Langda Ko Sathi


अब उ बिस्तारबिस्तार लयेडस् रोडको उकालोमा घस्रन थाल्यो। उसका दायाँ बायाँ घडीका पसल र जुत्ताका पसलहरू थिए। मानिसहरू त्यतिकै हिंडिरहेका थिए। सबै आफ्ना आफ्नै विचारमा मस्त थिए। कसैलाई लंगड़ाको मानसिक अवस्थामाथि विचार गर्ने अवकाश थिएन ৷৷. कसैलाई उसको अवस्थामाथि सहानुभूति प्रकट गर्ने समय थिएन।
सड़क मुनि माथि त्यस्तै घर, कोठी, पसल, होटल, रेस्तराँ थिए जहाँ लंगड़ाभन्दा धेरै असल र धनी मानिसहरू थिए -- जहाँ ऐश्वर्य्यको निम्ति उनीहरूसित अनेक साधन थिए। ती मानिसहरूले लंगड़ा जस्तो घस्री घस्री माग्न पर्दैनथ्यो -- पेट पाल्न पर्दैनथ्यो -- जाडादेखि बाँच्न बोरा वा थांगनामा बेह्रिएर च्याथ्रा भइसकेका लुगा लाएर कसैको दलान दलान आश्रय लिएर रात काट्न पर्दैनथ्यो -- पानी झरीदेखि बाँच्न कसैको कुना, काप्चा, दलान र बिल्डिङ्गहरू मनि गएर ओत लाग्न पर्देनथ्यो। बाँच्नाको निम्ति तिनीहरूले लंगड़ा जस्तो हीन भएर दिनमा पनि रातमा पनि संघर्ष गर्न पर्दैनथ्यो।
यसरी घस्रँदै उ फेरि माउन्ट प्लेजेन्ट रोडको मोड़मा आइपुग्यो। उ बाटाका रेलिङ्गको छेउमा बस्यो। उसलाई रिंगटा चल्ला जस्तो भइरहेथ्यो। लंगड़ाको सामुन्ने एउटा पनिको पसल थियो। पसलको देब्रेतिर सिनेमाका ठूला ठूला दुई रंगीन पोस्टरहरू थिए उसले ती पोस्टरहरू हेरिरह्यो। दुनियाँले आफ्नो ऐश्वर्य र मनोरञ्जनका निम्ति कति धन कति परिश्रम व्यय गर्दा रहेछन् एउटा काल्पनिक छायाँको पछि पछि लागेर दुनियाँ नै आज कसरी बौलाहा भएर हिंड्दारहेछन् ৷৷. लंगड़ाले विचार गर्यो। आज आफू रहेको त्यही दुनियाँमा, त्यही मानव संसारमा आफूचाहिं एउटा हतभागी प्राणी भएर बाँचिरहेको छ धनी र दरिद्रको संसारमा कति भिन्नता रहेछ त्यो आज लंगड़ाले बुझ्यो।
उ झोक्रिरहेको त थियो तर उसका दुवै आँखाले सड़कमा हिंड्ने ती मानिसहरूलाई, जो लंगड़ाभन्दा धेरै सुखी थिए, हेरिरहेका थिए। उनीहरूको जीउमा हेरेर उसले आफ्नो फाटिसकेको लुगातिर पनि हेर्यो ৷৷. आज उसलाई आफ्नो संसार कस्तो कस्तो लाग्यो। आज उसलाई संसारमा बाँच्ने इच्छा नै भएन। आफू जन्म्यो, बढ्यो र दीर्घकालदेखि उसले यसरी आफ्नो जीवन बिताइरहेको थियो ৷৷. आफ्नो अवस्था सम्झँदा आज परमेश्वरले उमाथि अवहेलना र अन्याय गरे जस्तो लाग्यो ৷৷. उसका दुवै आँखा आँसुले डब्डब् भए। उ मूक भएर बसिरह्यो। तर सड़कमा हिंड्ने मानिसहरूआफ्नाआफ्ना विचारमा मग्न भएर हाँस्दै एकोहोरो हिंडिरहेका थिए।
