मिरमिर उज्यालो हुनासाथ लंगड़ाका आँखा उघ्रे। चारैतिर मान्छे ठिम्याउन नसक्ने जस्तो झिसमिसे उज्यालो छाइरहेको थियो। चारैतिर शून्य र चकमन्न थियो। रातभरि चलिरहेको हुरी पनि थामिइसकेको थियो। पृथ्वी नै रातीको हुरीले उजाड पारेर गए जस्तो अहिले त्यहाँ यस्तो नीरवता झुण्डिरहेको थियो। लंगड़ा आफ्नो झुप्रोको एक कुनामा जाडाले एक डल्लो परी सर्प जस्तो गुँडुलिएर सुतिरहेको थियो। ढोकामा आग्लो लाएको थियो तापनि प्वालहरूबाट उषाकालीन प्रकाश त्यो उच्चाट लाग्ने झुप्रोभित्र छिरिरहेको थियो। पाखीले घुर्लुम्म सबै मुख छोपेर लंगड़ा सुतिरहेको थियो। उसलाई त्यो एकान्तमा, त्यो निर्जन ठाउँमा सुतिरहँदा यस्तो लाग्दथ्यो, पृथ्वीमा शरीरधारी प्राणी अहिले उ मात्रै जीवित छ ৷৷. । बिहानसम्म त सपनामा उ कुकुरसितै खेलिरहेको थियो। कुकुरसितै डुलिरहेको थियो। अहिले आफू ब्यूँझदा पनि उसले कुकुरलाई आफ्नै छेउमा सुतिरहेको सम्झिरह्यो। तन्द्रामा उ टोलिइरहेको थियो। हठात् झसंग भएर उसले पाखी पल्टाएर मुख उघार्यो -- कुकुर रहेनछ। झुप्रो चारैतिर हेर्यो -- मुन्टो तन्काएर कुनातिर पनि हेर्यो -- कुकुर कहीं रहेनछ। उ एकछिन जिल्ल परिरह्यो। अनि बिस्तारै उसलाई राम्रै सम्झना हुँदै गयो ৷৷. कुकुर त दुई दिनदेखि हराएको थियो। उसलाई कुकुरको सम्झना भयो। कुकुरको तातो शरीरले उसलाई छोइरहेको जस्तो लाग्यो -- कुकुरको आंग र थुतुनो गह्नाइरहेको जस्तो लाग्यो। उसले आँखा चिम्लेर कुकुर सम्झिरह्यो -- कहिले त्यो गुँडुलिएर आफ्नो छेउमा सुतिरहन्छ ৷৷. कहिले खुशीले पुच्छर हल्लाउँदै आफ्नो जीउमा टेकेर माथि घुँडासम्म थुतुनाले चाट्न चाट्न पुग्छ -- कहिले लुखुर लुखुर गल्लीको ओह्रालो उकालो गरिरहन्छ -- कहिले नालीतिर जूठो हड्डीका टुकाहरू खाइरहेको हुन्छ -- कहिले जीतेको दलानमा गएर सुतिरहेको हुन्छ कहिले चोकको वरपर हिंडिरहेको हुन्छ -- कहिले धनबहादुरको आँगनमा गएर घाम तापिरहन्छ -- कहिले वर्षाको मुसलधारे पानीमा निथ्रुक्क भिजेर गड्डीखानको ओह्रालो छिंडीमा गइरहेको हुन्छ -- कहिले स्टेशनको छेउमा खलासीहरूले त्यसलाई जिस्काइरहेका हुन्छन् -- कहिले आफ्नै छेउमा त्यो बसिरहेको हुन्छ -- यस्तै अनेक कल्पित चित्रहरू आँखामा ल्याउँदै लंगड़ा निकै बेरसम्म सुतिरह्यो। बाहिरको प्रकाश झुप्रोभित्र छिर्न खोजिरहेको थियो। झुप्रोभित्रको धमिलो उज्यालोमा लंगड़ाले आफ्ना वरिपरिका वस्तुहरू देख्यो -- आफ्नो लौरो थियो, भित्ताको कुनापट्टि च्याथ्रा भइसकेका अस्कोट र कमीज थिए। मैलिएर कालै भइसकेको पटुका पनि थियो, एक दुइवटा टिनका बट्टाहरू पनि थिए, धुलै धुलोले ढाकिएको भूइँ थियो। आधा च्यातिएको एउटा अखबारको टुक्रा पनि भूइँमा थियो, वरिपरि बिंड़ी र सलाइका टुक्राहरू छरिएका थिए, काठको आग्लो अनि चारैतिर टिनले बारेको एउटा छाप्रो थियो अनि मास्तिर उही टिनको छानु ती वस्तुहरू त प्राणहीन थिए -- तापनि लंगड़ा तीसित चिरपरिचित थियो मानो तिनीहरूका दुःख सुख लंगड़ाले बुझ्न सक्थ्यो अनि तिनीहरूले पनि लंगड़ाको दुःख सुख बुझ्न सक्तथे। लंगड़ाको निम्ति तिनै वस्तुहरू एउटा परिवार जस्तो भइसकेका थिए। तर आज ती सबै वस्तु लंगड़ालाई निर्जीव, चिसो र प्राणहीन लागे। तीसित न आफूले केही कुरा गर्न सक्थ्यो, न ती वस्तुहरूसित आज आफ्नो आत्मीय सम्बन्ध छ जस्तो लाग्यो। आज यही निर्जनतामा यिनै प्राणहीन वस्तुहरूको माझमा उसले आफूलाई पनि एव लै अर्ध मनुष्यको रूपमा सुतिरहेको पायो आज उसलाई राम्रै थाहा भयो -- संसारमा अहिले उसको कोही परिवार रहेनछन्, कोही आत्मीय रहेनछ, कोही समाज रहेनछ। चारैतिर उसको निम्ति शून्यता, नीरसता मात्र रहेछन्। आज उसलाई असाध्ये नरमाइलो लाग्यो। आज झुप्रोको यो नीरवलताले उसलाई झन् अधीर बनायो। लंगड़ा उठेर दुकरुक्क बस्यो। उसले आफ्नो जीउ पाखीले बेह्रेको थियो। तैपनि जाडाले उ कामि नै रहेथ्यो। उसका आँखालाई गम्भीर नैराश्यले ढाकिसकेको थियो। उसको दृष्टि देब्रेतिरको भित्तामा टाँसिएको थियो।
एकोहोरो हेरिरहँदा त्यहाँ कुकुरको चित्र देखियो, फेरि मान्छेको टाउको जस्तो चित्र पनि देखियो, कहिले धेरै कुकुर मैदानमा एक साथ निस्केको जस्तो देखियो, कहिले भैंसी जस्तो पनि देखियो -- यसो हुँदाहुँदै त्यहाँ धेरै गिद्धको चित्र देखियो ৷৷. अनि लंगड़ा झस्क्यो। उसलाई अस्तिको सपनाको झल्यास्स सम्झना भयो। त्यो सपनाको सम्झनाले उसलाई दिवक लाग्यो। त्यो सपना उसले आफ्नो सम्झनाको पाटीदेखि मेट्न खोज्यो, त्यो सम्झनालाई पन्छाउने चेष्टा गर्यो। तर सम्झना पुछिएन्। झन्झन् त्यो सम्झना वर वर हुँदै आयो। आफ्नो चारैतिर गिद्धहरू उडिरहे जस्तो उसलाई लाग्यो। कुकुर पनि रगतले मुछिएर बसिरहेको जस्तो लाग्यो। उसका आँखा तिरीमिरी भइरहे। कुकुरलाई गिद्धले ठुंगिरहेको उसले धेरै बेर सम्झन सकेन। कुकुरको उसलाई साह्रै माया लाग्न थाल्यो। उसका आँखामा आँसु आउँन खोज्यो। उसले