका खोलेर पश्चिम वारितिर अप्सरा वर्गका।

बादल फूलका रङ्गीला झुप्पा नेपाल झुकी गर्दथे इशारा,

पहाडहरू श्रीपेचवाला अमर भावका झल्काउँथे तुषारा।

सूर्य बनी सुनका गोला अस्ताचलमा बसेर बोलाउँथे,

त्रिशूलीका दक्षिणी लहर सागरतिर जाऊँ भनी बोलाउँथे,

किन बस्छेस् कुञ्जिनी हरे भनी हाँस्दा मुखले गिज्याउँथे,

पूर्वतिर गुराँसे बादल रुनुपर्ला भनेर सम्झाउँथे,

संसार भन्थ्यो फुकूँ कि निभूँ अमर भावमा मर्त्यको कमजोरी

त्यसै बेला आकाशले भन्यो, तारा बन साँझकी सबेरी

कता कता झलक्क झल्क्यो गोरे राहुत उज्यालो मूरति,

तिनले देखिन् झलक्क कृष्ण राधासँग भुलेको पीरति,

के के मीठो वंशी झैं बज्यो अनकन्टार अन्तरकुन्तरमा,

कहिले झिल्के झिलिक्क तारा,

कहिले फूलफूल भरेर मन्दिरमा।

आफूलाई बोलाएजस्तो के के मीठो काने र खुशी भई,

अरू लागे दुलहा हेर्न उनी उठिन् साँझकी बहिनी झैं।।1।।