Langda Ko Sathi


हिउँदमा भने दिन काट्न उसलाई बडो मुश्किल पर्थ्यो। उसको जीउमा प्रशस्त लुगा हुँदैनथ्यो -- ओढ्ने ओछ्याउने लुगा पनि धेरै हुँदैनथे। घाम नलागेको वेला त दिनभरि जाडाले थुरथुर कामि नै रहन्थ्यो। उसका ओंठ नीला हुन्थे। हात खुट्टा कक्रिएर हिउँ जस्ता चिसा हुन्थे। उसले आफ्ना सुकिसकेका दुवै पाँसुलामाथि माथिसम्म पुग्ने गरी फाटिसकेको पट्टी बेह्रेर राख्दथ्यो। खुट्टामा फाटिसकेको क्यानभसको जुत्ता लाउँथ्यो। कहिले काहीं माग्नेहरूले आगो बालेर हात सेकाइरहेको देख्यो भने लंगड़ा पनि उहीं घस्रँदै गएर आगोको छेउमा बसिरहन्थ्यो। मैला गन्हाउने च्याथ्राच्याथ्रा भइसकेका वस्त्र लाउने अरू माग्नेहरू त्यहाँ झुरूम्म भएर अनेक कुरा गरिरहन्थे तर लंगड़ा भने केही बोल्दैनथ्यो। उ चुप लागेर तिनीहरूका कुरा सुनिरहन्थ्यो। आफूलाई तिनीहरूभन्दा धेरै बाठो र धेरै अनुभवी ठान्थ्यो।
बादल हटेर सरक्क घाम लागेपछि मात्र लंगड़ा त्यहाँबाट उठेर बजारतिर जान्थ्यो। तर रात पर्न लागेपछि स्टेशनको नगिच त्यही ओत लाग्ने ठाउँमा आएर कुनापट्टि सुत्ने गर्थ्यो। हिउँदमा दिनले छिटै विदा लिएर रात आउने हुनाले रातको राज्य लामो हुन्थ्यो। सिरेटोले हानेर त्यो वस्त्रहीन प्राणीको मुटु पनि छेड्थ्यो। हावा ज्यादै चलेको रात त उसलाई निद्रा नै लाग्दैनथ्यो। रातभरी उ सुत्दैनथ्यो। टहटह जून लागिरहेको हुन्थ्यो। चारैतिर शून्य हुन्थ्यो। जुनेली रातमा प्रकृतिको रूप ज्यादै उदासमय हुन्थ्यो। चारैतिर शून्य रातमा रूखपातहरू पनि शीतमा नुहाइरहेका जस्ता हुन्थे। शीतमा ल्याफल्याफति भिजेका रूखका पातहरू जूनको टकमा टल्कन्थे। ठूलठूला घर, कोठी, स्कूल, होटेल, पसल र बिल्डिङहरू पनि रातको चकमन्न वातावरणमा चुपचाप उभिरहेका जस्ता देखिन्थे मानो उनीहरू पनि कसैको मृत्युमा शोकमग्न छन्।
जून नभएको रातमा त झन् असंख्य तारै ताराहरूले आकाश ढाक्तथे। लंगड़ाले ती चम्किरहेका ताराहरू एकोहोरो हेरिरहन्थ्यो -- कोही ताराहरू केही बेर चम्केर फेरि एक छिन हराउँथे। फेरि एक छिनपछि उज्यालो भएर एक्कासी चम्कन लाग्थे। त्यो देखेर लंगड़ाको मनमा बालक अवस्थामा कसैले आफूलाई ती नक्षत्रका बारेमा सुनाएका अद्भुतकथाहरूको स्मरण हुन्थ्यो। उसको मनमा के के कल्पनाहरू आउन लाग्थे