बलजफ्ती आँखा चिम्म गर्यो। पट्टल बाँध्यो। तै पनि कुकुरको सम्झना मनबाट हटेन। उ चिच्याउन खोज्यो। उसले भूइँमा थुक्यो। यसरी उसले कुकुरको बारेमा कल्पना गर्दा गर्दै कुकुर त्यही छेउको नालीमा डुलिरहेको जस्तो पनि लाग्यो। उसले आग्लो अलिकति उघार्यो र बाहिर नियालेर हेर्यो। तर गल्ली शून्य थियो। त्यहाँ कोही मानिस पनि अझ उठेको रहेनछ। शीत र तुषारोले घरका छानु, रुखपात र सड़क भिजिसकेका थिए। प्रातःकालीन हावा तल बोटानिकल गार्डनबाट उँभो हानिएर बगिरहेथ्यो। रूखका पातहरू सरसर गर्दै मन्दमन्द गतिले हल्लिरहेका थिए। त्यसै बेला कोही हिंडिरहेको जुत्ताको आवाज आयो। जुत्ताको भद्दा ग्य्रापग्य्राप आवाज झन्झन् नजीकै आउँदै गयो। लंगड़ाले मुन्टो तानेर आग्लोबाट चियायो। एउटा पुलिस माथिबाट आउन लागेको रहेछ पुलिसलाई देख्नासाथ उ झस्क्यो। उ भित्तापट्टि टाँसियो र सास रोकेर बसिरह्यो। उसको मुटु ढुकढुक गर्न थाल्यो। उसका दुवै आँखा चञ्चल भइ उठे -- उसका दुवै कानले जुत्ताको त्यो भद्दा आवाजलाई अनुसरण गरिरहेका थिए। त्यो जुत्ताको आवाज एकछिनपछि पातलो हुँदै गयो अनि बिस्तार बिस्तार नसुनिने हुँदै त्यो आवाज त्यतिकै हरायो। लंगड़ाले लामो निःश्वास लियो। झर्को मानेर एकछिन गुनगुनाइरह्यो। उसले एउटा बिडी झिकेर सल्कायो र धुवाँको बीचमा लट्टिएर झोक्रिरह्यो। बिहान भइसकेको थियो। चारैतिर राम्रै उज्यालो भइसकेको थियो। हावा केही जोरले बग्न थाल्यो। लंगड़ालाई साह्रै जाडो लाग्न थाल्यो। सँधै त लंगड़ा बिहानै उठेर घस्रँदै चियाको पसलमा गएर चिया मागेर खान्थ्यो। जाडाको महीनामा उसलाई बिहानै चिया नभई हुँदैनथ्यो। आज लंगड़ा मन मारेर आफ्नो झुप्रोमा धेरै बेरसम्म बसिरह्यो। उसको मनमा न केही उत्साह थियो, न हर्ष न आशा। उसले आफ्ना दुवै हातले मुख छोप्यो। उ झोक्रिरह्यो। प्रतिदिन बाँचनाका निम्ति उसले माग्नु पर्थ्यो -- तर यो एकनाससित बितिरहेको जीवनले आज उसलाई ज्यादै विरक्त पार्यो। एउटा साथीको रूपमा आफ्नो दुःख सुखमा टाँस्िसएर बसेको एउटा मूक पशु त थियो त्यसैको निःस्वार्थ प्रेममा, त्यसैको मोहमा उ बाँचिरहेको थियो। यसरी धेरै बेरसम्म उ त्यहीं बसिरह्मो। वारीपारी घरहरूमा बल्ल बिहानको घाम लागेको देखियो। लंगड़ाले लामो निःश्वास लियो -- आफ्नो पोको काँधमा भिर्यो र आफ्ना लट्ठी र दुवै हातमा काठ समातेर बाहिर निस्क्यो। यसरी लंगड़ा बिस्तार बिस्तार आज एक्लै गड्डीखानको