MAAITGHAR


सात दिनपछि भान्साघरमा राति सुबेदारनीले छोरोलाई भनिरहेकी थिइन्, ৷৷. पोइका घर जान्नँ भन्छे, जान्नँ भनेपछि कसरी हामीले गलहत्याएर पठाउनु, बाबै? चित्त दुख्छs: अभागिनीको पुपु रोमा दुःखै भोग्नु भनेर लेखेको रहेछ ৷৷.
हरिले भन्यो, पोइका घर नगएर कहाँ जान्छे त? बिहा भएकी स्वास्नीमान्छेलाई कपालमा सिन्दूर हालेर माइत घरमा बसिरहन खुल्दैन। खुल्दैन के, दुनियाँले पनि दश किसिमका नराम्रो कुरा गर्छ, मुखमा जे आयो मनपरि भन्ने दुनियाँको मुखमा बुजो हाल्न सकिन्छ?
सुबेदारनीले भनिन् -- त्यसो भए भोलि नै पठाइदिऊँ त?
अनि आमाले त्यसो भन्दा हरिको अन्तरमा फेरि च्वास्स घोचे जस्तो लाग्यो। अनुहारको रङ्ग फिका हुँदै गयो अनि कातर कण्ठले आमातिर पुलुक्क हेरेर भन्यो -- भोलि नै पठाइदिनुपर्छ भनेको ता होइन आमा ৷৷.।
सुबेदारनीले छोरोको अनुहारमा एकटक लाएर भित्रको छायाँसमेत देखिने गरी एकछिनसम्म हेरिरहिन् अनि फेरि भनिन् -- भोलि नभए पोइका घर जाओस् है त?
हरिको हृदयले आमाको कुरा स्वीकार नगरे तापनि मुखले लौ हुन्छ भन्न खोजेको थियो, तर त्यो शब्द पनि कण्ठसम्म आएर अड्क्यो अनि आँखा टल्किंदै गए, अनि परेला पनि भिज्दै गयो, अनि आँखाभरि जमिसकेको आँसु आमाको नजरदेखि लुकाउन धौधौ पर्यो। हरिले आमातिर पनि नहेरी निरुद्देश्य भावले घरका चारै कुना हेर्दै गंभीर कण्ठले भन्यो -- सानूलाई पोइका घर पठाएर पनि त्यहाँ त्यसलाई सुख छैन ৷৷. बिचरी आश्रयहीना भएर त्यसले यहाँ आश्रय लिएकी छ ৷৷.
त्यति भनेर हरि बाहिर जान लागेको थियो, आमाको कण्ठ सुनेर त्यो उभियो ৷৷. कठै, सानू अभागिनी रहिछ। तर पोइ छँदाछँदै हामीले कसरी त्यसलाई यो घरमा आश्रय दिएर राख्नु त बाबै? हो त, दुनियाँले राम्रो भन्दैन -- स्वास्नीमानिस भनेको त अबगालको गुँड़ हो। त्यसलाई संझाएर फकाएर पोइका घर नपठाई हुन्न ৷৷.।
सानी भान्साकोठामा पस्नै आँटेकी थिई, सुबेदारनीका कुरा कानमा परिहाल्यो, अनि एकएक कुरा काँढा भएर कलेजामा गाड़ियो। भान्साकोठामा पसूँ भन्दाभन्दै गोड़ा लरबरियो -- रिङटा लाग्यो -- लड्लालड्ला जस्तो भएर भित्तामा अडेस लागेर लामो सास तानी, अनि आङ, बाहु, कपाल भित्तामा टाँसिएर उभिरही, अनि आफ्नी आमालाई संझेर बर्र आँसु खसाली। अनि आकाशतिर ताकेर बरबराई, आमा अहिले यो भूइँ फाटेर ठूलो चिरा हुन सक्ने भए त म पनि यही पृथ्वीभित्र पसेर विलीन हुने थिएँ -- म पनि तिम्रै काखमा फेरि आश्रय लिने थिएँ ৷৷. ।
अनि सानीका आँखाबाट फेरि बर्रबर्र आँसुका थोपाहरू शीत जस्तै झरेर मन्तिर छाती जम्मै भिज्यो।
भोलिदेखि दिनभरि सूर्यलाई घरिघरि कालो बादल आएर छेलिरह्यो। सूर्यको किरण जत्तिकै उज्यालो र प्रचण्ड तातो भए पनि सानीको भिजेको छाती सुकेन। अन्तरदेखि चुहेर खसेको अश्रुजलले छाती झन् चिरैचिरा हुन खोज्थ्यो।