जति रात बढ्दै जान्थ्यो त्यहाँ उति शून्यता र गम्भीरता पनि बढ्दै जान्थ्यो। चकमन्न रातमा चिसो हावा बगेर सारा पृथ्वी कक्रिएको भान हुन्थ्यो। प्रकृति पनि मौन बसिरहेको जस्तो लाग्थ्यो। सड़कमा बिजुलीहरू धीमा प्रकाशले बलिरहेका हुन्थे। स्टेशन वरपरको वातावरण ज्यादै शून्य र निस्तब्ध हुन्थ्यो। केवल रातको निस्तब्धतामा कताकता कुकुर भुकेको सुनिन्थ्यो।
आफू बसेको ठाउँदेखि आधा रातमा उँधोतिर हेर्दा तल जुबिली सेनिटोरियमका एकदुइ झ्यालहरूमा अझै बत्तीको प्रकाश देखिन्थ्यो। लंगड़ाले चुपचाप ती झ्यालहरूलाई एकोहोरो हेरिरहन्थ्यो। त्यहाँ बस्न आउने धनी मानिसहरूको उ कल्पना गर्न लाग्थ्यो। तिनीहरूको आराम र ऐश्वर्य्य बुझ्ने उ चेष्टा गर्थ्यो। उसलाई अझ पनि सम्झना छँदै थियो एक पल्ट तल जुबिली सेनिटोरियोममा बस्न आउने एक जना बङ्गाली परिवार सधैं रिक्सामा चढ़ेर चौरस्तातिर जान्थ्यो। त्यो परिवारमा एउटी सुन्दरी युवती पनि थिइन्। तिनले लंगड़ालाई भेटेको बखत सधैं बेगबाट एक रुपियाँ झिकेर दिन्थिन्। ती युवती कस्ती सुन्दरी थिइन् जुबिली सेनिटोरियमतिर हेर्दा लंगड़ाको मनमा अहिले पनि त्यस कुराको संझना हुन्थ्यो। ती युवतीको सुन्दर अनुहारको बारम्बार हृदयमा स्मरण हुन्थ्यो यसो हुँदा हुँदै रात सकिंदै जान्थ्यो र ताराहरू पनि बिस्तारबिस्तार हराउँदै जान्थे। पृथ्वीमा उषाकालीन वायु बग्नुभन्दा अघि दार्जिंलिंग सहर झिसमिसे अन्धकारभित्र नै छोपिएको हुन्थ्यो। तर हिमालको टाकुराहरूमा भने सूर्य्यको प्रथम किरण पर्नासाथ पर्वतराजले त्यहाँ रमाइलो सुनको मुकुट लाए जस्तो देखिन्थ्यो बाटाघाटामा पनि एकाबिहानै हिंड्ने दुधवालाहरू काँधमा दूधको ढुंग्रो लिएर घरघरमा गइरहेका हुन्थे। धीरधाम मन्दिरमा पूजाको आरम्भ भएपछि त बिहानको नीरवता राम्रै भंग हुन्थ्यो अनि पूजाको घण्टा धेरै बेरसम्म बजिरहन्थ्यो ৷৷.।
त्यो एक नाससित आइरहेको मन्दिरको घण्टाको स्वरले बिहानको वातावरण साह्रै रमाइली, साह्रै पवित्र पार्थ्यो। लंगड़ा मिरमिर उज्यालो हुन थालेपछि उठेर एक्लै डल्लो परी बिहानको घाम नआएसम्म पर्खिरहन्थ्यो। मानिसहरू हिंड्न थालेपछि लंगड़ा पनि त्यहाँबाट घस्रँदै निस्केर मास्तिर गाड़ी हिंड्ने ठूलो सड़कमा आउँथ्यो र फेरि पसलमा रोटी र चिया मागेर खान्थ्यो। कहिले काहीं तीनचार दिन घामै लाग्दैनथ्यो। जाड़ो चम्कन्थ्यो। दिन ढुस्स परेको हुन्थ्यो। हिउँ पर्लापर्ला जस्तो हुन्थ्यो। हिउँ पर्न थालेपछि त हिउँले बाटाघाटा सड़क एकदम सेताम्मे हुन्थे। सहरका बदमाश केटाहरू आएर हिउँको डल्लाले लंगड़ालाई खूब हान्थे -- हिउँको डल्लोले उसको कुममा, आङ्मा, टाउकामा लाग्थ्यो। लंगड़ा कराएर तिनीहरूपट्टि फर्केर गाली गर्थ्यो। यो क्रूर क्रीडाले धेरैलाई आनन्द दिए पनी कोहीकोही भावुक मानिस त्यहाँबाट हिंडिरहेका छन् भने लंगड़ाको त्यो दयनीय अवस्थामा टिठ्याएर ती केटाहरूलाई हप्काउँथे।
संसारमा उ त एउटा विकृत अंगभएको निर्बल प्राणी न थियो। यसैले मानव संसारभित्र भए पनि उ समाजहीन थियो। लंगड़ाको अवस्थामाथि न कसैले दया गर्थ्यो, न कसैले त्यति गम्भीर विचारगर्थ्यो। सबैले लंगड़ालाई दिन्हुँ देख्थे -- मानिसहरू सब आफ्नोआफ्नो चिन्तामा, स्वार्थमा डुबेर हिंडिरहन्थे। उनीहरूलाई आफ्नो संसार बाहेक, आफ्नो दुःखसुख बाहेक अरूको चिन्ता अथवा वास्ता नै हुँदैनथ्यो। स्कूलका विद्यार्थीहरू, अड्डामा जाने किरानीहरू, बजारका पसलेहरू सबै लंगड़ालाई रोजै यता र उता घस्रिरहेको वा सड़कको छेउमा बसेर मागिरहेको देख्दथे। तर कसैलाई त्यस लंगड़ाको वास्तविक अवस्थामाथि विचार गर्ने अवकाश नै थिएन। कहिले काहीं भावुक भएर लंगड़ाले यो कुराहरू विचार गरिरहन्थ्यो। उसको निम्ति दिन्हुँ नै त सूर्य्य उदाउँथे। बेलुकी हिमाल र फालेलुंग डाँड़ापारि सूर्य्य अस्त हुन्थे -- अनि साँझ पर्दै गएपछि फेरि आकाशभरि ताराहरू चम्किरहन्थे। यसरी रात शेष भएपछि भोलि फेरि सूर्य्योदय हुन्थ्यो अनि फेरि रात आउँथ्यो। अनि रात सकिएपछि फेरि दिन आउँथ्यो। यस्ता कैयौं दिन र रातहरू एकएक गरी लंगड़ाले काटिरहेको थियो। प्रतिदिन पेटको निम्ति माग्नु परे तापनि, दैनिक जीवनको एकनासपनले उसलाई दिक्क लागे पनि संसार एकोहोरो चलिरहेको देख्ता उसलाई कहिले त सपना जस्तो पनि लाग्थ्यो। उसको स्नेहहीन, सहानुभूतिहीन नीरस जीवन यसरी बितिरहेको थियो। न त्यो कहिले थामिन्थ्यो न कहिले त्यसको शेष हुन्थ्यो।