उकालो घस्रँदै हिंडिरहेको थियो। चोकभरि आइतबारको हाट लागेको थियो। चारैतिर सागसब्जीको पसलले फाँट डम्म थियो। हाट भर्न आउने मानिस धेरै थिए। लंगड़ा त्यहाँ पनि नबसी बिस्तार बिस्तार स्टेशनतिर गयो। उसलाई सपनाको कुरा सम्झना भइरहेथ्यो। उ धीरधामको फाटकसम्म घस्रँदै पुग्यो। उसले यताउति हेर्यो, बाटा मनि माथि पनि हेर्यो -- चारैतिर आँखा घुमायो। तर कुकुर भने त्यहाँ थिएन। सपनामा आफूले देखेको बिजुलीको खाँबा पनि त्यहाँ रहेनछ ৷৷. उ निकैबेर त्यहाँ बसिरह्यो। तर आज लंगड़ाले हात पसारेर बाटा हिंड्ने मानिसलाई भिक्षा मागेन। उ केवल मानिसको मुखमा पुलुक्क हेर्दथ्यो। उसको अनुहार आकृति नै उदास थियो। एक दुइ मानिसले लंगड़ाको अघिल्तिर दुइ चार पैसा फालिदिए। लंगड़ाले केही नबोली पैसा टिप्यो र शून्य दृष्टिले टाढातिर हेरिरह्यो। एउटा चिल आएर बाटामनिको चाँपको रूखको एउटा हाँगोमा बस्यो। लंगड़ाले त्यो चिललाई हेर्यो। आज उसलाई आफू पनि त्यो चिल जस्तै भएर आकाश आकाश उड्दै शहर, पाहाड, जंगल, खोला, नाला काटी, मुलुकमुलुक डुल्ने इच्छा भयो ৷৷. देश विदेश हेर्ने इच्छा भयो ৷৷. त्यसै बखत पारीपट्टि कसैको कुकुरको छाउरा एकोहोरो भुकेको स्वर सुनियो। लंगड़ा झसंग भयो ৷৷. । आज कुनै कुकुरको भुकाइले पनि उ झसंग हुन्थ्यो। उसले पारी गाउँमा हेर्न खोज्यो -- त्यहाँ आठ दश जना मान्छे आँगनमा थुप्रेर ताश खेलिरहेका रहेछन्। परतिर केटाकेटीहरू पनि घाममा खेलिरहेका रहेछन्। एउटा खैरे कुकुरलाई कसैले जिस्काइरहेको रहेछ ৷৷. । लंगड़ालाई विरक्त लागेर आयो। अब उसलाई त्यहाँ बस्ने मन भएन। उ त्यहाँबाट पनि हिंड्यो। जज बजारमा आइपुग्दा रेलको लिखनेर दुइवटा कुकुरहरू घाममा पल्टेर सुतिरहेका देख्यो। लंगड़ाले धेरै बेरसम्म ती कुकुरहरूलाई हेरिरह्यो। उ केही सोचिरहेको थियो। त्यहाँबाट घस्रँदै उ फेरि चोकको एक कुनामा आइपुग्यो। त्यहाँ पनि चारैतिर हाट भर्न आउने मान्छेको भीड रहेछ। उसलाई दिक्क लाग्यो। उ घस्रँदै हाइस्कूल जाने सड़कको मोडमा फेरि आयो। उसलाई भोक लागिरहेको थियो। दश बजिसकेको थियो। एउटा भलादमी तलतिरबाट आइरहेको थियो। लंगड़ाको मनमा सानो आशा पल्हायो। उ हत्तपत्त घस्रँदै सड़कको माझमा आयो र भलादमीलाई सलाम गर्दै पैसा माग्यो -- हजुर ৷৷. त्यो भलादमी तर्केर गयो। त्यसले फरक्क फर्की घृणापूर्ण आँखाले लंगड़ातिर हेर्यो। लंगड़ाको स्पर्शले मात्र पनि त्यसको शरीरमा फोहोर