उसले मानिसहरूलाई यस्तो दृष्टिले हेर्दथ्यो मानो उसका आँखाले भाषाहीन विवाद गरिरहेथ्यो। उसको अन्तरमा शायद ठूलो हुरी चलिरहेथ्यो -- उसको पीडित आत्माले शायद यसो भनिरहेको थियो ৷৷. आज एउटा माग्ने खोरन्डे भएर पृथ्वीमा घस्रीघस्री बाँचिरहेको छ। ईश्वर गरीब, अन्धा, लुला, लंगड़ा, खोरन्डेको निम्ति किन संसार बनायो? उनीहरूलाई यो संसारमा किन बाँच्न दियौ? उनीहरूलाई किन यसरी यन्त्रणा भोग्न दिइरहेछौ? मैले देख्दा देख्दै तो मानिसहरू हाँस्दै हिंडिरहेका छन् -- उनीहरूले म जस्तो घस्रोघस्रो पेट पाल्न पर्दैन। मैले दिन प्रतिदिन अरूले दिएको भिक्षाले पेट भर्न पर्छ। ती असलअसल घर र अट्टालिकामा बस्ने धनी अलमस्तिहरू मोटरमा हावा खान्छन्s: रेस, सिनेमा, होटेल, नाच गानमा भुलिरहन्छन् ৷৷. औ म ৷৷. ? मेरा यी दुवै खुट्टा काम नलाग्ने छन्, मसित आफ्नो पेट पाल्ने धन पनि छैन ৷৷. म मानिसको घुइँचोभित्र रहेर पनि समाजहीन भएर आज कसरी एक्लो जीवन बिताइरहेको छु मेरो एउटा साथी थियो उपनि अहिले छैन। अब मकेका निम्ति बाँचूँ? कस्को निम्ति जोऊँ? अहिले समाज र पृथ्वीको पनि म भार भइरहेछु। मैले जन्म लिएर संसारमा जो देखें त्यति नै मेरा निम्ति पर्याप्त छ। अब अर्को जुनिमा फेरि माग्ने भएर नजन्मुँ म जस्ता माग्नेको निम्ति यो संसार होइन रहेछ। म अहिले संसारको भारले -- मानव -- अत्याचारले कसरी थिचिएको छु ৷৷. अब यो संसारदेखि जति चाँडो विदा लिन सकुँला उति मेरो निम्ति राम्रो

छ ৷৷. जीवनको यो ठूलो यातना र कष्टबाट त म सधैंको निम्ति मुक्त हुन सक्नेछु ৷৷. ।
लंगड़ाका गालामा आँसु बगिरहेथ्यो। उ मौन थियो। आँसुले लतपत भइसकेका उसका आँखामा विषाद र यन्त्रणाको भाव झल्किरहेको थियो। फलामको रेलिंगलाई उसले दुवै हातले समात्यो र धेरै बेर हातको बलले झुण्डिई अढेस लागेर उ घोप्टिरह्यो ৷৷. ।
आकाश बादलले ढाक्दै आइरहेको थियो।
आज पनि सूर्यास्त हुँदा हिमालमा फेरि उस्तै रमाइलो गरी घामको पहेंलो आभा पर्यो। आधा बादल ढाकेको हिमालको छातीदेखि उँभो देखिने टाकुराहरूमा गुलाफी किरण साह्रै रमाइलो तर उदास लाग्दो गरी खेलिरहेको थियो।
हेर्दा हेर्दै पातलो अन्धकार छाउँदै आयो। दिउँसोको भीड घटिसकेको थियो। पसलेहरू आफ्ना आफ्ना पसल थुन्दै थिए। हाट भर्न आउने मानिसहरू आफ्ना आफ्ना घर फर्किसकेका थिए। कोलाहल थोरै हुँदै गइरहेथ्यो। बिजुली चारैतिर बलिसकेको थियो। बिस्तारै चिसो हावा पनि बगिरहेको थियो।
लंगड़ाले टाउको उठाएर चारैतिर हेर्यो। उसको कण्ठ सुकिसकेको थियो। भोकले उ कमजोर भइसकेको थियो। घस्रँदै हिंड्ने शक्ति पनि अब उसमा थिएन। उसलाई आफ्नै कुकुरको मात्र सम्झना भइरहेथ्यो। उ बिस्तार बिस्तार घस्रँदै तल चोकको सामुन्ने आयो। उसले चारैतिर हेर्यो। नजीकैको पानको पसल अघिल्तिर एउटा खैरे रङ्गको कुकुर गल्लीबाट फुत्त आयो र ओह्रालै गयो लंगड़ा झस्क्यो। उ एक छिनसम्म एकोहोरो त्यतापट्टि नै हेरिरह्यो तर कुकुरलाई भने उसले देखेन। एउटा युवक मुखमा चुरोट च्यापेर त्यहाँ फेरि पान खान आयो। एउटी तरुणी ठिटी पनि त्यहीं पान किन्न आई। लंगड़ा हेरिरहेको थियो। युवक र ठिटी दुवै हाँसिरहेका थिए, पानको पसले पनि आफ्नो लामो दाह्री मुसार्दै उनीहरूसित मुस्कुराइरहेको थियो। लंगड़ा एक छिनसम्म त्यो हेरिरह्यो र फेरि ओह्रालै घस्रँदै गयो।