कहिले घाम, कहिले बादल भइरह्यो अनि रातमा जून पनि देखिएन। बादलमा लुकेको छ कि भनी आँखाले

खोज्दा पाँच दिनपछि साँझमा बल्ल पश्चिममा कालो पहाडमाथि जूल देखियो। तर जूनको अनुहार जून थिएन। पूर्णिमाको दिनमा देखिने ठूलो सुनौला थालको केवल घेरा मात्र देखियो। जूनलाई हेरेर सानीले संझी -- कठै तँ पनि आकाशको सानी रहिछस्, तँलाई पनि संसारले हेलाँ गरेर, पोइले पनि हेलाँ गरेर तेरो यस्तो रूप बनाइदिएछ। ओहो सबै ठाउँमा उही रहेछ -- माथि स्वर्गमा पनि, यहाँ पृथिवीमा पनि। मान्छेलाई चढाउँदा मान्छेले भोग गरेर नखाएको जूठीचाहिं नालामा त्यसै हेलाँ गरेर फालिदिंदो रहेछ -- देवतालाई चढाउँदा देवताले पनि त्यो नखाँदा रहेछन् ৷৷.
अनि दशैं गयो। अनि निहार पनि गयो अनि महीना दिन पनि बित्यो। सानीले पोइका घर फर्कने कुरा बिर्सी। पोइको घरबाट पनि केही समाचार आएन। सुबेदारनीले मनैमन भनिन्, अब माया मारे छ।
एक दिन फेरि सुबेदारनीले छोरासित एकान्तमा सोधिन् -- सानू त सासू त सासू, ससुरा, पोइको घर फर्कन मान्दिन के गर्ने? सौताको मुखै हेर्दिन न -- ससुरा, नन्द कसैको पनि माया लाग्दैन रे अब त यहीं बस्छु
हरि गम्भीर चिन्तामा पर्यो। अन्तरभित्र दया, माया, स्नेह, सहानुभूति एकैचोटि उम्लेर पोखिनपोखिन खोज्यो अनि फेरि शान्त भयो।
सुबेदारनीले फेरि भनिन् -- यसको पोइले माया मारेछ, सासू ससुरालले पनि माया मारेछन् ৷৷.
अनि लामो सुस्केरा हालिन्।
हरिले आमाचाहिंको मुख एकछिन हेरिरह्यो अनि कम्पित निःश्वास छा़ड़ेर भन्यो -- के गर्ने ता आमा?
सुबेदारनीले मनमनै जवाफ खोज्दा पनि नपाएर दिक्क लागेर आयो अनि नबोलेर बसिरहिन्।
हरिले आफ्नो मुटु बलियो पार्यो -- दया, माया र सहानुभूतिलाई कलेजाबाट पन्छाएर त्यहाँ कर्तव्यको कीलो गाड्यो अनि दृढ़ कण्ठले भन्यो -- अँ, जान्नँ भनेर हुन्छ? कपालमा सिन्दूर हालेर पोइ छँदाछँदै पराई घरमा बसिरहन सुहाउँदैन। ৷৷. जसरी हुन्छ संझाएर फकाएर पठाइदिने काम गर्नुपर्छ ৷৷. ।
हरिले जतिकै नाटकीय ढङ्गले यो कुरा भने पनि उसको अन्तरभित्र त सानीको स्नेह प्रेमले छोपेको कलेजा झन्झन् कमलो भइरहेको थियो अनि त्यसैले कलेजामा लामो शूल पस्दै गयो। तर अन्तरभित्र जतिकै तुमुल द्वन्द्व, जतिकै हाहाकार, जतिकै आँधी, जतिकै व्यथा भए पनि बाहिरबाट हरिले उत्तिकै गंभीर, उत्तिकै कठोर र उत्तिकै पत्थर भएर भन्यो -- होइन आमा सानूलाई पोइका घर पठाउनैपर्छ।
सुबेदारनी छक्क परिन् र छोरोको अनुहार हेरिरहिन्। सानीलाई पनि आफू जस्तै नारी ठानेर सुबेदारनीले भनिन् -- के गर्नु त बा जान्नँ भनेपछि के लाग्छ? बिचरी आश्रय नपाएकी अभागिनी -- यो घरलाई माइत घर संझेर बसेकी छ। कठै, नजानेलाई जा भनेर कसरी गलहत्याउनु?