लाग्ला जत्तिकै त्यसले गर्यो लंगड़ा आश्चर्य्यले विस्मित भयो। त्यो मानिसमा मानवताको एक बूँदसम्म पनि रहेनछ। उसले त्यो भलादमीलाई त सधैं देख्ने नै गरेको थियो -- अरू किरानीहरू सरह त्यो पनि आफ्नो अड्डा रोजै त्यहाँबाट जाने गर्थ्यो कहिले काहीं त्यसलाई आफ्ना परिवारकासाथ हाटतिर डुलिरहेको पनि देखेको थियो। लंगड़ाले प्रायः त्यसलाई देख्ने गरेको, त्यसले पनि लंगड़ालाई रोजै मागिरहेको देखेको परन्तु त्यो त भलादमी थियो त्योसित सुन्दर स्वास्थ्य थियो त्योसित पैसा थियो। अनि लंगड़ा थियो पङ्गु, सड़कको माग्ने भिन्नता त्यसैमा थियो। हुनलाई त उ पनि मान्छे -- उ पनि मान्छे। तर आफू भलादमी हुँ भन्ने सम्झी उ मानवताको तहबाट धेरै तलतिर गिरेको थियो। लंगड़ा फर्केर अघिकै ठाउँमा आएर बस्यो। दुनियाँको यो विचित्रता देखेर उ जिल्ल परी हाँस्न खोजिरहेको थियो। तर उसको हँसाइमा आँसु बादल भएर मानव हृदयको अन्तरभित्र रसिन पुग्दथ्यो। किनभने अन्तर्द्वन्दले उसलाई विक्षुब्ध पारिसकेको थियो। उसका आँखामा सभ्य समाजप्रति अवज्ञा नाचिरहेको थियो।
उपेक्षा, उदासीनता, अकर्मण्यता र संघर्षका हजारौं फिलिंगाहरू आएर उसको हृदयलाई डाम्न खोज्थे। तर उ मूक नै थियो। उ बोल्न पनि सक्तैनथ्यो। तो त उसको निम्ति रोजै भइरहने घटना थियो ৷৷. । मास्तिरबाट एउटा अल्लरे ठिटो हातमा नाम्लो झुण्डाएर कोइलाको पसलतिर गइरहेको थियो। कोइला बोक्ता बोक्ता उसको शरीरको बस्त्र र अनुहार समेत कोइला जस्तै भइसकेको र पसीना उसको निधारबाट बगिरहेको थियो। कालो बिर्खे टोपी लाएको, मैला अस्कोट लाएको, घुँडा नछोपिने गरी आधा सुरूवाल लाएको, दौरामाथि पटुका पनि बाँधेको थियो -- उसको अनुहारमा निर्दोस हाँसो खेलिरहेको थियो। जुँगाको रेखी बसिसकेको -- ठूलाठूला तिग्रा भएको जवान ठिटो थियो। अस्ति दशैं तिहारमा आफूले गाएको तामांग गीतको भाका हाल्दै आफ्नै धुनमा ओह्रालो कोइलाको पसलमा जान लागेको थियो। उसको आँखा लंगड़ामाथि पर्यो। उ गुनगुनाउन छोडेर ठीङ्ग उभिया। उसका आँखा आश्चर्य र जिज्ञासाले चम्के। उसले लङ्गड़ालाई एक छिनसम्म हेरेर केही सोध्न खोजेको थियो तर उ चुप लाग्यो। सोधेन। उसले आफ्नो अस्कोट छाम्यो। एउटा ताँबाको पैसा र दुइटा दुअन्नी भेट्टायो। हातको नाम्लो काँधमा फाल्यो र लङ्गड़ाको अघिल्तिर आएर खस्रो परन्तु सहानुभूतिको कण्ठमा भन्यो -- ए दाइ लौ चिया खाजा किनेर खाऊ लङ्गड़ाले हात