लंगड़ाले वर्षौंदेखि त्यहाँ यसरी जीवन काटिरहेथ्यो। उ कहाँबाट आएको थियो त्यो कसैलाई थाहा थिएन। वर्षौंदेखि मानिसहरूले उसलाई सधैं त्यतिकै देख्थे। कहिले काहीं कसैले उसको विषयमा सोध्यो भने उसले एउटा कुरा भन्थ्योकसैलाई अर्को कुरा भन्थ्यो। साह्रै खोजी गर्ने मानिस भेट्यो भने उ बिस्तारै त्यहाँबाट टोलिएर भाग्ने चेष्टा गर्थ्यो कि ता दिक्क मानेनर छोटकरीमा उत्तर दिन्थ्यो, -- हजुर, बरबटे कमान मेरो घर हो -- जन्मै लंगड़ा भएर जन्मेको ৷৷. पछि दुवै घुँड़ा राम्ररी सोझो पार्न नसक्ने भएँ ৷৷. कुँजे भएपछि के गर्नु ৷৷. हजुर परमेसुरले त्यस्तै लेखिदिएछ ৷৷. मागीमागी पेट भर्छु ৷৷. यति भनेर उ त्यहाँ धेरै नबसी कतै जान्थ्यो। कसैकसैलाई भने उसले अर्कै कुरा भन्थ्यो। आफूलाई मन परेको वेला सोध्ने मानिसलाई जीवन कहानी सुनाउँथ्यो। उसले भन्थ्यो --, घर नेपाल हो, हजुर ৷৷. नेपाल तीन लम्बरमा जग्गा छ, जमीन छ, खान लाउनु राम्रो पुगे नेपाल छोडेर किन मुगलान पस्नु पर्थ्यो? आफू सोह्र वर्षको हुँदा दोरलिंग पसेको। तर दिन दशाले गर्दा पहाड़ फर्कन सकिनँ ৷৷. यस्तै हालत भएर आज मागि पेट भर्दैछु ৷৷. डुली हिंड्छु ৷৷. एक मुठी सास छऊन्जेल अब हजुरहरूकै आछापीछामा छु ৷৷. के गर्नु हजुर ৷৷.
तर आफू कसरी लंगड़ा भयो, आफ्ना अंगहरू कसरी विकृत भए त्यो भने कसैलाई खुलस्त भन्दैनथ्यो। कसैले त्यसका विषयमा सोध्यो भने वा बल्जफ्ती भन्न लायो भने लाज माने जस्तो गर्थ्यो, उसको मुख एकाएक गम्भीर हुन्थ्यो -- कालो हुन्थ्यो। अप्रस्तुत भएर भूइँतिर उ एकोहोरो हेरिरहन्थ्यो र धेरै बेरपछि टाउको उठाएर झिनो स्वरमा भन्थ्यो, ৷৷. एक जना ৷৷. मान्छेको घरमा गोठालो भएर बसेको थिएँ ৷৷. घाँस काट्थें ৷৷. एक दिन पानीझरीको दिनमा ठूलो पहरानेर एउटा रूख्रमा चढी पात काट्न लाग्दा भननन रिंगटा लागेर खसें। मन्तिर खोलामा पुगेंछु के गर्नु, मरिहालेको भए त बेसै हुन्थ्यो हजुर ৷৷. नत्र यो पाप

दुनियाँलाई देखाउनुपर्ने थिएन। यति भनेर उ त्यहाँबाट घस्रँदै अर्कै ठाउँ जान्थ्यो।
घामले डढेर उसको अनुहारमा चाँया पनि परिसकेको थियो। उसको हिसि परेको अनुहार बिस्तार बिस्तार उमेर ढल्कँदै जाँदा चाउरी पर्दै गएको देखिन्थ्यो। उसको निधारमा धेरै रेखाहरू देखिन्थे। तिनै रेखाहरूबाट बाँच्नको निम्ति उसले जीवनमा गरेको संघर्षको परिचय पाइन्थ्यो। यसरी धेरै वर्षदेखि मागेर खाने उसको अभ्यास भइसकेको थियो। दार्जिंलिंग बजारको यो छेउदेखि उ छेउसम्म घस्रँदै हिंड्थ्यो। पहिलेपहिले ता उसले लामो लौरामा पाखुराको बलले झुण्डी एक खुट्टाले टेकेर हुर्रिदै हिंड्ने गर्थ्यो। अर्को खुट्टाचाहिं खुम्िचएर झुण्डिरहन्थ्यो। तर पछिपछि