अनि आमाछोरा फेरि नबोलेर धेरै बेर बसिरहे।
अन्त्यमा आमाचाहिंले सोधिन् -- के गर्ने त? पोइका घर फर्कन मानिन भने यहीं बसोस् है त?
हरिले केही जवाफै दिएन। एक छिनपछि धीर शान्त र दृढ़ गतिले ऊ कोठाबाट निस्केर आफू सुत्ने

कोठातिर गयो।
राति अबेर भान्सा भयो।
राति सुत्ने बेलामा हरिले सानीलाई आफ्नो कोठामा बोलाएर संझाउन थाल्यो -- सानू, किन सासूससूरा पोइको घर फर्कने मन गर्दिनौ? पराई घरकी भयौ, त्यो घरको शासन चलाउने जेठी बुहारी तिमी भएपछि पोइको घर छाड्न हुँदैन। स्त्रीको त्यो धर्म होइन। छरछिमेकीले पनि राम्रो भन्दैनन्। अन्धा होस्, लङ्गड़ा होस्, स्त्रीले लोग्नेको सेवा गर्नुपर्छ। उसले जत्तिकै विराम गरे पनि आफैले कहिले नराम्रो नसम्झनू। पोइले सौता हालेछ -- त्यति विराम भएछ -- तर तिमीले आफ्नो सेवा र धर्मले पोइ र सौतालाईसमेत जित्नुपर्छ। उसले त्यति ठूलो विराम गर्यो -- एक दिन उसलाई आफ्नो विरामको लागि घाँटी लाग्नेछ र फेरि तिम्रै शरण पर्न आउँछ ৷৷.
सानी रून लागी।
अनि हरिले पनि धेरै कुरा गरेन।
सानी रुँदैरुँदै हरिको कोठाबाट निस्केर आफू सुत्ने कोठामा गई।
रात चकमन्न थियो, सबै निद्रासित खेलिरहेका थिए। बाहिर जून टहटह लागिरहेको थियो। झ्यालबाट कोठामा आएको जूनको टकतिर हेर्दै लामोलामो हिक्का छोड्दै राल, सिंगान र आँसुसरि भएर सानी ओछ्यानमा पल्टिरहेकी थिई। जीवनका कति स्मृतिहरू, मीठा सपनाहरू धमिलो बादल भएर आउँथे अनि आँखाबाट अश्रुजल रसिएर थोपाथोपा खस्थ्यो। भविष्यको अँध्यारो कल्पनाबाट पनि केवल आँधी र पानी मात्र आइरहन्थ्यो, झन् त्यसैले विभीषिका हुरी भएर अनि आँसु बाछिटा भएर सानीको अन्तरदेखि लिएर बाहिर छातीसमेत भिजाउँथ्यो।
अनि त्यसो हुँदै कोठामा आएको जूनको टक बिस्तारबिस्तार सर्दै झ्यालदेखि निस्कनै आँटेको थियो सानीले उठेर झ्यालबाट बाहिर हेरी। रात झन् चकमन्न, झन् सुनसानs: झन् उराठलाग्दो भइसकेको रहेछ -- तर बाहिरको टहटह लागिरहेको जून देख्ता भने मन कस्तोकस्तो भएर आयो। रून मन पनि लाग्यो, बौलाही जस्ती भएर हाँस्न मन पनि लाग्यो, अनि कता एकलै हिंड़ीरहन मन पनि लाग्यो।
सानी ढोकातिर फर्की अनि हलका हिक्का छोड्दै ढोकाको छिस्किनी खोलेर बाहिर आई।
एक छिनसम्म ता त्यसलाई कता जाऊँ कता जाऊँ जस्तो लागिरह्यो अनि आँगनबीचमा पुगेपछि जून लागेको गुराँसको लमतन्ने छायाँमा दुवै पाउ राखेर केही बेरसम्म घोरिरही। यसरी उभिरहँदा तल भूइ देखि पनि चिसो आएर मुटुसम्म पुगेको सानीले थाहा पाई। मनमा केके कुराहरू आइरहे। आँखा आँसुले रसिन थाल्यो अनि अनेक बल गरेर आँखामा आइसकेको आँसु रोक्ने चेष्टा गरी अनि पृथ्वीतिर हेरेर मनमनै भनी -- हे धरती आमा अब अर्को जन्ममा त म लोग्नेमानिस भएर जन्मूँ -- मलाई आइमाईको जन्म लिएर फेरि आउनु नपरोस् ৷৷.