लंगड़ा तल मासु बेच्ने पसलको सामुन्ने आएर बस्यो। उसको अघिल्तिर मोटर स्टेन्ड थियो। ड्राइवरहरू कोही ओभरकोट लाएर गाडीभित्र कुरिरहेका थिए कोही सिनेमाको गीत गाउँदै यता उता पेसेन्जर खोजिरहेका थिए। एक जना बूढो ड्राइवर माथिबाट लरखरिंदै आयो, त्यो मातेर टन्न थियो। आएर लंगड़ाको छेउमा उभियो। त्यसले लंगड़ालाई देख्यो र एकछिन हेरिरह्यो। लटपटिएको बोलीमा त्यसले केही कुरा गुनगुनायो। फेरि त्यसले पाकेट छामेर पैसा निकाल्यो र लंगड़ाको अघिल्तिर फ्याँकिदियो। एउटा दुअन्नी लंगड़ाकै छेउमा खस्यो, अर्को एकन्नी अलि परतिर झर्यो र अर्को चारन्नी जस्तो थियो लड्दै नालीमा खस्यो। त्यो बूढा ड्राइवर लंगड़ालाई हेरेर हाँस्यो र फेरि नबुझिने गरी गुनगुनाउँदै तलतिर गयो।
अर्को एक जना पुडको मान्छे परबाट आइरहेको थियो त्यो पनि रक्सीले मातेको थियो। ओभरकोटका दुवै पाकेटमा त्यसले हात घुसारेको थियो। सड़क हिंड्ने एक दुइ जना मानिसलाई धक्का दिंदै त्यो बेसुरमा हिंडिरहेको थियो। त्यो लरखरिंदै लंगड़ाको नजीकै आउन लागेको थियो। बिजुलीको प्रकाशमा लंगड़ाले राम्रै देख्यो -- त्यो मान्छे त दिउँसो टाउनहलमा एउटी आइमाईसित सिनेमा हेर्न जाने मान्छे नै पो रहेछ लंगड़ा डराएर नालीको भित्तामा अडेस लाग्यो। त्यो मान्छे मास्तिर गयो।
अन्धकार छाइसकेको थियो। अहिले हावा चलिरहेको थियो। लंगड़ालाई कहाँ जाउँ, कहाँ जाउँ भइरहेथ्यो। उ घस्रँदै चोकको ठूलो बिजुली खम्बामनि आएर बस्यो। चोकका पसलेहरूले आफ्नाआफ्ना पसल थुन्दै थिए। बिजुली चारैतिर बलिरहेका थिए। परबाट एउटा अग्लो मानिस आयो, -- त्यो मानिस सरासर आएर लंगड़ाको पछिल्तिर ठीङ्ग उभियो। त्यसले पाकेटबाट चुरोट झिक्यो र सल्कायो -- तल भूइँबाट लङ्गड़ाले

पछिल्तिर फर्केर मास्तिर त्यो अग्लो मानिसको मुख हेर्न खोजिरहेथ्यो -- दियासलाईको उज्यालोमा उसले एउटा परिचित अनुहार देख्यो, त्यो त पुलिको एउटा अफिसर पो रहेछ। त्यो मुखबाट बुंङ बुंङ धुँवा फालिरहेथ्यो। पुलिसको अफिसरलाई देख्नासाथ लंगड़ाको हृदय ढुकढुक गर्न थाल्यो। त्यहाँबाट घस्रँदैघस्रँदै उ परतिर गयो। अब चिसो हावा बगिरहेथ्यो -- पानी पनि पर्लापर्ला जस्तो भइसकेको थियो।
हेर्दा हेर्दै आकाशबाट पानीका छिंटाहरू खस्न थाले। आकाश मेघले ढाकेर केही नदेखिने जस्तो भइसकेको थियो। लंगड़ा घस्रँदै तलतिर आयो। एउटा पसले आफ्नो पसल थुन्न लागेको थियो। लंगड़ा त्यहीं गएर ओत लाग्न खोज्यो। तर पसलेले भित्रबाट लंगड़ालाई देखिहाल्यो पसलेले लंगड़ालाई त्यहाँ बस्न नदिंदा उ एक छिनसम्म यता र उता गरिरह्यो।
