साता दिनपछि -- एकछिन त्यो कुकुर फेरि बजारको एउटा गल्लीमा डुलिरहेको देखियो। मध्याह्नसम्म उद्देश्यहीन भएर त्यो एउटा पानको पसल अघिल्तिर यता र उता गरिरहेथ्यो। त्यो दिन पनि दिनभरि घामै लागेन। दिन अँध्यारै भइरह्यो। मेघले जम्मै आकाश छोपेर दिन साह्रै नरमाइलो भएको थियो। मध्याह्नपछि त मेघ पनि गर्जन थाल्यो। पानी पर्ने छाँट देखियो। हावा चल्न थाल्यो। पानी छिट्याउन लागेको देखेर पसलेहरू आत्तिए। हेर्दा हेर्दै केही बेरपछि राम्रै पानी पर्न थाल्यो। मुसलधारे पानीमा भिज्दै कुकुर यता उता गरिरहेथ्यो। मानिसहरू यत्रतत्र पसलमा ओत लागेका थिए। तर गाडीहरू भने सड़कमा एकोहोरो हिंडिरहेका थिए। त्यो कुकुर पनि एउटा पसलको भित्तामा ओत लाग्न गयो तर पानीले त्यहाँ भिज्न थाल्यो। आखिर त्यो कुकुर के गरूँ के गरूँ जस्तो भएर एउटा अर्को पसलमा, मानिसकै छेउमा गएर ओत लाग्न खोज्यो। कुकुरलाई देखेर एउटा बुट लाउने मानिसले लात्ती उचालेर हान्न खोजेको थियो -- कुकुर भागेर पर पुग्यो पर पुगेर कुकुरले पछिल्तिर फर्केर त्यो मानिसको अनुहारमा हेर्यो -- कुकुरको कातर हेराइमा उत्तिकै घृणा र डर थियो। तर त्यो मानिस केही जस्तो नमानी मुखमा चुरोट च्यापेर बुंगबुंग एकोहोरो धुँवा फालिरहेको थियो ৷৷. । अर्को दिन फेरि -- रातभरि परेको पानी थामिसकेको थियो। प्रातःकालै त्यो कुकुर फेरि गड्डीखानाको ओह्रालो गल्लीमा, लंगड़ा सुत्ने झुप्रोतिर लुखुरलुखुर गइरहेको थियो। झुप्रो शून्य देखेर कुकुरले यता उता भूइँ सुँघ्यो। भित्र लंगड़ा सुत्ने गरेको थियो दुइवटा फल्याक थिए त्यहीं गएर त्यो पनि गुँडुँलिएर सुत्न खोज्यो। कुकुर कामिरहेको थियो। त्यहाँ त्यो धेरै बेर सुत्न सकेन। कुकुर उठ्यो। त्यसले यता र उता चारैतिर हेर्यो। एउटा कुनामा लंगड़ाको फाटेर मकिसकेको पुरानो कोट लत्रेको रहेछ। वरिपरि घुमेर कुकुरले त्यस लुगालाई पल्टाएर सुँघ्यो। कुकुर एक्लै थियो। त्यो फेरि बाहिर निस्क्यो -- फेरि भित्र पस्यो। यसरी धेरै पल्ट त्यो मूक पशु आफ्नो आत्मीयको खोजमा झुप्रोभित्र र बाहिर गरिरह्यो। तर झुप्रो शून्य र निर्जन थियो। त्यसैले त्यहाँ उच्चाट लाग्ने उदासीनता छाएको थियो। ज्यादै असजिलो मानेर त्यो कुकुर फेरि सड़कमा निस्क्यो। वरपर घर घरमा, छानु छानुमा बिहानको घाम परिसकेको थियो। कुकुर केही चीज धुइँ धुइँति खोज्न लागे जस्तो गरेर गल्लीगल्ली चाहारिरहेको थियो। दुइ दिनपछि फेरि -- बिहानको घाम परेको एउटा भित्तानिर त्यो कुकुर लग्लग् काम्दै उभिरहेको थियो। थोरै बेरपछि फेरि जितेन झोडाकोमाथि हावा घरमा त्यो कुकुर गइरहेको थियो। फेरि फर्केर आयो र हाइस्कूल जाने बाटोतिर रंगालिरह्यो। त्यसले कसैलाई खोजिरहेको जस्तो देखिन्थ्यो। त्यसको जीउभरि लुतै लुतो लागेर त्यो कामि रहेको थियो। फेरि दश महीनापछि -- हाइस्कूलदेखि धेरै तल मुर्दा पोल्ने ठाउँमा एक दिन मुर्दाहट्टी रूँगने मान्छेले एउटा कुकुर र एउटा मान्छेको हाड एकै ठाउँमा गाँसिएको पायो। वर्षाको पानी र बालुवाले केही छोपेको, एउटा मान्छे र अर्का पशुको अस्थिपञ्जर त्यसरी जोरिएर त्यसले यो पृथ्वीको तहभन्दा पनि माथि, पशु र मान्छेको आत्मीयताको परिचय दिइरहेथ्यो ৷৷. ।