अनि निसास्सिएजस्तो गरी, अनि आँखा चिम्म गरी परेलामन्तिरबाट आँसुका धेरै थोपाहरू एकैचोटि शीतजस्तो बररर करे। त्यसपछि आँगनबीचबाट पाइलो सार्दै बिस्तारै हिंड्न लागी। मनलाई रोक्तारोक्तै पनि एकचोटि घरको धुरीदेखि तल ढोकासम्म हेर्न मन लाग्यो अनि सानीले हिंड्डाहिंड्दै पछिल्तिर फर्केर घरलाई हेरी। जूनको टक धुरीमा लागेको अनि हरिको झ्यालको गुलाफी पर्दामा पनि लागेको, अनि घरको

बाहिरपट्टि भित्तामा, फूलका गमलाहरूमा, आँगनमा, गुराँसको रूखमा सबैतिर लागेको।
त्यस बेला सानीको मनमा अब अन्तरको देवतालाई सधैंको निम्ति छोड़ेर जाँदैछु लाग्यो र बररर आँसु खसाई।
जूनको छायामा आफू निस्केर जान लाग्दा घरले पनि मलिन मुखले आफूलाई हेरिरहेको जस्तो लाग्यो अनि सानीको मन नराम्रो भयो, एकएक पाइला बढाउँदै आँसूले छोपिएको आँखा लिएर बल्ल मास्तिर सड़कसम्म आइपुगी।
अनि लामो सास तानेर एक छिन उभिरही, अनि बल्ल मन अलिकता हलुका भएजस्तो लाग्यो, पृथ्वीको गह्रौं भार पछिंदै गएजस्तो लाग्यो। त्यसैले दुःख र शान्तिको सुस्केरा हाली सानीले चारैतिर हेरी। गाउँ चकमन्न थियो जुनेली रात अनि हावा पनि नचलेकोले सड़कमाथिका मनिका झारपातसमेत अचल र प्राणहीन जस्ता देखिए। वारिपारि देखिने राजवाड़ीका सानासाना घरहरू पनि जूनको धमिलो प्रकाशमा सेता धब्बा जस्ता मात्र देखिए। अनि डाँडैडाँडा देखिने अग्ला धूपीका रूखहरूका धेरै लहर जस्ता देखिए। तलतिर हेर्दा खोला पनि सुसाइरहेको जस्तो थियो।
सानीको आँखाको आँसु पनि सुक्दै गयो अनि त्यहाँ धेरैबेर नबसेर हिंड्न थाली। आफू हिंड़िरहेको भए पनि गोडाले कता लागिरहेको छ त्यो पनि थाहा भएन। वर डाँडामा आइपुग्दा भने बल्ल भिक्टोरिया फाल्सको अग्लो पुल जुनेली रातमा घुर्मैलो सेतो देखियो। त्यहाँ सानी उभिई।
आँखामा आँसु पनि थिएन, मनमा डर पनि थिएन अनि अब अन्तमा कसैको माया पनि थिएन। आफू रातमा कहिले नहिंड़ेकी -- आज जुनेली रातमा यसरी हिंड़िरहँदा सानीलाई कस्तोकस्तो लागिरहेको थियो।