हावा झन् बेगले चलिरहेको थियो। पानीले सड़क भिज्न लागेको थियो। लंगड़ालाई कसो गरूँ भइरहेको थियो। उ घस्रँदै आएर बजारको मन्दिरको छेउमा एउटा सांगुरो छिंडी छ त्यहाँ गएर पानीदेखि बाँच्न ओत लाग्यो। उसको जिउ कामिरहेको थियो। मुटु अज्ञात भयले ढुकढुक गरिरहेथ्यो। उसको शरीरको बल हराइसकेको थियो। उ स्वाँ स्वाँ गरेर नाकबाट निःश्वास लिइरहेको थियो।
हुरी बडो बेगले चल्न थाल्यो। ढिलो पसल थुन्ने एक दुइ पसलेहरूको पसल पनि अब त थुनिइसकेका थिए। चोक र वरपर प्रायः सुनसान भइसकेको थियो कहिले हुरीको बेग आउँथ्यो -- कहिले पानीको बाछिटा हुरीले उडाएर गोलीका पर्राहरू झैं ल्याउँथ्यो।
लंगड़ा चुपचाप भित्तामा अडेस लागेर बसिरहेको थियो। प्रकृतिका क्रूर ताण्डव नृत्यले उसलाई विस्मित बनाइरहेको थियो। बौलाहा हुरी भने कहिले घरहरूतिर ठोकिएर कहिले बिजुलीको खाँबातिर ठोकिएर हुहु गर्दै एउटा गम्भीर स्वरले बगिरहेथ्यो। कहिले बिजुलीको तार र टेलिफोनका तारहरूमा बतास ठोकिएर सीं ৷৷. सीं ৷৷. गर्ने एक किसिमको, कस्तो कस्तो मनै रुवाउने उदासीन तर धीमा आवाज आउँथ्यो -- रातको निस्तब्धतामा केवल हुरीको वेगका साथ यस्तो उदासीन आवाज गरी प्रकृतिले पनि संसारको एउटा हताभागी मानवको निम्ति गम्भीर सहानुभूति प्रकट गरिरहेको थियो।
यसो हुँदा हुँदै पानी वेगले पर्न थाल्यो। लंगड़ा बसेको ठाउँ पहिले केही ओबानो थियो तर आकाशको पानीले मन्दिरको भित्ताबाट पानी धारा भएर बग्न थाल्यो। लंगड़ा अब एक छिन त्यहाँ बस्न नसक्ने भयो।
लंगड़ा भिज्दै त्यहाँबाट मास्तिर आयो। पानीले उ भिजिरहेको थियो। उ पछिल्तिरको बजारको डाकघरमा ओत लाग्ने विचार लिएर सिंडीमा हात खुट्टाले टेकेर उक्लन थाल्यो र थरथर काम्दै एउटा कुनामा बस्यो ৷৷. ।
त्यहाँबाट सड़क र चोक वर पर शून्य देखिन्थ्यो। आकाशबाट खसेको मुसलधारे पानीले सड़क र चोकको फाँट पखालिरहेथ्यो। बिजुलीको प्रकाश पनि मधुरो देखिन्थ्यो ठाउँ ठाउँमा बिजुलीको छाया सड़कमा परेको देखिन्थ्यो। आँधीले समुद्रका लहरहरूलाई उडाइरहे जस्तै हुरीको उत्ताल वेगले पानीका छिंटाहरू पृथ्वीको तहमा लहरका लहर उडाइरहेको थियो। आकाशबाट यसरी मुसलधारे वृष्टि भइरहेथ्यो मानो धुरीबाट कसैले पानी खन्याइरहेको छ। रूख, पात, घर, पसल, सड़क, पार्क सबै पानीले रूझाउँदै थियो। बिजुली वेला वेलामा चम्कँदा अघिल्तिरको अग्लो बिजुलीको खाँबा, वरपरका पसल घर र विल्डिङ्गहरूको कालो छाया मात्र देखिन्थे। यो महा वृष्टिले उनीहरूलाई छोपिसकेको थियो। पृथ्वी अब एकै छिनमा जलमा भासिएला भने जस्तो गरी यसरी घनघोर वर्षा भइरहेथ्यो।
सड़कमा एक जना मानिस छाता ओढेर गइरहेथ्यो। सड़क जनशून्य भइसकेको थियो। त्यो मानिसको

लमतन्ने धमिलो छायामात्र देखिन्थ्यो। त्यो मानिसलाई देख्ता लंगड़ालाई आफ्नो कुकुर त्यसका पछि पछि गइरहेको जस्तो लाग्यो। राम्ररी हेर्दा त्यसको छाया रहेछ। पर पुगेपछि त्यो मान्छे पानीमा नदेखिने भयो।