पसार्यो। एउटा ताँबाको पैसा र दुइटा दुअन्नी हातमा खसे। छक्क परेर लङ्गड़ाले त्यो जवानको आँखामा पुलुक्क हेर्यो। त्यो जवान हाँसिरहेको थियो। उसको अनुहार कोइलाको धुलाले कालो देखिए तापनि त्यो कोइला बोक्ने कुल्लीको अभ्यन्तर उदारता, मानवता र आत्मीयताले साह्रै उज्ज्वल, साह्रै पवित्र र निष्कलंक देखिन्थ्यो त्यो जवान कुल्ली फेरि तामाङ्ग गीतको भाका हाल्दै छिंडितिर पस्यो। लङ्गड़ाले उसलाई हेरि नै रहेको थियो निस्फीक्रिसित त्यो जवान आफ्नो गीतको लयमा हातको नाम्लो हल्लाउँदै गइरहेको थियो। एकै छिनपछि एउटा भित्ताले उसलाई छेक्यो र उ नदेखिने भयो। लङ्गड़ाले लामो सुस्केरा हाल्यो। आधा दिनसम्म उ यता र उता गरिरह्यो, कहिले चोकको फाँटमा बसिरह्यो, कहिले पानको पसलको अघिल्तिर बसिरह्यो कहिले मासुको पसलनिर गएर बसिरह्यो। लङ्गड़ालाई दिक्क लाग्यो। उ चौरस्तातिर जान लाग्यो। दिन रमाइलो गरो उघ्रेको थियो। सिनेमा हेर्न जाने मानिसहरू रिकं सिनेमातिर जान लागेका थिए। लंगड़ा पनि आफ्ना दुवै पाखुराको बलले घस्रँदै उकालो गइरहेको थियो। बिचउड रोडबाट उ फेरि उकालो लाग्यो। ठूलो डाकघरको अघिल्तिर घुम्तीमा पनि उ आइपुगेको थियो माथिबाट ओह्रालो वेगले दौडाएर ल्याएको एउटा मोटरले लंगड़ालाई किल्चेर झण्डै धुलो पार्यो। तर मोटर वेगले हानिएर सड़कको छेउतिर गयो र लंगड़ा अलिकतिले बाँच्यो। तर लंगड़ालाई त्यो केही जस्तो लागेन। उसको अनुहार एकोहोरो थियो -- उ अर्कै भावमा, अर्कै विचारमा डुबेको थियो। मानिसहरू उसको अघिल्तिर पछिल्तिर हिंडिरहेका थिए कुनैकुनै मानिसले हातमा छाता बोकेर वा लट्ठी टेकेर लामोलामो पाइला सार्दै आफ्नो अघिल्तिर हिंडिरहेको देख्यो भने उ त्यो मानिसलाई धेरै बेर हेरिरहन्थ्यो अनि अन्यमनस्कभावले आफ्नो घुँडा मुसार्थ्यो, गोडा छाम्थ्यो र एउटा उद्वेगले उ घस्रँदै हिंड्न थाल्थ्यो। उ पनि त्यसरी नै त्यो असल मान्छे जस्तो हिंड्न खोज्थ्यो। यसरी मोटरले झण्डै किचेर उसलाई मारेको -- एक जना मान्छेले हेरिरहेको थियो। त्यो मान्छे आफ्नो भद्दा जुत्ता ग्य्राप् ग्य्राप् बजाउँदै लंगड़ाको छेउमा आयो र भन्यो -- ৷৷. आँखा छैन? छेउ लागेर हिंड्नुपर्छ नि