अनि पुलबीचमा आइपुगेपछि मनमनै संझी, एक दिन आधारातमा यही पुलबाट दुई जना बत्ती हेरेर फर्केका हौं। अनि सानीको मनमा धेरै कल्पनाहरू आए -- त्यो बेला हिंड़ेको पाउका धूलाहरू, हजारौं कणहरू आजसम्म पनि यो पुलमा यत्रतत्र छरिएर खेलिरहेका होलान् -- ती पाउका धूलोहरू एकएकगरी बटुलेर मजेत्रोमा बाँधी आफूसितै स्मृतिको चिह्न संझेर पृथ्वीको गर्भमा लाने इच्छा भइरह्यो अनि पुलको बीचमा उँधोपट्टि फर्केर रेलिङ्ग समाई। यो छ्याङछ्याङै पुलबाट मर्नेहरू कठै मजस्तै भएर मरेको होलान् ৷৷. अनि बौलाहीजस्ती भएर केके गीत गाइरहने इच्छा भयो, केके फतफताइरहने मन भयो। रेलिङ्गलाई दुवै बाहुले अँगालो हाली अनि त्यहाँ धेरै बेर च्यापु अड्याएर मनमनमा केके कुरा सोच्दै उभिरही।
माथि अग्लो पहराका टुप्पाबाट धारा भएर छाङामा खसेको पानीको आवाज एकनाससित आइरहेथ्यो। जून पनि डाँड़ामाथि पश्चिममा अस्ताउनै आँटेको थियो अनि सानीले शून्य आँखाले तलतल बग्दै गइरहेको पुलमनिको पानीमा तलसम्म आँखाले भ्याउञ्जेल हेरिरही। सानीको मनमा झ्वाट्ट एउटा कल्पना आयो अनि एकछिनसम्म ठूलो वेगले मुटु ढुकढुक गरिरह्यो फेरि सुस्केरा हाली। मास्तिर पहराको टुप्पामा पनि हेरी अनि तल पानीमन्तिर पनि हेरी। आकाशमा पनि हेरी -- जूनतिर पनि हेरी। तर जतिजति ढिलाउँदै गयो उतिउति मनको बाँध फुस्किंदै गयो अनि जति फुस्किंदै गयो उति ढीला हुँदै गयो अनि जति बाँध्यो उति फुस्किंदै गयो।
अनि फुस्किंदैफुस्किंदै अन्त्यमा सबै छरपुष्ट भयो। जुन दृढ संकल्प गरेर आएकी थिई त्यो फुटेर चूरचूर भयो।
अनि सानी फर्की।
घर आइपुग्दा उस्तै चकमन्न रहेछ। आफू निस्केर जाँदा ह्वाङ्गै छोड़िराखेको ढोका जस्ताको तस्तै रहेछ।
ढोका बन्द गरेर भित्र सुस्तरी पसी। अनि झ्यालनेर उभिएर बाहिरको नीरवता र शून्यता हेरी। जूनको घुर्मैलो टक सरेर मास्तिर भित्तामा पुगिसकेको रहेछ।
पहिले ता घर फर्केर नजाने विचार गरेकी थिई। के त, संसारमा आफूलाई कतै आश्रय मिलेन। आफू समाजको निम्ति कलङ्किनी, दुनियाँका निम्ति आँखाको कसिंगर, धर्मका निम्ति पनि पापिनी अनि पृथ्वीका निम्ति पनि ठूलो भार भई। अनि आफ्ना निम्ति पनि बाँचिरहन कष्टमय भयो।
अलिअलि देखिने ताराहरू गन्दागन्दै जून अस्तायो। अनि ताराहरू फेरि हाँसे।
जून डुबेपछि पृथ्वीमा झिसमिसे अँध्यारो भयो अनि केही बेरपछि फेरि प्रभातको उज्यालोले पनि चियाउँदै गयो।
बिहानै उठेर सानीले सुबेदारनीलाई भनी -- बढी आज ता म आफ्नो पोइको घर फर्कन्छु है?