लंगड़ा मुसा भिजे जस्तो भइसकेको थियो। थुरथुर काम्दै प्रकृतिको त्यो क्रूर नित्य हेरिरहेको थियो। आकाशमा बिजुली चम्कन्थ्यो, मेघको भीम गर्जन हुन्थ्यो। लंगड़ाको आँखा तिरीमिरी हुन्थ्यो अनि फेरि अँध्यारो हुन्थ्यो। उसको जिउको लुगा भिजिसकेको थियो। यसरी धेरै बेर उ त्यहाँ बसिरह्यो। आधा रात भइसकेको थियो। अब पानी थामिएला जस्तो भयो। जाड़ाले लंगड़ाको मुटु उत्तिकै कामिरहेको थियो।
त्यहाँबाट सरेर अब कसैको दलानमा आश्रय लिने उसले विचार गर्यो। विस्तार बिस्तार घस्रँदै डाकघरको चिप्लो सिंडीबाट ओह्रालो झर्यो र बाँयापट्टि घुमेर नजीकको पसलनिर आयो। पानीले उ भिजिरहेकै थियो। लंगड़ा गल्लीतिर पस्यो। एउटा लामो काठको सिंडी उसले देख्यो। उसले यता र उता हेर्यो र बिस्तार बिस्तार सिंडी छाम्दै उक्लन थाल्यो। माथि आइपुगेपछि उसले काठको रेलिंग समात्यो र एकछिन थकाइ मार्यो। उसको दम बढिरहेथ्यो। हावा भने उत्तिकै चलिरहेथ्यो। उसलाई साह्रै जाडो लाग्न थाल्यो। झन् त्यो काठको सिंढीमा हावा ज्यादै आउने हुनाले उसलाई त्यहाँ बसिनसक्नु भयो। उसका हात खुट्टा गंग्रिसकेका थिए। भिजेको आङको लुगामा हावाले फुक्दा जाडाले उसलाई साह्रै असहनीय बनाइरहेथ्यो। उसलाई कता जाउँ कता जाउँ भइरह्यो।
त्यहाँबाट परतिर कसैको दलानमा गएर रात बिताउने विचारले अन्धकारमा घस्रँदै उ भित्ता छाम्न लाग्यो। एक दुइ ढोका भेट्टायो। घरभित्रका मानिस निद्राबाट ब्यूँझलान् भन्ने डरले चाल मारेर उ छामछाम छुमछुम गरिरहेथ्यो। परतिर काठको ठूलो रित्तो बाकस जस्तो उसले भेट्टायो -- त्यो बाकसको आड लिएर हावादेखि बाँच्ने विचारले बाकसमा अढेस लाग्यो। लामो निःश्वास लियो र आफ्नो पिठ्यूँको पोको झिक्यो। पानीले भिजेर त्यो पनि अहिले गह्रुं भइसकेको थियो। कुनापट्टि सरेर उसले बाकसको छेउमा भएको मट्टिको तेलको टिनमा आफ्नो पोको राख्न खोज्यो -- दुर्भाग्यवश त्यो टिन पल्टिएर तल खस्यो रातको निस्तब्ध वातावरणमा एउटा ठूलो आवाज भयो ৷৷. अनि फेरि चकमन्न भयो
लंगड़ा पनि तस्र्यो -- उसको होश नै हरायो।
घरभित्रको मानिसको निद्रा भंग भयो -- त्यो आवाज सुनेर एक जना अग्लो दाह्री भएको मानिस हातमा लामो लौरो लिएर आयो। कोइला चोर्न आएको मानिस भन्ने सम्झेर त्यसले चारैतिर हेर्यो -- तर लंगड़ा भने अन्धकारमा त्यही मानिसको गोडानिर डरले एक डल्लो परेर बसिरह्यो। त्यो मानिसलाई देखेर झन् डरले उसको मुटु ढुक ढुक गर्न लाग्यो। कसो कसो गर्दा त्यस मानिसको दृष्टि लंगड़ामाथि पर्न गयो -- त्यसले हातको लौरो उचालेर के लंगड़ामाथि प्रहार गर्न आँटेको मात्र थियो तल अन्धकारबाट एउटा करुण उद्गार आयो -- हजुर ৷৷. म त एउटा माग्ने लंगड़ा पो हूँ ৷৷.