उसको अर्को खुट्टा पनि नचल्ने भयो र दुवै घुँडा खुम्च्याएर हातमा काठ समाती त्यसका बलले घस्रिने गर्दथ्यो। दाहिने देब्रे दुवै हातले एकएकपट्टि काठ समाती त्यसका बलले घस्रँदै हिंड्दा पछिल्तिरबाट उ पिंग खेल्दै हिंडिरहेको जस्तो पनि देखिन्थ्यो। यसरी घस्रँदै कहिले स्टेशनसम्म पुग्थ्यो, कहिले तल मोटर बस उभिने ठाउँमा आएर अघिल्तिर बसिरहन्थ्यो, कहिले सब्जी बेच्ने बारिक र कहिले मासुको पसलतिर गएर बसिरहन्थ्यो। कहिले घस्रँदै माथि चौरस्तासम्म पनि उ पुग्थ्यो। कहिले क्यापिटल सिनेमाको फाटकको अघिल्तिर भित्तापट्टि बोरा ओछ्याएर माग्न बस्थ्यो। पेट भरी खान पाएको दिन भने उ बेपर्वाही भएर यत्र तत्र डुलिहिंड्थ्यो। रात परेपछि कसैको दलानतिर गएर वा पसलको एक कुनामा ओत लागेर वा म्यूनिसिपल बिल्डिंगमन्तिर गएर सुत्ने गर्थ्यो
यसरी डुलिहिंड्दा एक दिन उसले बजारमन्तिर गड्डीखानको छेउमा एउटा थोत्रे झोपडी जस्तो देख्यो। पहिलेपहिले ता सबैको दृष्टिबाट आफूलाई बचाएर रातिराति त्यहाँ आएर सुत्ने गर्थ्यो। बिहान सबेरै उठेर कसैले नदेख्ने गरी त्यहाँबाट हिंडिहाल्थ्यो -- कसैले केही आपत्ति नगर्दा पछिपछि उ त्यहीं निर्विघ्न सुत्न थाल्यो।
कहिले भने लंगड़ाले पेट भरी खान पाउँदैनथ्यो। उसलाई जरो आइरहेको हुन्थ्यो। भोकै तीन चार दिनसम्म लडिरहन्थ्यो। आफू यसरी भोकै बसेको वेला कुकुरले उसलाई छोडेर जान्थ्यो र गल्लीको नालीतिर मुख गाडी जुठो मैलाहरू टिपेर खान्थ्यो अनि लंगड़ाको छेउमा मुख चाट्दै आउँथ्यो। लंगड़ालाई त्यस वेला रिस उठ्थ्यो -- डाह पनि हुन्थ्यो। भोको पेटको झोंकमा लौरो टिपेर कुकुरलाई हान्न खोजे जस्तो गरेर भन्थ्यो, -- काठा मैले खान दिइनँ भने त लप्लप् गरिहिंड्छस्?
कुकुर पनि आफ्नो दोष स्वीकार गरे जस्तै गरी कातर भावले पुच्छर हल्लाउँदै लंगड़ाको छेउमा आएर गुँडुलिन्थ्यो लंगड़ा कुकुरको अनुहार एकहोरो जिज्ञासु भावले हेरिरहन्थ्यो। कुकुर आफ्ना दुवै आँखा झिमझिम गर्दै थुतुनो भूइँमा तेस्र्याएर लंगड़ाको अनुहारमा यसरी हेरिरहन्थ्यो -- मानो कुकुरले अव्यक्त भावले भनिरहेको हुन्थ्यो तिमी त मान्छे भयौ साथी म कुकुर भएँ। मैले नालीमा मुख गाड़ेर खानेकुरो खाए पनि तिमीले ता त्यसो गर्न सक्तैनौ। हामी दुवैको संसारमा एउटै स्तर भए पनि तिमी मान्छे नै भयौ अनि म त कुकुर नै ठहरिएँ