मोटरले किचेको भए ৷৷. हेर, आन्द्राभुँडी निस्कने ৷৷. लंगड़ाले त्यो मानिसको मुखमा पुलुक्क हेर्यो। त्यसले बोलेको भाषा नबुझे जस्तो गरेर त्यस मानिसको अनुहार वाल्ल परेर हेरिरह्यो। त्यो मानिस फेरि अल्लि झर्को माने जस्तो गर्यो तर फेरि केही भनेन। एक छिनपछि त्यो मानिस असजिलो मानेर नजीकको एउटा रेस्तुराँतिर गयो। लंगड़ाको आँखाले त्यसलाई पच्छ्याइ नै रहेको थियो। तर रेस्तुराँभित्र पसेर त्यो मानिस फेरि निस्केन। एक छिनपछि त्यो रेस्तुराँ भित्रबाट एक जना ठिटो र दुइटी ठिटीहरू निस्के। त्यो नेपाली ठिटोको पोशाक अंग्रेजको जस्तो थियो, हातमा सिग्रेटको टिन र मुखमा सिगरेटको ठुटो पनि च्यापेको थियो, अनुहार गोरो भए पनि त्यो निस्तेज, क्रान्तिहीन निंबु निचोरेको जस्तो अनुहार थियो। ती ठिटीहरूका हातमा एकै रंगका ब्याग थिए। दुवैका अनुहार त गोरो तर अनुहारमा पाउडर, क्रीम, र ओठमा लिप्स्टिक दलेको थियो -- हेर्दा जापानी पुतली जस्ता देखिन्थे। एक जना ठिटीले त हातमा सिगरेट पनि च्यापेकी थिई त्यसका दुवै आँखो भौं लेख्न नजान्ने चित्रकारले कोरे जस्ता काला बेढपका धर्सा थिए। त्यो देख्ता लंगड़ाको भाव तरंग एक छिन खलबलियो -- उसलाई लाग्यो, यिनै प्राणीहरू सिनेमाका नायक नायिका बनेर दुनियाँमा रंगमञ्च देखाउँदा होलान् उ त्यहाँ पनि धेरै बस्न सकेन। लंगड़ा फेरि उकालै जान लाग्यो। हेर्दा टाउनहलको घडीमा अढाइ बज्न लागेको रहेछ। टाउनहलको फाटकको सम्मुख आइपुग्दा माथिबाट एउटा मोटर आयो र फाटककै अघिल्तिर थामियो। भित्रबाट एक जना मानिस निस्क्यो। मानिस पुड्को थियो तर पोशाक भने अंग्रेजकै जस्तो थियो। मोटरबाट एक जना स्वास्नीमान्छे पनि निस्कन लागेकी थिई। त्यसले आँखामा गोगल्स् लाएकी थिई त्यसका ओंठमा रातै लिपिएको लिप्स्टिक टाढैबाट छर्लङ्ग देखिन्थ्यो। लंगड़ा हेरिरहेको थियोती दुवै नेपाली नै रहेछन् दुवै क्यापिटल सिनेमा घरतिर लागे -- लंगड़ाले पछिल्तिरबाट हेरिरह्यो। उसका आँखामा, त्यो स्वास्नीमान्छेले हातको ब्याग हल्लाउँदै कम्मर मर्काईमर्काई मानिसको पाखुरा समातेर हिंडिरहेको दृश्य धेरै बेर नाचिरह्यो। लंगड़ाको अघिल्तिर दुइ तीनवटा, सिनेमाका पोस्टरहरू टाँस्सिएका थिए। एउटा पोस्टरमा लडाईंको वीभत्स दृश्य थियो अर्कोमा एकजना मानिसले अर्कोलाई गोलो हान्न लागेको थियो, अर्कोमा एउटी ठिटीलाई आफ्ना बाहुपाशमा राखी एउटा युवकले म्वाईं खाइरहेको दृश्य थियो। यी पोस्टरहरूलाई केही बेर लंगड़ाले हेरिरह्यो। लंगड़ा त्यहाँ धेरै नबसी फेरि बजारतिर आयो। यसरी दिनभरि यता र उता गरिरह्यो। उसलाई कता जाउँ कता जाउँ जस्तो लागिरहेको थियो। यसो हुँदा हुँदै दिन ढल्किसक्न लागेको थियो।