त्यो मानिसले मच्चाएको लौरो थामियो। त्यसले लंगड़ालाई हेर्न खोज्यो। पहिले त अँध्यारोमा कालो लुगाको थुप्रो जस्तो देख्ता मान्छे नै हो भनेर ठिम्याउन सकेन। लंगड़ा अलिकति चलमल गरेको थाहा पाएपछि त्यो मानिसले हातको लौरोले लङ्गड़ालाई घोच्ला जस्तै गरेर केही बेरसम्म गाली वर्षायो। त्यसले आफ्नो बलियो पाखुराले लङ्गलड़ाली हातबाट तानेर घसार्दै वर ल्यायो र सिंडी ओह्रालो मुन्टाइदियो।
रातको निस्तब्ध अन्धकारमा वायुको वेगसित एउटा हृदय विदारक चित्कार सुनियो अनि फेरि केही सुनिएन। चारैतिर चकमन्न भयो।
लङ्गड़ा सिंडीमा लङ्दै तल खस्यो र बेहोश भएर लडिरह्यो।
लङ्गड़ाको अतिकति होश आएपछि उसले आफूलाई हिलोमा लडिरहेको पायो। चारैतिर निस्तब्ध थियो। उसले हिलोमा गाडिएको आफ्नो टाउको उठाउने बल त गर्यो तर सकेन। जाड़ाले उसका हात खुट्टा सबै हिउं भइसकेका रहेछन्। हिलोमा सुतीसुती उसले पृथ्वीदेखि माथि स्वर्गमा आँखा उठाएर हेर्योमेघयुक्त आकाशमा बियाउँदो रातका ताराहरू साह्रै रमाइलो लाग्दो गरी चम्किरहेका रहेछन् हिजो रातीको डरलाग्दो आँधी र पानी पनि थामिएर अहिले चारैतिर प्रकृति मौन र स्थिर भइसकेको रहेछ। चारैतिर भर्खरै प्रातकालीन वातावरण आएर एक प्रकारको शान्ति विराजमान भइसकेको रहेछ।
निकै बेर लङ्गड़ा त्यहीं लडिरह्यो। उसका चिसा हात खुट्टा निर्जीव जस्ता भइसकेका थिए। यसरी आफू भूइँमा लड़िरहेको कारण उसले सम्झनै सकेन। सम्झदा सम्झदा हिजो रातीको दुखद घटनाको बल्ल उसलाई स्मरण भयो। उसलाई हिजोको एक एक कुरा सम्झना भयो। त्यो सम्झदा उसलाई साह्रै नरमाइलो लाग्यो मानिसप्रति उसको हृदयमा असह्य घृणा भइरहेको थियो। लंगड़ा अब साह्रै कष्टले उठ्यो। उसले आफ्नो अनुहार छाम्यो, उसका निधार र कन्पटमा चोट लागेको रहेछ। उसको निधारदेखि उँधो च्युँडासम्म रगत बगेको थियो। उसले आफ्नै कोटको बाहुलाले रगत पुछ्यो र घस्रने बल गर्यो।
केही बेरपछि लङ्गड़ा बिस्तार बिस्तार घस्रँदै सड़कतिर आयो।