शरद् लागेपछि फेरि दशैं आयो। अनि फेरि वनमा झ्याउँकीरीहरू कराइरहे। दशैं गएपछि फरि तिहार आयो। अनि लक्ष्मीपूजाको दिन सबैले घर सिंगारे। सानीले लामोलामो सयपत्री फूलको माला उनेर ढोकामा, झ्यालमा गाग्रोमा, अम्खोरामा लाइदिई। दिनभरि सयपत्रीको माला गाँस्दै दिन बिताई। आधा दिनसम्म हरि पनि आफ्नै कोठामा अल्याङटल्याङगरिरह्यो। कहिले पुस्तक झिकेर पढ्ने चेष्टा गर्थ्यो, तर अन्तरको ठूलो मानस तरंग उर्लेर आई ध्यानको तहसमेत छोपिदिन्थ्यो, कहिले कविता लेख्ने जोश लिएर बस्थ्यो, तर भाव र कल्पनाका लहरमा बग्दैबग्दै विस्मृतिको बादलभित्र आफै विलीन हुँदै जान्थ्यो अनि छन्द भंग हुन्थ्यो अनि अर्थहीन चेष्टा लिएर फेरि भावको सागरमा डुब्न खोज्थ्यो -- भावले छन्दलाई अनि छन्दले भावनालाई लखेटालखेट गर्दागर्दै कविताको रस रस हुँदैनथ्यो अनि छन्द छन्द हुँदैनथ्यो हरिलाई दिक्क लाग्यो। अनि बेलुका हुँदै गएपछि कोठामा एकलै बसेर भाइलेन बजाइरह्यो। भाइलेनबाट निस्केको एकएक सुर कम्पित भएर विस्मृतिको वायुमण्डलसित हरिको आत्मकन्दराभित्र घुमिरह्यो ৷৷. साँझ बढ्दै गएपछि कोठामा अलि ज्यादै झिसमिसे अँध्यारो फैलिंदै गयो अनि हरि उठेर झ्यालनेर गयो। बाहिर कालो अन्धकार छाइसकेको रहेछ अनि शून्य आँखाले तिमिर अन्धकारमा हेर्दा त्यहाँ अतीतका धेरै रमाइला स्मृतिहरू जुनेली रातको बादल भएर उड़िरहे। एकछिन उज्यालो भयो अनि फेरि अन्धकार, अनि फेरि उज्यालो। यसरी कहिले उज्यालो हुँदै अनि कहिले अँध्यारो हुँदै धेरै बेरसम्म जिन्दगीको छाया घुमिरह्यो। सानी हरिको कोठानेर आएर उभिई। ओहो अहिलेसम्म पनि बत्ती नबालेर कोठा अँध्यारै रहेछ। तर त्यो कोठाभित्र हरि पनि थियो -- ऊ मौन भएर झ्यालबाहिर हेरिरहेको थियो। अनि बाहिरको क्षीण उज्यालोको अघिल्तिर उसको कपाल कालो ठूलो देखिन्थ्यो अनि उसका केश छरपुष्टिएर दाहिनेपट्टिको कानसमेत छोपेजस्तो देखिन्थ्यो। अनि त्यो हेरेर सानी अलिकति डराई। त्यो नीरव शान्ति एक्कासि भङ्ग गर्न नसकेर सानीले लामो चिसो सास तानेर फेरि बिस्तारै निश्वास छोड़ी। अनि एकएक पाइलो गर्दै घसार्दै हरिको पछिल्तिर पुगेर उभिई, अनि हरिको कुममाथिबाट बाहिर हेर्दा औँसीको रात देखी। आकाश तारैताराले ढाकेको रहेछ। औंसोको रात जत्तिकै कालो भए पनि ताराहरू दोबरतेबर सेतो भएर चम्किरहेका अनि त्यो हेर्दा सानीलाई कस्तोकस्तो लाग्यो -- त्यो आकाशभरिका ताराहरू हाँसिरहेका देख्ता आफूलाई रुन मन लाग्यो अनि त्यो चम्किरहेको एक तारा आँसु भएर पृथ्वीमा खसे पनि हुने थियो जत्तिकै लागि रह्यो। त्यो हेर्दा सानीलाई थकाइ लागेजस्तो पनि भयो, अनि आफ्ना दुवै गोड़ा गलेजस्तो लाग्यो, आफ्नो अघिल्तिर उभिरहेको परिचित पुरुषको मूर्तिवत् स्थूल शरीरमाथि आफू ढेस्सिएर, त्यसलाई अँगालेर आफ्नो शरीरको भार त्यहाँ अड़ाएर लामो हिंडाइको थकाइ मार्ने इच्छा भयो अनि कुमको छेउमा हात पुर्याइसकेको पनि थियो हातको बाइँ सुर्किएर झर्दा बजिहाल्यो। त्यसैले कोठाको नीरव शान्ति खलबलियो। अनि सानीको सपना टुट्यो। हरिले फर्केर हेर्दा सानी आफ्नो पछिल्तिर उभिरहेकी रहिछ। सानीको अनुहार अन्धकारमा देख्न नसके पनि हरि असमञ्जसमा परेर एकछिन के भनूँ के भनूँ भइरह्यो। तर अँध्यारोमा सानीको सानो मधुर स्वर आयो, अँध्यारोमा के गरिरहनु भएको हरि दाज्यू? अनि त्यसले जवाफ नपर्खी फेरि बढ़ीले भान्साकोठामा बोलाउनुभएको छ भनेर निस्किहाली। हरि एकछिनसम्म बाहिर आकाशतिर हेर्दै उभिरह्यो अनि भाइलेन ओछ्यानमा फालेर भान्सा कोठामा पुग्यो। भान्साकोठा बत्तीले झिलिमिली पारेको रहेछ। सुबेदारनीले फल, फूल, दियो, बत्ती, भाँड़ाकुँड़ा, सुनचाँदी राखेर लक्ष्मीको पूजा गर्न लागेकी रहिछन्। बाहिर दलानमा पनि धेरै दियो र मैनबत्ती बालेर उज्यालो पारेको रहेछ। हरि धेरै बेरसम्म आमासित भान्साकोठामा बसिरह्यो। भरे उठेर हरि आफ्नो कोठामा पुगेको ता उहाँ पनि कोठा झलमल्ल उज्यालो भइसकेको रहेछ -- धेरै पालाहरूमा दियो बलिरहेका रहेछन्। अनि मेच, दराज, ओछ्यान, पुस्तक र कलम मसिसमैत दियोको टकमा सबै सफा, सुग्घर र उज्यालो देखिए। कसोकसो गर्दा हरिको आँखा आफ्नो फोटोमा पुग्यो -- त्यहाँ पनि छानीछानी पहेंलैपहेंलो सयपत्रीको फूल उनेर माला लाइदिएको रहेछ। कोठामा अहिलेसम्म सानीले के गर्दै थिई हरिले बल्ल बुझ्यो। अनि हरिको अन्तःस्थलभित्र सयपत्री फूलको माला गोलो भएर घुमिरह्यो अनि त्यहाँ धेरै छायाँहरू र बड़ाबड़ा मन्दिरका स्तूप र देवालयका भित्ताहरू देखिए अनि सब फेरि हराए। पाँच वर्ष अघिको लक्ष्मीपूजा कस्तो रमाइलो थियो। तर आजको लक्ष्मीपूजा भने यसरी बित्यो। विगत जीवनको त्यही स्मृतिमा आज दुवैको हृदय डुबे।