सुबेदारनी अलमल्ल परिन्। सानी कोठाबाट निस्केर जान लाग्दा सुबेदारनीले झस्केर, किन आजै जान्छै जान्छेस् त सानू? भनेर सोद्धा नसोद्धा सँघार काटिसकेकी रहिछ
सानी हरिको कोठाभित्र पसी। हरि सिरकभित्र घुस्रिएर अझै सुतिरहेको रहेछ।
झ्याल उघारै थियो। शून्य कोठामा पर्वतबाट बगेर आएको प्रातःकालीन वायु घुमिरहेथ्यो। सानी केही बेर उभिरहो।
हरिको आधा अनुहार सिरकले छोपेको थियो। उसको लामोलामो घुमेको केशराशि छरपुष्टिएर निधारसमेत छोपेको थियो। सानीले केही बेर हरिको कपाल, कान, आँखा हेरिरही अनि निहुरेर सिक्त कण्ठले कानमा भनी -- हरि दाज्यू हरिदाज्यू उठ्नुहन्छ?
हरि सपनासित खेलिरहेकोले सानीको कण्ठस्वरसमेत कानभित्र पस्न सकेन। सानीले सिरक पन्छाएर हरिको जन्मै अनुहार हेरी -- दुधे बालक जस्तो हरिको अनुहार देख्ता सानीको मन फेरि कस्तोकस्तो भयो। अनि हरिको कपाल सुमसुम्याउँदै सानीले फेरि भनी -- हरि दाज्यू, उठ्नोस्न ৷৷. आज त म आफ्नो घर जाँदैछु ৷৷.
हरिको सपना टुट्यो। तर सपनाबाट ब्यूँझे पनि तन्द्राको पर्दा आँखैमा झुण्डिरहेकोले हरिको कानमा कताकता पर्वतका गुफाहरूमा स्वास्नीमान्छे बोले जस्तो लाग्यो। अनि तन्द्रावस्थामा भए पनि त्यो अस्फुट मधुरो स्वर अन्तरभित्र प्रतिध्वनित भइरह्यो। आँखा राम्रै खोलेर हेर्दा झलमल्ल उज्यालो भइसकेको रहेछ।
अनि बल्ल सानीलाई देख्यो। सानी उदास मुद्रा लिएर उभिरहेकी रहिछ।
सानीले फेरि उही स्नेहसुधासिक्त कण्ठले, उही प्रेमले, उही आग्रहले भनी -- उठ्नोस् न हरि दाज्यू बढ़ीलाई भनेकी छु, आज आफ्नो घर फर्कन्छु।
त्यति भनेर एक्कासि हरिको पाउ स्पर्श गरेर सानी कोठाबाट निस्किहाली।
हरिको मुटु धरहराको टुप्पोबाट खर्लाङ्ग तल खसेजस्तो भयो। हिजो राति मनमनै आफूले अर्कै कुरा ठीक गरिसकेको थियो त्यो पनि भताभुङ्गै भयो। मुटुमा ठूलो पीड़ा अनुभव भयो, असह्य दुःखले, मायाले र व्यथाले छटपटाउँदै हरि धेरै बेर त्यहीं बसिरह्यो।
सानी लुगा लाएर आई अनि सुबेदारनीलाई ढोग दिई। सुबेदारनीले पनि आँसु पुछ्दैपुछ्दै सानीको ढोग थापिन्। सानीले हरिलाई पनि ढोगिदिई। हरिले सानीको अनुहार एकचोटि हेर्न खोज्यो, तर दुवै आँखा आँसुले डम्म पुरिसकेकोले सानीको मुहार साफसाफ देखिएन।
सानी हातमा सानो पोको लिएर बाहिर निस्की।
अनि रुँदै, मजेत्रोले आँसु पुछ्दै फेरि कहिल्यै नआउने गरी माइत घरलाई बिदा दिएर आफ्नो बाटो लागी।